site stats
बाह्रखरी :: Baahrakhari
देश
अमेरिका लैजाने प्रलोभनमा इथियोपिया जेलमा ! नेपालीलाई भिसामा कडाइ
फाइल तस्बिर ।

काठमाडौं । मानव तस्करहरूले नेपालीलाई अनेक प्रलोभन देखाई अमेरिका लैजाने बहानामा अफ्रिकी राष्ट्र इथियोपिया पुर्‍याइ अलपत्र पार्ने गरेको पाइएको छ ।

ल्याटिन अमेरिकी राष्ट्र हुँदै अवैध तरिकाले अमेरिका प्रवेश गराइदिने प्रलोभन देखाइ उनीहरूलाई इथियोपिया पुर्‍याइ अलपत्र पार्ने गरिएको हो । अमेरिका प्रवेश गराइदिने बहानामा मानव तस्करहरूले नेपालीसँग मोटो रकम असुल्ने गरेका छन् ।

“मानव तस्करले केही नेपालीलाई इथियोपियामा ल्याई अलपत्र पारेका छन्,” इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले बाह्रखरीसँग भने, “उनीहरूलाई ल्याटिन अमेरिकी राष्ट्र हुँदै अवैध तरिकाले अमेरिका छिराउने बहानामा इथियोपिया ल्याइएको बुझिएको छ ।”

इजिप्टको कायरोस्थित नेपाली दूतावासले इथियोपिया पनि हेर्ने गर्छ  । मानव तस्करले अलपत्र पारेपछि इथियोपियाबाट केही नेपालीले उद्दारका लागि इजिप्टस्थित नेपाली दूतावासमा सम्पर्क गरेका छन् ।

इथियोपियाले नेपालीलाई सजिलै ९० दिनको भिसा दिने गरेको छ । यसैको फाइदा उठाउँदै मानव तस्करले नेपालीलाई भारत र युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई हुँदै नेपालीलाई इथियोपिया पुर्‍याउने गरेको राजदूत लम्सालले बताए ।

“२०–२२ जना नेपालीलाई मानव तस्करले अमेरिका लैजाने प्रलोभनमा पारी इथियोपिया ल्याएर अलपत्र पारेका छन्,” राजदूत लम्सालले भने, “मानव तस्करको प्रलोभनमा परी इथियोपिया आएकामध्ये चारजना त्यहाँको अध्यागमनको घर फिर्ती केन्द्रमा छन् ।” 

भिसा अवधिभन्दा बढी बसेका कारण नेपालीलाई इथियोपियाले घर फिर्ती केन्द्र (डिटेन्सन् सेन्टर) मा राखेका हुन् । केहीले त नक्कली कागजात पेश गरी इथियोपियाको आवासीय कार्ड लिएको भेटिएपछि उनीहरूलाई पनि कारबाही प्रक्रिया अघि बढाइएको छ ।

“इथियोपियाको कानुन कडा छ । अवैध बसेकाले ठूलो रकम जरिवाना तिर्नुपर्छ । जरिवाना नतिरेसम्म छाड्दैनन् । जरिवाना नतिरेसम्म डिटेन्सन् सेन्टरमा राख्छ,” उनले भने । अलपत्र परेका केही नेपाली केन्या र जिबुती हुँदै नेपाल फर्किएको पनि राजदूत लम्सालले जानकारी दिए । जरिवाना तिर्न नसकेको केही नेपाली अझै डिटेन्सन् सेन्टरमा छन् । 

मानव तस्करले नेपालीलाई इथियोपिया हुँदै ल्याटिन अमेरिकी राष्ट्र बोलेभिया पुर्‍याउने गरेको पीडितहरूले दूतावासलाई बताएका छन् । ल्याटिन अमेरिकी राष्ट्र बोलेभियाले मात्र नेपालीलाई अन अराइभल भिसा दिने गर्छ । यसैको फाइदा उठाउँदै मानव तस्करले नेपालीलाई बोलेभिया पुर्‍याउने गरेका छन् ।

बोलियाबाट भने बस, ट्रक, हिँडाएर मेक्सिकोसम्म पुर्‍याउने गरिन्छ । यो जोखिम यात्रा पार गरेरेर मेक्सिको–अमेरिका सीमासम्म पुर्‍याइन्छ र अमेरिका प्रवेश गराउने गरिन्छ । यो यात्रामा कयौंको मृत्यु बाटोमै हुने गर्छ ।

सुरुमा नेपालीलाई भिजिट भिसामा काठमाडौं तथा भारतको विभिन्न विमानस्थलबाट यूएईको दुबई पुर्‍याउने गरिन्छ । दुबईबाट इथियोपिया हुँदै बोलेभिया लग्ने गरिएको छ ।

बोलियाबाट ब्राजिल, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, ग्वाटेमाला, मेक्सिको हुँदै मानव तस्करले अवैध तरिकाले अमेरिका छिराउने गर्छन् । मानव तस्करले कम्तीमा पनि १२ वटा देश हुँदै नेपालीलाई अमेरिका पुर्‍याउने गरेको यसरी अमेरिका पुग्नेहरू सुनाउँछन् ।

यसअघि मानव तस्करहरूले नेपालीलाई दुबईबाट सिधै बोलेभिया पुर्‍याउने गर्थे । पछिल्लो समय यूएईले त्यसरी बोलिभिया जानेहरूमाथि कडाई गरेपछि मानव तस्करले अफ्रिकी राष्ट्र इथियोपिया हुँदै बोलिया पुर्‍याउने गरेका छन् । 

अवैध तरिकाले अमेरिका जान नेपालीहरूले मानव तस्करहरूलाई ८० लाख रुपैयाँभन्दा बढी बुझाउने गरेको पाइएको छ । मानव तस्करले नेपालीहरूलाई अमेरिका लैजाने भन्दै अलपत्र पारेपछि इथियोपियाले नेपालीलाई भिसामा कडाइ गर्न थालेको राजदूत लम्सालले जानकारी दिए । 

भिसामा कडाइ गर्दा इथियोपियास्थित संयुक्त राष्ट्र संघीय कार्यालयमा कार्यरत नेपालीलाई आफ्ना परिवार लैजान अप्ठेरो परेको छ ।


 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्