site stats
बाह्रखरी :: Baahrakhari
देश
ग्वार्को फ्लाईओभरको काम दसैँअघि सकाउन स्थानीयवासीको माग

काठमाडौं । ग्वार्को फ्लाईओभरको काम आउँदो दसैँअघि सकाउन स्थानीयवासीले माग गरेका छन् । वाग्मती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारसहित स्थानीयले निर्माणाधीन फ्लाईओभरको आइतबार निरीक्षण गरेर काम छिटो सम्पन्न गर्न सुझाव दिएका हुन् ।

उनीहरूले फ्लाईओभर निर्माणको काममा ढिलासुस्ती हुँदा स्थानीयलाई समस्या भएको बताए । फ्लाईओभर छिटो नबनाइँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको उनीहरूले सुनाए ।

एकपटकमा एकडेढ घण्टासम्म जाम हुँदा धुवाँधुलोका कारण छाती, फोक्सोसम्बन्धी रोग लाग्नेजस्ता समस्या बढेको स्थानीयको गुनासो छ ।

gwarko-flyover2-1720959856.jpg
उक्त निरीक्षणपछि सञ्चारकमीसँग पूर्वमन्त्री चित्रकारले फ्लाईओभरको निर्माणकार्यमा ढिलासुस्ती भएको भन्दै छिटो काम सकाउन आग्रह गरे । उनले निर्माण व्यवसायी र सरकारलाई पटकपटक खबरदारी गर्दा पनि काममा गति नदेखिएको भन्दै पुनः निरीक्षणमा आएको बताए ।

ललितपुर महानगरपालिका–८ का वडाध्यक्ष बाबुरत्न महर्जनले आधा घण्टासम्म जाम पर्ने अवस्था रहेको सुनाए । बालकुमारीबाट लगनखेल पुग्न एक घण्टाको समय छुट्ट्याउनुपर्ने अवस्था सिर्जना भएको उनले उल्लेख गरे ।

यस्तै, स्थानीयवासी विष्णु बस्नेतले दैनिक लाखौँ सवारीसाधन आवतजावत गर्ने भएकाले यहाँ आधा घण्टासम्म जाम हुने गरेको बताए । समयमा ग्वार्को फ्लाईओभरमा नबनाइँदा स्थानीयको स्वास्थ्यमा समेत समस्या भएको उनको भनाइ थियो ।

gwarko-flyover3-1720959871.jpg
१७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा बनाउन लागिएको फ्लाईओभरको लम्बाइ ४९० मिटर हुनेछ । ग्वार्कोचोकबाट बीएन्डबी अस्पतालतर्फ १३५ मिटरको र्‍याम रहनेछ । ग्वार्कोचोकबाट बालकुमारीतर्फ २८० मिटरको र्‍याम रहनेछ ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्