site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हिमाली जिल्लाको आर्थिक वर्ष बदलौँ : ज्ञानेन्द्र शाही

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले अर्थमन्त्रीले सक्ने भए हिमाली जिल्लाको आर्थिक वर्ष बदल्न अनुरोध गरेका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् । “कार्तिकबाट हिउँ पर्न थाल्छ चैत्रसम्म काम गर्न सक्दैनौँ । दुई महिनामा सबै काम गर्न सकिँदैन । अर्थमन्त्रीज्यू सक्नुहुन्छ भने वर्षलाई आर्थिक वर्ष बनाउन सके हिमाली जिल्लामा काम गर्न सकिन्छ,” उनले भने । 

उनले बजेटले रोजगारी सिर्जना गर्ने कुनै नीति तथा कार्यक्रम नल्याएको उल्लेख गरे । मान्छे विदेशमा बेचेर देश विकास हुन्छ भन्ने नसोच्न भन्दै उनले भने, “१० वर्षमा तपाईंले युद्ध गरेर मरे बराबर मान्छे विदेश गएर मरेका छन् । यो देशमा रोजगारी उत्पादन कही कतै देखिएन ।” 

उनले कर्मचारीले बनाउने बजेटमा आफ्नो धेरै टिकाटिप्पणी नभएको भन्दै नयाँ दलका सांसदहरूले पनि सत्ताले वाहवाही गरेर ल्याएको बजेट समर्थन गर्नु अचम्मको भएको उल्लेख गरे । उनले सार्वजनिक पद धारणा गरेकाहरूले नेपाली पोसाक लगाउने नीति ल्याए ६० देखि ७० अर्ब नेपालमा राख्न सकिने उल्लेख गरे ।
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्