site stats
बाह्रखरी :: Baahrakhari
देश
तलबभत्ता समायोजन गर्न कर्मचारीको युनियनको माग 

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवं पदबमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्ने माग अघि सारेको छ ।  

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै तह, श्रेणी र पदका कर्मचारीहरूलाई देशको आर्थिक अवस्था, सामाजिक परिवेश, बढ्दो महंगीका आधारमा तलब तथा सेवासुविधाको व्यवस्था गरिनुपर्ने माग राखेको हो । 

युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले अर्थमन्त्री वर्षमान पुनलाई भेटेर आफूहरूले माग पेस गरेको जानकारी दिए । अध्यक्ष पोखरेलले यसपटक आफूहरूले श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा पनि ४५ हजार बनाउनुपर्ने माग राखेको जानकारी दिए । सोही आधारमा अन्य कर्मचारीको पनि तलब बढ्नुपर्ने उनले बताए । 

समान पदमा रहेको सुरक्षा निकायमा काम गर्ने कर्मचारीभन्दा निजामती कर्मचारीको मर्यादाक्रम अगाडि रहेको बताउँदै उनले सुरक्षा निकायका कर्मचारीको र निजामती कर्मचारीको तलबमा विभेद रहेको गुनासो गरे । 

निजामती कर्मचारी अस्पतालमा बहालवाला कर्मचारीले शतप्रतिशत छुटमा उपचार गराउन पाउनुपर्ने युनियनको माग छ । आर्मी, प्रहरीको अस्पतालमा सो सुविधा रहेको बताउँदै अध्यक्ष पोखरेलले चेकजाँचदेखि अप्रेसनसम्मका सबै सुविधाहरू निःशुल्क हुनुपर्ने बताए । सरकार निजामती कर्मचारीको ग्रेड वृद्धिको विषयमा पनि खुकुलो हुनुपर्ने अध्यक्ष पोखरेलको माग छ । अध्यक्ष पोखरेलले आफूहरूको माग आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा सम्बोधन हुनुपर्ने बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्