
काठमाडौं । भारतको कश्मीर पुर्याएर बन्धक बनाइएका ३६ नेपालीको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मीर पुगेका उनीहरूलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो ।
नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मीर पुर्याइ बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो । कश्मीर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक समेत नदिइ कुटपिट गरेको डर, धम्की देखाएर काममा लगाएको पीडितहरूको गुनासो छ ।
मंगलबार दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा सबै मजदुरलाई कश्मीरबाट उद्धार गरी दिल्ली लगिएको थियो ।
उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले काम गर्नका लागि भनेर लगिएको तर गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाउने गरेको बताए । उनले खाना पनि राम्रोसँग खान नदिने गरेको बताए ।
झन्डै तीन महिना बन्धक बनाएपछि दिल्लीस्थित नेपाली दूतावास, जम्मूकश्मीर पुली, क्राइम ब्रान्च, सीआरपीएफको सहयोगमा उनीहरूलाई उद्धार गरी दिल्ली पुर्याइएको हो । घटनामा आबद्ध दुईजनालाई पक्राउ गरिएको छ ।