site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानमा बस दुर्घटना : २० जनाको मृत्यु, २१ घाइते

पाकिस्तान । पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । 

प्रहरीका अनुसार शुक्रबार बिहान ५ः३० बजे डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको थियो । रावलपिन्डीबाट गिलगिटतर्फ गइरहेको बसमा  कम्तीमा ३८ जना  यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।  

दुर्घटनापछि दुर्घटनास्थलमा उद्धार टोली पठाइएको छ भने घाइते तथा शवलाई चिलासको अस्पतालमा लगिएको छ । स्वास्थ्य विभागका निर्देशकका अनुसार मृतकमा तीनजना महिला रहेको जियो न्युजले जनाएको छ ।

जियो न्यूजसँग कुरा गर्दै डायमरका उपायुक्त फयाज अहमदले कम्तीमा पाँच जना घाइते यात्रुको अवस्था गम्भीर रहेको र दुईजनालाई गिलगिट सहरमा सारिएको बताए । अहमदले दुर्घटनाका पीडित परिवारसँग नियमित सम्पर्कमा रहेको जानकारी दिए । तीव्र गतिका कारण मोड लिने क्रममा बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । 

गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री हाजी गुलबर खानले घटनालाई लिएर शोक व्यक्त गरेका छन् । उनले प्रशासन र उद्धारकर्ताहरूलाई घाइतेलाई तत्काल चिकित्सा सहायता प्रदान गर्न आदेश दिए । यसैगरी,  गिलगिट–बाल्टिस्तान सरकारका प्रवक्ताले चिलास अस्पतालमा आपतकाल लागु गरिएको घोषणा समेत गरेका छन् । रासस/एएनआई

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्