site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा चौथोपटक रेग्मी र ढुंगानाको इजलासमा सुनुवाइ हुँदै 

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटमा सुनुवाइ सुरु भएको छ । गत चैत २५ गतेदेखि हेर्दा हेर्दैमा राखिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सनुवाइ भइरहेको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको रिटलाई मुख्य मानी अन्य रिटहरूलाई लगाउमा राखिएको छ । थुनामा रहेकामध्येका अभियुक्त आङटावा शेर्पाले गत माघ १४ मा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । त्यसपछि बाँकी नौजना अभियुक्तले क्रमशः बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

गत फागुन ९ गते न्यायाधीश नहकुल सुवेदीको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । सो मुद्दा सातौँ पेसीमा लगाउमा राखी एकसाथ सुनुवाइ गर्ने आदेश भएको थियो । १३औँ पेसी चैत २५ मा न्यायाधीशद्वय रेग्मी र ढुंगानाको इजलासले हेर्दा हेर्दैमा राखेको मुद्दा आज १६औँ पेसीमा सुनुवाइ भइरहेको छ । 

सोमबारसहित यो मुद्दा तेस्रोपटक हेर्दाहेर्दैमा परेको हो । कुनै पनि मुद्दा त्यही इजलासले टुंग्याउने भएपछि हेर्दा हेर्दैमा राख्ने न्यायिक अभ्यास छ । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोपसहित पुर्पक्षका लागि थुनामा पठाउने आदेश समेतकाविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार, महान्यायाधिवक्ता, महान्याधिवक्ताको कार्यालय, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्