site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा तेस्रोपटक 'हेर्दाहेर्दै'मा 

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिट आज पनि 'हेर्दाहेर्दै'मा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले रिटलाई 'हेर्दाहेर्दै'मा राखेको हो ।

नक्कली भुटानी शरणर्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त आङ्टावा शेर्पाले गत माघ १४ मा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । त्यसपछि बाँकी नौजना अभियुक्तले क्रमशः बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

गत फागुन ९ गते न्यायाधीश नहकुल सुवेदीको इजलासले कारण देखाउ आदेश जारी गरेको मुद्दा सातौँ पेसीमा लगाउमा राखेर एकसाथ सुनुवाइ गर्ने आदेश भएको थियो । 

१३औँ पेसी चैत २५ मा न्यायाधीशद्वय रेग्मी र ढुंगानाको इजलासले हेर्दाहेर्दैमा राखेको मुद्दा आज १५औँ पेसीमा पनि हेर्दाहेर्दैमा परेको हो । सोमबारसहित यो मुद्दा तेस्रोपटक हेर्दाहेर्दैमा परेको हो । कुनै पनि मुद्दा त्यही इजलासले टुंग्याउने भएपछि हेर्दा हेर्दैमा राख्ने न्यायिक अभ्यास छ । 

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोपसहित पूर्पक्षका लागि थुनामा पठाउने आदेशसमेतका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, काठटमाडौं जिल्ला अदालतका श्रेष्तेदार, महान्यायाधिवक्ता, महान्याधिवक्ताको कार्यालय, काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय, प्रहरी प्रधान कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरालाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्