site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली भुटानी शरणार्थी प्रकरण : १० जनाको रिट सर्वोच्चको 'हेर्दाहेर्दै'मा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका १० जनाको मुद्दा सर्वोच्च अदालतको हेर्दाहेर्देमा परेको छ । जिल्ला अदालत काठमाडौंले गरेको आदेश उच्च अदालत पाटनले आंशिक सदर गरेपछि अभियुक्तमध्ये ६ जना छुटेर १० जना पुर्पक्षका लागि थुनामा छन् ।

थुनामा रहेकामध्येका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले फागुन ११ मा सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसयता बाँकी ९ जनाका तर्फबाट पनि छुट्टाछुट्टै रिट दायर भएको थियो । ती रिटहरूको संयुक्त सुनुवाइ हुँदै आएकोमा आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।

आइतबारको सुनुवाइपछि यही संयुक्त इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको हो । हेर्दाहेर्दैमा राखेपछि रिटमाथिको सुनुवाइ त्यही इजलासबाट टुंग्याउने अभ्यास छ । 

तत्कालीन गृहसचिव पाण्डेसहितले आफूमाथि लागेको आरोपसहित पुर्पक्षका लागि थुनामा पठाउने आदेशसमेतका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार, महान्यायाधिवक्ता, महान्याधिवक्ताको कार्यालय, काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय, प्रहरी प्रधान कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्