site stats
बाह्रखरी :: Baahrakhari
देश
संस्थाको हितविपरीत कार्य गरे दण्डित गर्ने प्रधानसेनापतिको चेतावनी

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले संस्थाको हितविपरीत व्यत्तिगत फाइदामा नलाग्न सैनिकहरूलाई चेतावनी दिएका छन् । सैनिक कमान्ड तथा स्टाफ कलेजमा सञ्चालन भइरहेको ‘कमान्ड तथा स्टाफ तालिम’का सहभागी शिक्षार्थीहरूलाई बुधबार सम्बोधन गर्दै उनले त्यस्तो चेतावनी दिएका हुन् ।

“व्यक्तिगत फाइदाका लागि संस्थाको हित प्रतिकूल गतिविधि गर्नेले उचित समयमा उचित ढंगले दण्डित हुनुपर्ने कुरा बताउँदै प्रधानसेनापतिले संस्थाको ‘चेन अफ कमान्ड’भित्रै सबैखाले समस्याको समाधान मिल्नेबारे प्रस्ट रहन अधिकृतहरूलाई सुझाव दिनुभयो,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तालिममा सहभागी सैनिक अधिकृतहरूलाई नेपाली सेनाका पछिल्ला प्रमुख गतिविधिहरूको बारेमा जानकारी गराउँदै उनले जनतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रिय हितको प्रवर्द्धन हुने ढंगले काम गर्न निर्देशन दिएका थिए ।

प्रविधिको दुरुपयोग, सवारी दुर्घटना, आत्महत्यासम्बन्धी सोच र प्रयास पछिल्ला दिनमा देखिएका चिन्ताजनक विषय भएकाले यस्ता कुराहरू रोक्न सबैले सजगता एवं सतर्कता अपनाउन जरुरी भएको प्रधानसेनापति शर्माले बताए ।

प्रचलित ऐन, नियम, कार्यविधिहरूको परिधिभित्र रहेर मातहतका सकलदर्जाको विश्वास जित्दै संस्था र देश हितमा समर्पित हुनेहरूले सदैव सफलता एवं प्रसन्नता हासिल गर्ने दाबी उनको थियो । 

परम्परागत सुरक्षा चुनौतीहरूसँगै मानव सुरक्षामा देखा पर्दै आएका नवीन चुनौतीहरूलाई पहिचान एवं विश्लेषण गरेर तिनीहरूलाई सामना गर्ने उपायहरूको पहिचान एवं अद्यावधिक गर्दै लैजाने क्षमता विकसित गर्नु जरुरी रहेको उनले औँल्याए । 

प्रधानसेनापति शर्माले जलवायु परिवर्तन, बसाइसराइ, खाद्य तथा ऊर्जा सुरक्षा, विभिन्न किसिमका अतिवादी विचारधाराहरूसँग जोडिएका गतिविधि, मानव स्वास्थ्यसँग सम्बन्धित जटिलताहरू, सूचना प्रविधिको दुरुपयोग आदिका कारण सृजित हुने चुनौतीसँगै शस्त्रास्त्रको होडबाजीको पुनरावृत्तिले विश्वभर सुरक्षा चुनौती थपिएको बताए । 

यसकारण रणनैतिक तथा सुरक्षा अध्ययनका विद्यार्थीहरूले सोही अनुरूपको तयारीपन र प्रतिकार्य क्षमता विकसित गर्ने योजनाहरूको तर्जुमा गर्न सक्नुपर्ने उनले जनाए । 

कमान्ड तथा स्टाफ तालिममा नाइजेरिया, केन्या, माल्दिभ्स, भारत, पाकिस्तान र दक्षिण कोरियाका एक/एकजना सहित ६ जना (महिला एक जना) विदेशी शिक्षार्थी अधिकृतहरू सहभागी छन् । 

यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभागका एक/एक जना र नेपाली सेनाका ५३ जना समेत कुल ६२ जना (महिला दुई जना) शिक्षार्थीहरू तालिमरत छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्