site stats
बाह्रखरी :: Baahrakhari
देश
मौसमविद्लाई प्रश्न– पानी पर्ने गतिविधि बढेको हो ?
फाइल तस्बिर ।

काठमाडौं । देशमा हाल पानी पर्ने सम्भावना न्यून रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ ।

तर, त्यो सम्भावना न्यून रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् । “बुलेटिनमा पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना भने पनि त्यो न्यून सम्भावना हो । पानी परिहाले पनि एक/दुई ठाउँमा छिटपुट र थोरै समय पर्ने हो,” उनले बाह्रखरीसित भनिन्, “तत्काल ‘ठूलो’ पानी पर्ने देखिँदैन । ‘राम्रो’ वर्षाको सम्भावना छैन ।”

छिटपुटदेखि हल्का वर्षा भइहाले पनि त्यसलाई ठूलो रूपमा नलिइने उनले बताइन् । हल्का वर्षाले किसानलाई भने केही राहत हुन सक्ने उनको भनाइ छ ।

उनका अनुसार, हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । बंगलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको उनले बताइन् ।

यो सिजनमा पानी पार्ने मजबुत प्रणाली नेपाल नभित्रिएको उनले जानकारी दिइन् । “जाडोमा पानी पार्ने राम्रो सिस्टम आएको छैन,” उनले भनिन्, “पानी पार्ने प्रणालीको अध्ययन र विश्लेषण गरिरहेका छौँ ।”

अबका तीन दिन देशभर ‘ठूलो’ पानी पर्ने सम्भावना नरहेको उनले बताइन् । यो अवधिमा काठमाडौंमा पनि वर्षाको सम्भावना नरहेको उनको भनाइ छ ।

महाशाखाले सोमबार बेलुका ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन पढ्नोस्–

मौसम विश्लेषण (Meteorological Analysis):

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै हाल बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status):

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

२०८० माघ १ गते (सोमबार)

राती:  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० माघ २ गते (मंगलबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

राती:  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० माघ ३ गते (बुधबार)

दिउँसो:  कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती:  बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीका साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी,गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै  बागमती र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको  हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन  अनुरोध छ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १९:१५
प्रतिक्रिया दिनुहोस्