site stats
बाह्रखरी :: Baahrakhari
देश
सामूहिक भाइटीका गर्दै पोखरा महानगर

लेखनाथ । तिहारको अवसरमा पोखरा महानगरपालिकाले यस वर्षदेखि सामूहिक भाइटीका कार्यक्रम गर्ने भएको छ ।

पोखरा–११ रामघाटस्थित गीता मन्दिर परिसरमा तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयामा पर्ने भाइटीकाका दिन सामूहिक भाइटीका कार्यक्रम राखिएको हो ।

पोखरा महानगरपालिका र गीता मन्दिर व्यवस्थापन समितिको संयोजनमा सामूहिक भाइटीका कार्यक्रम राखिएको जानकारी सामूहिक भाइटीका कार्यक्रमका संयोजक एवं पोखरा महानगरपालिका कार्यालयका अधिकृत लोकदर्शन कोइरालाले दिए ।

पोखराकै लब्धप्रतिष्ठित दिदीबहिनीको हातबाट आफ्ना दिदीबहिनी नभएका दाजुभाइ तथा घर टाढा भएर वा व्यस्तताका कारण आफ्नो घर जान नसक्ने दाजुभाइहरु सामूहिक भाइटीकामा सहभागी हुन सक्ने संयोजक कोइरालाले बताए ।

भाइटीकाका दिन बिहान १०ः५१ देखि दिउँसो २ बजेसम्म सामूहिक भाइटीका कार्यक्रम रहने कोइरालाले बताए । “सामूहिक भाइटीकामा हालसम्म ४० जना दाजुभाइले नाम टिपाइसक्नुभएको छ,” संयोजक कोइरालाले भने, “पोखरा महानगरपालिकाले पहिलोपटक यसरी सामूहिक भाइटीका कार्यक्रम आयोजना गरेको हो ।”

करिब १०० जनाको सङ्ख्यामा दाजुभाइ सामूहिक भाइटीकामा सहभागी हुने अपेक्षा गरिएको उनले बताए । कोइरालाले भने, “गीता मन्दिरमा सामूहिक भाइटीकाको तयारी गरिसकिएको छ । यम पञ्चकको पाँचौँ दिन भाइटीका मनाउने गरिन्छ, दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइने यो दिनको महत्वलाई बुझाउन विभिन्न किसिमका पौराणिक किंवदन्ती एवं ऐतिहासिक कथा सुन्ने गरिएको छ ।” रासस

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्