site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न असोज २९ गते स्वीकृति दिएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।

कम्पनीले अब पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्कासन गर्ने पनि उनले बताए । संस्थागत लगानीकर्ताका लागि बोर्डले ४० प्रतिशतले हुने २४ लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट निष्कासन गर्न स्वीकृति दिएको प्रवक्ता श्रेष्ठले बताए । 

Argakhachi Cement Island Ad

“बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न पहिलो पटक सर्वोत्तम सिमेन्टलाई स्वीकृति दिएको हो । यसको कट अफ प्राइज ४०१ रुपैयाँ हो,” उनले भने, “यो कम्पनीको आधार मूल्य ५०१ रुपैयाँ तय गरी बिक्री मूल्यमा माथिल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म माथि जान सक्ने गरी ६०० रुपैयाँ र तल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म कम हुनेगरी ४०१ रुपैयाँभित्र योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न स्वीकृति दिइएको हो ।”

कम्पनीले स्वीकृति पाएसँगै योग्य संस्थागत लगानीकर्ताबाट आईपीओको लागि आवेदन माग गर्नेछ । तर, सर्वसाधारणलाई भने कटअफ मूल्यमा १० प्रतिशत छुट दिई बाँकी रहेको ६० प्रतिशत सेयर निष्कासन हुनेछ । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गर्नेगरी २४ लाख कित्ता सेयर बिक्री गर्न धितोपत्र बोर्डले कम्पनीलाई स्वीकृति दिएको हो ।

यो आईपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ । यो कम्पनीले बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न २०७९ असार २८ गते आवेदन दिएको थियो । तर, आवेदन दिएको १५ महिनापछि मात्र स्वीकृति पाएको छ ।

बोर्डले स्वीकृति दिएसँगै सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने पहिलो कम्पनी हुनेछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्