site stats
बाह्रखरी :: Baahrakhari
देश
अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबाले पाए सफाइ

विराटनगर । जिल्ला अदालत सुनसरीले बलात्कार मुद्दामा कृष्णबहादुर गिरी ‘सिद्धबाबा’लाई सफाइ दिएको छ । बुधबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले निवेदकको माग दाबी नपुग्ने ठहर गरेको सुनसरी जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोख्रेलले जानकारी दिए ।

सिद्धबाबाविरुद्ध २०७९ असार १४ गते जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता भएको थियो । उनले २०७७ मङ्सिर २२ गते जिल्ला अदालत सुनसरीबाटै सफाइ पाएका थिए । तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले उनलाई सफाइ दिएको थियो ।

Argakhachi Cement Island Ad

तर, उच्च अदालत विराटनगरले जिल्ला अदालतलाई फैसलामा पुनर्विचार गर्न भनेको थियो । उच्च अदालतले पीडित भनिएकी महिलाको स्वास्थ्य परीक्षण गर्न, चिकित्सकको बकपत्र गर्न, पीडित तथा पीडक पक्षका साक्षीको बकपत्र गर्न र प्रमाणहरू बुझेर पुनः इन्साफको आदेश दिएको थियो ।

२०७६ मङ्सिर ११ गते एक महिला अनुयायीले आफूलाई जबरजस्ती करणी गरेको जाहेरी प्रहरीमा दिएकी थिइन् । पछि अदालतको आदेशले सिद्धबाबा तीन लाख धरौटीमा छुटेका थिए । 

पुनरावदेनसम्बन्धी मुद्दा कहिलेकाहीँ केही प्रमाण नबुझी गरेको वा केही बुझ्न बाँकी रहेको देखिएमा उल्टी नगरी पुनः इन्साफका लागि पठाउने चलन रहेको र यो थोरै मुद्दामा मात्र हुने गरेको सुनसरीका कानुन व्यवसायी रमेश पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्