site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्लाहीमा कर्फ्यु हटाइयो : चार दिनसम्म जुलुस, प्रदर्शनमा प्रतिबन्ध

काठमाडौं । सर्लाहीको मलंगवा बजार क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ । शनिबार बेलुका ५ देखि आज बिहान ८ बजेसम्मका लागि जारी गरिएको कर्फ्यु आदेश हटाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले धार्मिक, जातीय र सांस्कृतिक सद्भाव कायम राख्न अपिल गरेको छ । गएको शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा सदरमुकाम मलंगवामा दुई समूहबीच झडप भएको थियो । त्यसपछिको स्थिति मध्यनजर गरेर कर्फ्यु लगाइएको थियो ।

कर्फ्यु हटाइए पनि नगरक्षेत्रमा अबका चार दिनसम्म भेला, प्रदर्शन गर्न निषेध गरिएको छ । मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमाक्षेत्र र उत्तरमा प्रहरी पोस्ट/बाबा पेट्रोल पम्प) भित्र यही भदौ २७ गते राति १२ बजेसम्म कुनै प्रकारको भेला, जुलुस, बैठक, प्रदर्शन गर्न र पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको जिप्रकाले जनाएको छ ।

“सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साविक मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमाक्षेत्र र उत्तरमा प्रहरी पोस्ट/बाबा पेट्रोल पम्प) सीमाक्षेत्रभित्र कुनै प्रकारको भेला हुन नपाउने, जुलुस गर्न नहुने, बैठक वा पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ (२) (१) र दफा ६ (ख) को (१) (ग) बमोजिम आज मिति २०८०।०५।२४ गते बिहान ८ः०० बजेदेखि मिति २०८०।०५।२७ गते राति १२ः०० बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको व्यहोरा अनुरोध छ,” सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आइतबार बिहान जारी गरेको आदेशमा उल्लेख छ ।

सार्वजनिक स्थानहरूमा हो–हल्ला गर्नेजस्ता अवाञ्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्य नगर्न/नगराउन आह्वान गरिएको छ ।

dfamg-1694323965.jpg

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्