site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अस्ट्रेलियासँग मिलेर काम गर्ने चिनियाँ चाहना

जकार्ता । चीनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति अस्ट्रेलियासँग मिलेर काम गर्ने बताएको छ ।

इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगगठन (आसियान) शिखर सम्मेलनका क्रममा आज आयोजित पूर्वी एसिया सहयोगसम्बन्धी बैठकअघि चिनियाँ चाहना सार्वजनिक भएको हो ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले बिहीबार अस्ट्रेलियाका आफ्ना समकक्षी एन्थोनी अल्बानीजसँगको भेटवार्तामा  एशिया–प्रशान्त क्षेत्र चीन र अष्ट्रेलियाको साझा स्थल भएको उल्लेख गर्दै आफ्नो देशले अष्ट्रेलियासँग मिलेर काम गर्न चाहेको बताए ।

उनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति क्यानबेरासँग सहकार्य गर्न बेइजिङ तत्पर रहेको बताए ।

यसैबीच, अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले चीनसँगको चिसिएको सम्बन्ध सुधार्र्न यस वर्षको अन्त्यमा चीनको भ्रमणमा जाने बताएका छन् । सन् २०१६ यता अस्ट्रेलियाका प्रधानमन्त्रीबाट चीन भ्रमण भएको छैन ।

आसियान शिखर सम्मेलनसँगै आयोजित पूर्वी एसिया सहयोगसम्बन्धी बैठकमा भाग लिन इन्डोनेशिया आएका अष्ट्रेलियाका प्रधानमन्त्रीले चिनियाँ प्रधानमन्त्रीसँगको भेटपछि चीनका राष्ट्रपतिले आफूलाई बेइजिङ भ्रमणका निम्ति आमन्त्रण गरेको पत्रकारहरूलाई बताए ।

प्रधानमन्त्री अल्बानिजको यो भनाइ अष्ट्रेलियाको आयातमा चिनियाँ प्रतिबन्धलगायत राजनीतिक एवं आर्थिक मुद्दामा वर्षौंदेखि जारी द्वन्द्वपछि आएको हो ।

उनले निमन्त्रणाका लागि  राष्ट्रपति सीप्रति कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्री लीसँगको वार्ता रचनात्मक भएको बताए । यद्यपि उनले दुई देशबीच सम्बन्ध सुधार गर्न थप संवाद आवश्यक रहेको बताए । रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्