site stats
बाह्रखरी :: Baahrakhari
देश
तातोपानी नाका शुक्रबारदेखि खुल्ने
फाइल तस्बिर।

सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ,” उनले भने ।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए । उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् । रासस

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्