site stats
बाह्रखरी :: Baahrakhari
खेल
पारस खड्का भन्छन्– क्रिकेट राजनीतिभन्दा मैदानभित्रको खेल सहज रहेछ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले राजनीतिमा भन्दा क्रिकेट खेलाडीको रुपमा मैदानमा खेल्न सहज भएको बताएका छन् । शुक्रबार वाग्मती क्रिकेट संघको अध्यक्षमा उमेदवारी घोषणा कार्यक्रममा पारसले क्रिकेटको राजनीति कठिन रहेको प्रतिकृया दिएका हुन् ।

“क्रिकेट खेल्न धेरै नै सजिलो रहेछ । आजकल सन्यास फिर्ता लिने क्रम पनि छ । चुनाव हारिहालेँ भने सन्यास फिर्ता गरौँ कि भन्ने एउटा सोच चाहिँ बनाएको थिएँ,” पारसले भने, “तर, सबै गृहकार्य गर्दाखेरि यो मेरो लागि एक सिक्ने मौका हो, सिक्ने क्रममा राम्रो–नराम्रो दुवै हुन्छ । यदि म भोलि गएर नेपाल क्रिकेट संघको अध्यक्ष हुन्छु भने, मेरो एउटामात्र लक्ष्य के हो भने सबै पक्षलाई एकै ठाउँमा ल्याउने र कसरी हुन्छ, सामाजिक आर्थिक सबै हिसाबले धनी बनाउने ।”

गत साउन ३० गते भएको निर्वाचनमा काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्विरोध चयन भएपछि प्रदेश निर्वाचनका लागि पारसको बाटो खुलेको थियो ।

पारसले शुक्रबार काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर गरी वाग्मती प्रदेशका चार जिल्लाको समर्थनमा उमेदवारी घोषणा गरेका थिए । पारस प्रदेश निर्वाचनमा बहुमत भोट आफ्नो पक्षमा रहेको बताउछन् ।

“वाग्मती प्रदेश क्रिकेट संघको ३७ भोटमध्ये जितका लागि चाहिने १९ भोट हो । त्यसमध्ये हामीसँग २३ देखि २४ भोट हाम्रो पक्षमा भएको भएर आगामी चुनावमा हाम्रो प्यानलले राम्रो उमेदवारी पेस गरेर जित्ने सम्भावना छ,” पारसले भने ।

भदौ १५ गते हुने प्रदेश निर्वाचनमा वाग्मतीका ६ जिल्लामध्ये चार जिल्लाको साथका कारण पारस बलियो अवस्थामा छन् । केन्द्रसम्म पुग्ने चर्चा छ नि ? भन्ने प्रश्नमा पारसले अहिलेको ध्यान प्रदेश निर्वाचनमा रहेको बताए ।

“अहिले म १५ गते वाग्मती प्रदेशको अध्यक्ष हुने आशा छ । त्यसको लागि आज मलाई चार जिल्लाले विश्वास दिनुभएको छ । वाग्मतीको अध्यक्षमा निर्वाचित नभएसम्म केन्द्रमा उमेदवारीको बारेमा सोच्न पाइयो । अनुमान र हल्ला पनि धेरै भइरहेको छ,” पारस थप्छन्, “तर, अहिलेको लागि मेरो ध्यान १५ गते हुने वाग्मती क्रिकेट संघको निर्वाचनमा मलगायत मेरो टिमले जितोस् भन्नेमा छ । त्यसपछि हामी केन्द्रमा कसरी प्रस्तुत हुने भन्नेबारेमा तपाईँहरुसामु आउनेछौँ ।”

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  २२:५०
प्रतिक्रिया दिनुहोस्