site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बीपी कोइरालाको राजनीति र साहित्यमाथि अन्तरक्रिया

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स)को सहकार्यमा ‘नेपाली राजनीतिका सन्दर्भमा विश्वेश्वरप्रसाद कोइराला र उनको साहित्य’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. शिव रिजालले कार्यपत्र प्रस्तुत गर्दै आम नेपालीको मुक्तिका लागि बीपी कोइरालाले राजनीति गरेको उल्लेख गरे । 

उनले कोइरालाको राजनीति र साहित्यमाथि गहन विश्लेषण गर्दै कार्यपत्रमा उल्लेख गरेका छन्— कोइराला आफ्नो राजनीतिक अभियानबाट नेपाली जनताको स्वतन्त्रता स्थापना गर्न चाहन्थे भने आफ्ना साहित्यिक रचनाबाट स्वतन्त्र भएपछि एउटा मानिसले भोग्नुपर्ने अनि बोध गर्नुपर्ने दार्शनिक जिम्मेवारी बुझाउन चाहन्थे ।

डा. रिजालले विचारपत्रमा ‘नेपाली क्रान्तिको पृष्ठभूमि’, ‘क्रान्ति दर्शन र बीपी कोइराला’ र ‘साहित्य र बीपी कोइराला’ गरी तीन उपशीर्षकमा विविध दृष्टिकोण प्रस्तुत गरे ।

कार्यपत्रमाथि टिप्पणी गर्दै समालोचक कुमारी लामाले विचारपत्रको केन्द्रमा जनताको स्वतन्त्रता र विद्रोह रहेको, जसलाई विभिन्न विद्वान व्यक्तिको दृष्टिकोणबाट पुष्टि गर्न खोजिएको बताइन् ।  लामाले विचारपत्रमा बीपीको साहित्यकाबारेमा अलि बढी लेखिनुपर्ने उल्लेख गरिन् । 

अर्का टिप्पणीकर्ता नेपाली कांग्रेसकी सांसद सुशीला थिङले बीपी राजनीति र साहित्य दुवैमा अब्बल रहेको बताइन् । उनले पनि विचारपत्रमा कोइरालाको साहित्यिक पक्ष बढी आउनुपर्ने धारणा राखिन् ।

साहित्यकार भुवन ढुंगानाले बीपी कोइराला विचारले क्रान्तिकारी भए पनि संस्कारी रहेको उल्लेख गर्दै बीपीले जेलमा बस्ता लेखेका साहित्य पनि क्रान्ति नै भएको बताइन् ।

प्रा.डा. अभि सुवेदीले बीपीसँग भेट्दाको स्मरण सुनाउँदै उनलाई बुझ्न गाह्रो भएको बताए । 

आख्यानकार नारायण ढकालले सहजीकरण गरेको सो कार्यक्रममा वैकल्पिक समाजका अध्यक्ष हरि रोका, प्रतिष्ठानका कुलपति भूपाल राई, शंकर तिवारीलगायतले आफ्ना धारणा राखेका थिए । 
 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  २३:१०
प्रतिक्रिया दिनुहोस्