site stats
बाह्रखरी :: Baahrakhari
देश
टोखामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैध रूपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो ।

नगर प्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८, दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ । लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए ।

“संरचना भत्काउन पटक–पटक सूचना जारी तथा प्रत्यक्ष भेटेर अनुरोध गरे पनि खाली नगरेपछि हटाएका हौँ,” नगर प्रमुख अधिकारीले भने ।

नगरभित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिकाको संरक्षणमा हुनुपर्ने र कुनै व्यक्तिले पनि उपभोग गर्न नमिल्ने उनको भनाइ छ । रासस

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्