site stats
बाह्रखरी :: Baahrakhari
देश
विस्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित एकजना पक्राउ

काठमाडौं । विस्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर बताउने ४२ वर्षीय शिवा गुप्ता छन् । गुप्तालाई करिब २९ केजी ५०० ग्राम गन्धकसहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बिहीबार (हिजो) कैलालीको कैलारी गाउँपालिका–३, खोनपुरस्थित सीमा इलाकाबाट उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार साइकलमा राखेर भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको उक्त गन्धकसहित गुप्तालाई नियन्त्रणमा लिइएको हो ।

चेकजाँचका क्रममा गुप्ताले सुरुमा झोलामा आलुप्याज रहेको भन्दै भाग्ने प्रयास गरेका थिए । तर, शंकास्पद अवस्थामा देखिएका उनलाई नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा गन्धक बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

नियन्त्रणमा लिइएका गुप्तालाई बरामद गन्धक र साइकलसहित सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय हसुलियामा बुझाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्