site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्दै सभामुख
फाइल तस्बिर

काठमाडौं । सभामुख देवराज घिमिरेले मंगलबार (आज) प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै छन् । 

सभामुख घिमिरेले बिहान ११ बजे सिंहदरवारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दै छन् । 

सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन तथा संसद्लाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी हुने तय भएको छ ।

वैशाख १५ गते प्रतिनिधिसभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरुलाई बोलाएका हुन् । 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्