site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिकताको विषयमा सामूहिक आत्मदाह भए जिम्मेवारी सरकार कि न्यायालयले लिन्छ ? : सांसद खान
फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले नागरिकता नपाएका व्यक्तिहरूले सामूहिक आत्मदाह गरे त्यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नागरिकता पाउनुपर्ने मागसहित काठमाडौंको माइतीघर र देशभर मानिसले विरोध गरिरहेको बताए ।

“सरकारको ध्यान कता छ ? नागरिकताबाट वञ्चितहरूले माइतीघरमा आत्महत्याको कोसिस हुँदै छ,” सांसद खानले भने, “यो रोकिएन र भोलि सामूहिक आत्मदाह भयो भने कसले जिम्मेवार लिने सरकार कि न्यायालयले ?”

निर्वतमान खानेपानीमन्त्री समेत रहेका खानले यसको जवाफ गृहमन्त्रीले दिनुपर्ने बताए ।

नागरिकता माग्नु अपराध भए आफूहरूलाई धपाए हुने उनको भनाइ छ । “सरकारले पास गर्छ, न्यायालयले रोकिदिन्छ, यस्तो कहिलेसम्म हो ? म यसको जवाफ गृहमन्त्रीबाट चाहन्छु,” उनले भने, “के नागरिकता माग्नु अपराध हो ? यो अपराध हो भने गोली हानेर धपाउनुहोस्, नभए नेपाली हामी नागरिकलाई नागरिकता दिनुहोस् ।”

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्