site stats
बाह्रखरी :: Baahrakhari
देश
बच्चा जन्मिएको दुई वर्ष नपुगी पुनः गर्भ रहेमा अनेक असर

काठमाडौं । बच्चा जन्माउने विषयमा विभिन्न कुरामा ध्यान दिनुपर्छ । हरेक दम्पतीले इच्छाअनुसार सन्तान जन्माउने कि नजन्माउने, जन्माउने भए कहिले, कति समयको अन्तरालमा र कति सन्तान जन्माउने निधो गर्नुपर्छ ।

पहिलो सन्तान जन्माइसकेपछि अर्को पनि इच्छा हुने दम्पतीले गर्भान्तरका विषयमा विशेष ख्याल गर्नुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार एक बच्चा जन्माएपश्चात् तीन वर्षपछि अर्को जन्माउनु राम्रो हुन्छ ।

बच्चा जन्मिएको दुई वर्ष नपुगी पुनः गर्भ रहेमा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ । त्यस्तो अवस्थामा आमा र बच्चाको मृत्यु पनि हुन सक्ने केन्द्रले जनाएको छ ।

“बच्चा जन्मिएपछि एक वर्षको अवधिमा सुत्केरी महिलाहरूले आफ्नो र शिशुको स्वास्थ्यका लागि धेरै कुराहरूमा ध्यान पु¥याउनुपर्दछ । तीमध्ये आमा र शिशुको स्वास्थ्यका लागि २४ महिनाभन्दा कम अवधिको फरकमा गर्भ रहन नदिनु एक महत्त्वपूर्ण कुरा हो,” केन्द्रले भनेको छ, “जसको लागि गर्भनिरोधक साधनहरू प्रयोग गरेर आमा र बच्चा स्वस्थ राख्न सकिन्छ ।”

सुत्केरीपश्चात् पहिलो १२ महिनाभित्रको अवधिमा महिलामा अनिच्छित गर्भ रहने सम्भावना उच्च हुन्छ । केन्द्रका अनुसार सो समयमा उपयुक्त गर्भनिरोधक साधन प्रयोग गरी अनिच्छित गर्भ रोक्न सकिन्छ ।

सुत्केरी भएको एक महिनापछि महिनावारी नफर्कंदै गर्भनिरोधक साधनको प्रयोगबिना यौनसम्पर्क भएमा गर्भ रहन सक्छ । सुत्केरी अवस्थामा गर्भनिरोधक साधनको प्रयोगले आमा र बच्चाको स्वास्थ्यमा कुनै हानि नगर्ने केन्द्रले जनाएको छ ।

सुत्केरी तथा गर्भपतन भएका/गराएका महिलाले स्वास्थ्यकर्मीको परामर्शअनुसार आफूलाई उपयुक्त हुने गर्भनिरोधक साधन प्रयोग गर्न सक्छन् ।

सुत्केरी भएको २४ महिनाभन्दा अगाडिको समयमा पुनः गर्भवती भएमा स्वास्थ्यमा जटिलता उत्पन्न हुन सक्ने केन्द्रले जनाएको छ ।

“सुत्केरी भएको २४ महिनाभन्दा अगाडिको समयमा पुनः गर्भवती भएमा जन्मिने शिशु सानो र कम तौल भएको, अनि समयभन्दा चाँडै जन्मिने, शारीरिक, मानसिक वृद्धि राम्ररी नहुनेजस्ता असरहरू देखिने गर्छन् र साथै आमाको स्वास्थ्यमा पनि रक्तअल्पता तथा प्रसव अवस्थामा जटिलता भएर आमाको मृत्यु समेत हुनेजस्ता समस्या देखिन सक्छन्,” केन्द्रले भनेको छ, “त्यसैले गर्भनिरोधक साधनहरूको प्रयोग गरी उचित गर्भान्तर कायम गर्नुपर्छ ।”

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्