site stats
बाह्रखरी :: Baahrakhari
देश
बीपी राजमार्गमा यसरी पुरिए चार गाडी, अहिले अवस्था सामान्य

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकमा वर्षापछि झरेको ढुंगा र माटोसहितको लेदोमा पुरिएका चार गाडी निकालिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी गाउँपालिकाका कालढुंगा र चिउरीबासमा चार गाडी पुरिएका थिए ।

अहिले अवस्था सामान्य भइसकेको काभ्रेका डीएसपी डुण्डीराज न्यौपानेले जानकारी दिए । “नर्मल भइसक्यो । चारै गाडी निकालिसक्यौँ,” उनले बाह्रखरीसित भने ।

वर्षासँगै सोमबार राति सडकमाथिबाट लेदो खसेको उनले बताए । उनका अनुसार लेदो जमेका कारण करिब दुई घण्टा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

“राति ९ देखि ११ बजेसम्म सडक अवरुद्ध भएको थियो । त्यसपछि हामीले एकतर्फी सडक खुलाएका थियौँ,” उनले भने, “डोजर लगाएर प्रहरी, स्थानीय, जनप्रतिनिधि सबै भएर आज बिहान ४ः३० देखि दुईतर्फ नै सडक खुलाइसकेका छौँ ।”

df1684131222.jpg

घटनामा कोही हताहती नभएको उनले जानकारी दिए । उनका अनुसार वर्षासँगै विस्तारै लेदो खसेर सडकमा जम्मा भएको थियो । गाडी पुरिने अवस्थासम्म त्यसमा सवार यात्री सुरक्षित स्थानमा गइसकेका थिए ।

“झ्याप्पै पुरिएको होइन । विस्तारै लेदो झरेको हो । लेदो झर्दै जान थालेपछि यात्रु ओर्लिएका थिए,” उनले भने, “लेदो जम्मा हुन थालेसँगै मान्छे ओर्लिएर अन्तै गएकाले कसैलाई केही भएको छैन ।”

उनका अनुसार दुई हाइस र दुई पिकअप गाडी पुरिएका थिए ।

odag1684131246.jpg

तस्बिरहरू : कपिल कोइरालाको फेसबुकबाट ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्