site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
व्यवसायीको राजनीति : गुट परिवर्तन र लाइसेन्सको स्वार्थ, नजिकका मित्रको प्रतिस्पर्धा 

काठमाडौं । एक महिना अगाडिसम्म प्रवलजंग पाण्डे भरत आचार्यलाई नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट उपाध्यक्ष बनाउने अभियानमा थिए । 

तर आइतबारदेखि व्यवसायीभित्र भएको राजनीतिले पाण्डे र आचार्य एशोसियट उपाध्यक्षमा लड्ने भएका छन् । 

अन्जन श्रेष्ठको टिमबाट वरिष्ठ उपाध्यक्ष लड्ने घोषणा गरेकी ज्योत्स्ना श्रेष्ठले टिम परिवर्तन गरेर रामचन्द्र संघाईको टिममा पुगेपछि पाण्डे डेढ दशकदेखिको ‘नजिकका मित्र’ भरत आचार्यसँग प्रतिस्पर्धा गर्ने तहमा पुगेका हुन् । 

चैत २८ गते हुने महासंघको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।  महासंघको साधारणसभाले विधानअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई अध्यक्ष चयन गर्ने छ । 

तीन वर्षपछि अध्यक्ष बन्नको लागि अहिलेका उपाध्यक्षद्वय अन्जन श्रेष्ठ,  रामचन्द्र संघाई र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले प्रतिस्पर्धामा उत्रिने घोषणा गरेका छन् ।

महासंघको निर्वाचन त्रिपक्षीय भएको हुँदा टिम परिवर्तन यो पटक निर्वाचन हुने दिनसम्म हुने देखिएको छ ।  एशोसियट उपाध्यक्षमा बरिष्ठ उपाध्यक्षका सबैजना प्रत्यासीको पहिलो रोजाई भरत आचार्य थिए । 

आचार्य अन्तिममा उमेशलाल श्रेष्ठको टिमबाट उपाध्यक्ष बनेका छन् ।  अन्जनको टिमबाट उपाध्यक्ष लड्ने सार्वजनिक घोषणा गरेकी ज्योत्स्ना श्रेष्ठ संघाईको टिममा पुगेर उपाध्यक्ष लड्ने भएकी छन् । 

ज्योत्स्नाको टिम परिवर्तनमा राजनीति जोडिएको व्यवसायीहरु बताउँछन् ।  “ज्योत्स्नाको टिम परिवर्तनमा ठूलो राजनीतिले काम गरेको छ,” महासंघका एक कार्यकारिणी सदस्यले भने, “ठूलो तहको राजनीतिक दबाब आएको कारण निर्वाचनमा टिम परिवर्तन हुने देखियो ।”

महासंघमा यो पटक त्रिपक्षीय लडाईँमा राजनीतिक पार्टीको समेत प्रवेश भइसकेको छ ।  उमेशलाल श्रेष्ठ नेकपाका संस्थापक पुष्पलाल तथा नेकपा एमाले नेतृ सहाना प्रधानका छोरा हुन् । 

कम्युनिष्ट पार्टीको संस्थापकको छोरा भएको हुँदा एमाले निकट व्यवसायीको सम्बन्ध उमेशसँग देखिएको छ ।  यद्यपी उमेशको टिमबाट वस्तुगत उपाध्यक्ष लडेका हेमराज ढकाल कांग्रेससँग निकट मानिन्छन् । 

व्यवसायीको दाबीलाई मान्ने हो भने कांग्रेस भने महासंघको निर्वाचनमा विभाजन हुने स्थितिमा पुगेको छ । संस्थापनको समर्थन संघाईलाई हुने र संस्थापन इतरसमूहको समर्थन अन्जनलाई हुने देखिएको छ । 

स्वार्थ लाइसेन्सको 

अहिले उद्योग व्यवसाय निकै समस्यामा छ । महासंघको एक परिचय चुनावदेखि चुनावसम्म मात्र भएको छ । 

अत्यधिक राजनीति भएको कारण महासंघले आफ्नो विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउने नीति लियो । 

विधान संशोधन भएपछि वरिष्ठ उपाध्यक्षबाट अध्यक्ष बन्ने चन्द्र ढकाल तेस्रो व्यक्ति हुन् ।  तर विगतमा अध्यक्षको प्रतिस्पर्धामा हुने गरेको लडाईँ वरिष्ठ उपाध्यक्षमा सरेको छ । 

जसले विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउने नीतिले महासंघमा हुने राजनीति नहटेको देखिएको छ । 

महासंघको निर्वाचनमा नेतृत्वमा जान खोज्नेहरु पछिल्लो समय लाइसेन्सप्रति मोह हुने भएको र सो अनुसारको व्यक्तिगत लाभ पाएको व्यवसायीहरु बताउँछन् । 

“पछिल्लो समय वितरण भएका पुनर्बिमा, नयाँ बिमा कम्पनी, स्टक एक्सचेन्ज र ब्रोकरको लाइसेन्समा महासंघमा प्रभाव जमाउने व्यवसायीले मात्र पाए,” महासंघ आवद्ध एक व्यवसायीले भने, “अहिले निर्वाचनमासमेत यस्तै प्रवृत्ति हाबी हुने देखियो ।”

निश्चित व्यवसायीलाई मात्र फाइदा पुग्ने उद्योगको नीति लिने तथा नेतृत्त्व तहमा बस्नेहरु लाइसेन्सको मोहमा लाग्दा महासंघले गर्ने व्यावसायिक लबिइङलाई समेत कमजोर बनाएको बुझाई व्यवसायीको छ । 

अहिले आर्थिक संकट लागेको बेला १० करोडसम्म खर्च गरेर महासंघको नेतृत्त्वमा जान व्यवसायीबीच प्रतिस्पर्धा हुनुको पछाडि मुख्य कारण यस्तै लाइसेन्स व्यक्तिगत फाइदा लिन खोज्दा समेत भएको व्यवसायीहरु बताउँछन् । 

महासंघको निर्वाचन आउन १० दिन जति बाँकी छ । त्यो बेलासम्म यस्तै राजनीतिक फाइदाको लागि व्यवसायीहरुको कित्ता परिवर्तन हुने देखिएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ०९:३२
प्रतिक्रिया दिनुहोस्