site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भोजन गृहका २५ वर्ष– कोरोनाले थला पार्‍यो, संस्कृति जोगाउन पुनः सञ्चालनमा  

काठमाडौं । २५ वर्ष लामो इतिहास बोकेको ‘भोजन गृह’ पर्यटन व्यवसायी भरत बस्नेतले फेरि सञ्चालनमा ल्याएका छन् ।

२०५४ साल (सन् १९९७) मा सञ्चालनमा आएको ‘भोजन गृह’ कोराना महामारीको कारण बन्द भएको थियो ।

खोटाङमा जन्मिएका बस्नेत अध्ययनको शिलशिलामा काठमाडौं आएर विभिन्न ट्राभल एजेन्सी र होटलहरुमा अनुभव बटुलेका व्यवसायी हुन् । 

Argakhachi Cement Island Ad

Bhojan grih (13)1677735502.jpg

बस्नेतले २०५४ सालमा ‘भोजन गृह’ सञ्चालनमा ल्याएका थिए ।

भोजन गृह सञ्चालनमा ल्याउनुको उद्देश्य थियो नेपाली परम्परागत खाना र मौलिक कला, संस्कृतिको प्रवर्द्धन गर्ने । बस्नेत आफैँ पनि पुरानो घर, मौलिक कला, संस्कृतिलाई जोगाउने अभियान्ता हुन् ।

बस्नेत भोजन गृह सञ्चालन गर्नुभन्दा पहिले राणाकालीन दरबार, मल्लकालीन दरबार जोगाउने अभियानमा सक्रिय थिए । त्यसै क्रममा पुगे बडागुरु नैनराज पाण्डेको निवास । 

पाण्डेका दाजुभाइ छुट्टिएपछि यो भवन बिक्रीमा थियो ।  त्यसैबेला बस्नेतले परिवारकै एक सदस्यसँग २० वर्षको लागि घर भाडामा लिए ।

उक्त भवनलाई मर्मत सम्भार र जिर्णोद्धार गरेर ‘भोजन गृह’ सञ्चालनमा ल्याए ।  उक्त भवनमा सन् १९९८ मा ‘भोजन गृह’ सञ्चालनमा ल्याए । भोजन गृह सञ्चालनमा आएको अब २५ वर्ष हुँदैछ ।

Bhojan grih (9)1677735496.jpg

बस्नेतले नेपाल भित्रिएका पर्यटकलाई नेपालीपनको मौलिक कला, संस्कृति र खानपिनमा ध्यान दिए । त्यसैअुनसार भोजन गृहमा नेपालीपन झल्किने खालको मौलिक, परम्परागत जातीय भेषभूषासहितको नेवारी, तामाङ सेलोलगायत नेपाली गीत र नृत्य प्रत्यक्षरुपमा हेर्न पाइन्छ । 

यहाँको खाना पनि खाउँ खाउँ लाग्ने खालको रहेको उनको भनाइ छ । साथै, पारिवारिक र शान्त वातावरणमा नेपाली खाना (दाल, भात, तरकारी, अचार) भोजन गृहको मुख्य विशेषता हुन् ।

खानाको प्याकेजमा मकैको खाजा, आलु तारेको, मःमः, क्वाँटी, दाल, भात, तरकारी र कुखुराको मासु तथा खसीको मासु स्वादिष्ठ प्रकारको खाना यहाँको मुख्य विशेषता हो ।

त्यसबाहेकको अन्य खाना मागअनुसार पाइने बस्नेतले बताए । प्याकेजमा विदेशीलाई चार हजार रुपैयाँ छ । नेपालीलाई तीन हजार ३०० रुपैयाँ रहेको बस्नेतले बताए ।

Bhojan grih (12)1677735501.jpg

निरन्तर चलिरहेको अवस्थामा कोरोना महामारी आयो । त्यसको प्रभाव पर्यटन क्षेत्रमा आयो । सबै क्षेत्र ठप्प भयो । विदेशी र स्वादेशी पर्यटन पनि ठप्प भयो । 

जसको प्रभाव ‘भोजन गृह’मा पनि पर्‍यो । त्यसको कारण करिब तीनवर्ष जति बन्द भयो । कोभिडको कारण बन्द भएको भोजन गृह नयाँ सोच र जाँगरका साथ फागुन २ गतेदेखि पुनः सञ्चालनमा ल्याएको बस्नेतले बताए ।

“पुनर्निर्माण गर्दा मौलिक र पुरातन कला जोगाएर सञ्चालनमा ल्याएको छौँ । मौलिकपनलाई प्राथमिकतामा राखेका छौँ,” बस्नेतले भने । 

Bhojan grih (11)1677735500.jpg

पुरानो भवनलाई मर्मत सम्भार गरेर सञ्चालन गर्दा ६ करोड रुपैयाँ खर्च भएको बस्नेत बताए । भोजन गृहले परम्परागत कला, साँस्कृतिक र नेपाली खानालाई जोगाउने काम गरेको बस्नेतले बताए । 

भोजन गृह हप्तामा सातैदिन खुल्ला रहन्छ । बिहानको सात बजेदेखि राति नौ बजेसम्म खुल्ला रहन्छ ।  भोजन गृहमा दिनमा बिहानी, दिवा र बेलुकी गरी तीनपटक नै खाना खुवाइन्छ ।

बेलुकीको खाना सात बजेदेखि सुरु हुन्छ । खाना खानेबेलामा प्रत्यक्ष रुपमा नेपाली नाचगान हेर्न सकिन्छ । बिहान र दिवा खाना यो व्यवस्था भने छैन ।

तीन तलाको भोजन गृह अहिले दोस्रो तलामात्र सञ्चालन आएको छ । 

अहिले २०० जना बसेर खाना खान मिल्छ । अन्य तलामा मर्मत सम्भारको कार्य भइरहेको र चाँडै नै पूर्णरुपमा सञ्चालनमा आउने सञ्चालक बस्नेतले बताए ।

Bhojan grih (10)1677735498.jpg

उक्त भोजन गृहमा एक पटक आउनेहरु फेरि फर्केर आउने गरेको बस्नेतले बताए । नेपाली कला, संस्कृति र खानापिनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन पनि सहयोग पुगेको बस्नेतको दाबी छ ।

ऐतिहासिक भवनको पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्किङको राम्रो सुविधा रहेको छ । भवनको बनावट र सजावटको कारण भोजन गृहमा बसिरहँदा संग्राहलयको झल्को आउँछ । 

भवनमा प्रयोग गरिएका सबै सामग्री हस्तकलाबाट निर्मित छन् । त्यहाँ राखिएको कुर्ची र टेबल पनि काठबाट निर्मित छ । 

जसले गर्दा त्यहाँ बसिरहँदा संग्रहालयको भल्को दिन्छ । यतिमात्र नभएर भोजन गृहमा सबै सामग्री नेपालमा उत्पादित छन् । 

Bhojan grih (8)1677735497.JPG

विदेशी पर्यटकले खर्च गरेका पैसा नेपालमै रहोस् भन्ने मनासायका साथ नेपाली सामग्री प्रयोग गरेको बस्नेतले बताए । 

भोजन गृहमा ४० जना कर्मचारी छन् । नाचगानको लागि आफैँ कलाकारहरु छन् । भोजन गृहमा सेमिनार, विवाहभोज, व्रतबन्ध पनि गर्न सकिने बस्नेतले बताए । 

पर्यटक तथा पाहुनालाई स्वागत गर्ने शैली पनि मौलिक छ । 

काठ र हस्तकलाको सजावटका कारण पनि भवन भूकम्प प्रतिरोधात्मक विधि अपनाएर मर्मत सम्भार गरेको बस्नेतले बताए ।

Bhojan grih (7)1677735494.jpg

“नयाँ पुस्ताले मौलिक कला, संस्कृतिलाई भुल्दै गइरहेको अवस्था त्यसलाई बचाउन भोजन गृहले काम गरिरहेको छ,” बस्नेतले भने ।

‘भोजन गृह’ सञ्चालनमा आएको करिब दुई हप्ता भयो । अहिले पनि विभिन्न देशबाट आएका पर्यटकहरु आइरहेका छन् ।

Bhojan grih (4)1677735492.jpg

“पुराना र नयाँ पर्यटक तथा पाहुनाहरु आइरहनु भएको छ,” बस्नेतले भने, “प्रतिक्रिया पनि राम्रो आइरहेको छ ।”

Bhojan grih (3)1677735490.jpg

अहिले ‘भोजन गृह’ पूर्णरुपमा सञ्चालनमा ल्याउनको लागि रंगरोगन र सजावटको काम तीव्र गतिमा भइरहेको छ ।

तस्बिर ः हरिशजंग क्षेत्री

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्