site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेसमा कुन मन्त्रालयमा कसको दाबी ?
फाइल तस्बिर ।

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भइसकेका छन् । नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार (भोलि) पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय छ ।

मन्त्रालय भागबन्डाका विषयमा सत्तासाझेदार दलबीच सहमति जुटिसकेको छैन । सोही कारण शुक्रबार मुख्यमन्त्री यादवले मात्र शपथ लिने अहिलेसम्मको तयारी छ ।

मन्त्रालय भागबन्डाका लागि बिहीबार साँझ आफूहरू बैठक बस्न लागेको जनमत पार्टी प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए ।

Argakhachi Cement Island Ad

मधेस प्रदेशमा १० मन्त्रालय छन् । मुख्यमन्त्री यादवले नियुक्तिकै दिन मन्त्रालयको संख्या बढाउने वा घटाउने काम नगरिने बताएका थिए ।

केन्द्रीय नेताहरूले मधेसका प्रमुख तीन पदको टुंगो लगाइसकेका छन् । सोअनुसार मुख्यमन्त्री जसपाले पाएको हो । सभामुख नेकपा (एमाले) र उपसभामुख जनमतले पाउने सहमति छ ।

जनमतले उपसभामुखबाहेक तीन ‘ठूला’ मन्त्रालय मागेको छ । सो पार्टीको प्रदेश संसदीय दलका नेता यादवले आफूहरूले सामाजिक विकास, भौतिक पूर्वाधार र एउटा कुनै प्रशासनिक मन्त्रालय पाउनुपर्ने बताए ।

जसपाले मुख्यमन्त्रीबाहेक थप दुई मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । जसपाले अर्थ र गृह तथा सञ्चार मन्त्रालय मागेको छ ।

आन्तरिक विवादका कारण नेकपा (माओवादी केन्द्र)को हालसम्म संसदीय दलको नेता चयन गरिएको छैन । माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री भरतप्रसाद साहले शुक्रबार बैठक बसेर दलको नेता चयन गरिने बताए ।

सबै दलले एउटा/एउटा ‘प्रमुख’ मन्त्रालय पाउने एक चरणको सहमति भएको उनको भनाइ छ । माओवादीले ‘सन्तोषजनक’ मन्त्रालय नपाए केन्द्रीय नेताहरूले नै तय गर्ने उनी बताउँछन् । कति र कुन मन्त्रालयमा दाबी गरिएको भन्नेबारे उनले खुलाउन चाहेनन् ।

प्रदेश प्रदेशको सबैभन्दा ठूलो दल एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले चार विकासे मन्त्रालयमध्ये सबै दलले एक/एकवटा लिएर शपथग्रहण गर्ने तयारी रहेको बताए ।

भौतिक पूर्वाधार, कृषि, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालयमध्ये सत्तासाझेदारका प्रमुख दलहरूले एउटा/एउटा पाउनेछन् । 

जनता समाजवादी पार्टी (जसपा) र एमाले तीन/तीन, जनमतले दुई र माओवादी केन्द्रले एक मन्त्रालय पाउने सम्भावना छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि सरकारमा ल्याउने गृहकार्य भइरहेको छ । बाँकी रहेको एक मन्त्रालय लिएर लोसपा सरकारमा सहभागी हुन तयार देखिएको छ ।

बुधबार मुख्यमन्त्रीलाई समर्थन नगरे पनि आज समर्थनपत्र प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पठाइने लोसपाका नेताहरूले बताएका छन् । मधेस प्रदेशसभामा लोसपाका नौ सांसद छन् । लोसपाले समर्थन गरे मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाउनेछन् ।

अहिले मुख्यमन्त्रीलाई एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादीका सात, नेपाल संघीय समाजवादीका एक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक, स्वतन्त्र सांसदद्वय अनुरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका छन् । यहाँ माओवादीका नौ सांसद भए पनि दुईजनाको शपथ रोकिएको छ ।

लोसपाबाहेक नेपाली कांग्रेस र एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेका छैनन् ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्