site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
मधेस प्रदेशसभा : चार महिला निर्वाचित, ३१ जना समानुपातिकबाट छानिने

जनकपुरधाम । मधेस प्रदेशसभा सदस्यको लागि चार महिला निर्वाचित भएकी छन् । मधेस प्रदेशको ६४ वटा प्रदेशसभा क्षेत्रमा ६९ जना महिलाले उमेदवारी दिएका थिए । जसमध्ये तीनजना दलबाट र एकजना स्वतन्त्र गरी चार महिला मात्रै निर्वाचित भएका छन् ।  

नेकपा (एमाले)की सरदा थापा महोत्तरी निर्वाचन क्षेत्र १ को ‘क’ बाट, महोत्तरी २ को ‘ख’मा स्वतन्त्र सुरिता साह, महोत्तरी ३ ‘ख’ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की रानी शर्मा तिवारी र सर्लाही १ को ‘ख’बाट नेकपा (एकीकृत समाजवादी)की बेची लुंगेली निर्वाचित भएकी छन् । 

यी चारै महिला सांसद यसअघि पनि प्रदेशसभा सांसद थिए । मधेसमा प्रदेशसभातर्फ कुल ९९८ जना उमेदवार थिए । जसमध्ये ९२९ जना पुरुष र ६९ जना महिलाले उमेदवारी दिएका थिए । जसमा अधिकांश महिला उमेदवार साना दलबाट र २१ जना स्वतन्त्र रहेका थिए । 

Argakhachi Cement Island Ad

अब प्रदेशसभामा ३३ प्रतिशत महिला सांसद पु¥याउन ३१ महिला समानुपातिकबाट चुनिनुपर्नेछ । प्रदेशसभा समानुपातिकतर्फ सदर मतको एक दशमलव पाँच प्रतिशतभन्दा बढी मत पाएका दलहरुले ३१ महिलालाई प्रदेश सांसद बनाउनेछन् । 

कुन दलको कति सिट ?  

प्रदेशसभामा समानुपातिक सांसद बन्नको लागि करिब ३६ हजार मत आवश्यक हुन्छ । मधेसमा समानुपातिकतर्फ १९ लाख एक हजार ४०६ मत खसेको छ । 

समाचार तयार पार्दासम्म निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी समानुपातिक मत पाएको छ । तीन लाख ७२ हजार ३९० मत ल्याएको कांग्रेसले करिब १० सिट पाउने देखिन्छ । प्रत्यक्षमा १२ सिट जितेको कांग्रेसको प्रदेशसभामा २३ जना सांसद हुनेछन् ।

नेकपा (एमाले)ले मधेसमा प्रत्यक्षतर्फ १५ स्थानमा जितेको छ । समानुपातिकतर्फ पछिल्लो परिणाम अनुसार तीन लाख ३६ जहार ७४८ मतसहित दोस्रो स्थानमा रहेको उसले नौ सिट पाउने देखिन्छ । 

जनमत पार्टीले ६ स्थानमा प्रत्येक्षतर्फ जितेको छ भने ६ सिट समानुपातिकतर्फ पाउने देखिन्छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले नौ सिट प्रत्येक्षमा जितेको छ भने ६ सिट समानुपातिककर्फ पनि पाउने देखिन्छ । 

चार सिट प्रत्यक्षतर्फ जितेको नेकपा (माओवादी केन्द्र) समानुपातिकमा पनि चार सिटमै सीमित हुने देखिन्छ । यस्तै, चार सिट जितेको नेकपा (एकीकृत समाजवादी) र सात सिट जितेको लोसपाले समानुपातिकतर्फ २÷२ सिट पाउने देखिन्छ । राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले एक÷एक सिट पाउने छन् । यी तीन पार्टीले प्रत्यक्षमा जित्न सकेका छैनन् ।

सरकार बनाउन कठिन समीकरण

मधेस प्रदेशसभामा १०७ सदस्य छन् । बहुमतको सरकार बनाउन कम्तीमा ५४ सिट आवश्यक पर्छ । निर्वाचनमा भाग लिएका कुनै पनि दलहरुले बहुमत ल्याउन सकेका छैनन् । जसकारण सरकार बनाउन केही कठिन देखिएको छ । 

प्रदेशसभामा दुई गठबन्धनको नेतृत्व गरेका एमाले र कांग्रेसका सबैभन्दा बढी सांसद रहनेछन् । उनीहरुले सरकार बनाउन कसरत पनि सुरु गरिसकेका छन् । मधेसमा जनमत पार्टी निर्णायक दल हुने देखिएको छ । दुवै गठबन्धनले जनमत पार्टीसँग सरकार बनाउन छलफल पनि सुरु गरेको बताइन्छ ।

पछिल्लो राजनीतिक परिदृश्य हेर्दा मधेशमा एमाले, जसपा र जनमत पार्टीको सरकार बन्ने सम्भावना बढी देखिएको छ । तर, कांग्रेसका नेताहरु भने पाँच दलीय गठबन्धनकै सरकार बन्ने जिकिर गर्छन् ।

पाँच नयाँ दल संसदमा पुग्ने

प्रदेशसभामा यसपटक १० वटा दलको प्रतिनिधित्व हुने देखिएको छ । ०७४ को निर्वाचनमा ६ दलको मात्रै प्रतिनिधित्व थियो । यसपटक पाँच नयाँ दलको संसद्मा प्रवेश हुने भएको छ ।

नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी पहिलोपटक मधेस प्रदेशसभामा प्रवेश गर्ने भएका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  २१:३९
प्रतिक्रिया दिनुहोस्