site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
मोरङ–५ मा गठबन्धन र जसपाका उमेदवारलाई पछि पार्ने योगेन्द्र मण्डल को हुन् ?

विराटनगर । प्रतिनिधिसभा सदस्यतर्फ मोरङ निर्वाचन क्षेत्र नम्बर–५ मा स्वतन्त्र उमेदवार योगेन्द्र मण्डल (जोगीसर)को अग्रता कायम छ । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल भएपछि राजकुमार यादव उमेदवार बने ।

योगेन्द्रले निर्वाचनमा प्रतिस्पर्धा गर्ने सबै तयारी गरिसकेका थिए । तर, एमालेबाट टिकट पाएनन् । त्यसपछि उनले स्वतन्त्र उमेदवार बन्ने निधो गरे । उमेदवारी दिए । चुनाव चिह्न चापाकल लिएर प्रतिस्पर्धामा उत्रिए ।

यो क्षेत्रको अहिले मतगणना जारी छ । २० हजारभन्दा धेरै मतगणना भइसकेको छ । योगेन्द्रले सात हजार २३६ मत प्राप्त गरेका छन् ।

Argakhachi Cement Island Ad

सत्ता गठबन्धनका उमेदवार शिवकुमार मण्डलले चार हजार ८१३ र जसपाका यादवले चार हजार ५०७ मत ल्याएका छन् । योगेन्द्रले गठबन्धन र एमालेले समर्थन गरेका उमेदवारलाई कडा चुनौती दिइरहेका छन् ।

सामाजिक सेवाबाट राजनीतिमा आएका योगेन्द्रबारे अहिले आम रूपमा चासो बढेको छ ।

आखिर को हुन् योगेन्द्र मण्डल ?

दशकअघि उनी गरिबीका कारण विद्यालय नगएका बालबालिकालाई भेला गराएर गाउँमै निःशुल्क ट्युसन पढाउँथे । त्यही कामलाई निरन्तरता दिँदै जीवन विकास समाज नाम गैरसरकारी संस्था खोले । २७ वर्षअघिका तिनै योगेन्द्र अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैको ध्यान आफूतिर खिच्न सफल भएका हुन् ।

मोरङको साविक अमाही बरियाती गाविसमा वि.सं. २०५२ सालमा गाउँका दुई बालकलाई ट्युसन पढाएर जीवन विकासको अभियान सुरु भएको थियो । गाउँमा योगेन्द्रभन्दा पनि उनी जोगीसरकै उपनामले चिनिन्छन् । मतदातामाझ जाँदा पनि उनी त्यही नामले नै परिचित भए ।

योगेन्द्रको अगुवाइमा शिक्षा, स्वास्थ्य र कृषिमा गरिब परिवारलाई सहयोग गर्न जीवन विकास समाज संस्था स्थापना गरिएको थियो । समाजले २५ वर्षमा तीन लाखभन्दा बढी मानिसलाई आर्थिक रूपमा अघि बढ्न सहयोग गर्‍यो । सामाजिक अभियान सञ्चालन गर्‍यो ।

“त्यही ट्युसनको विकसित रूप हो, हालको १९ बिघा जमिनमा ठूलाठूला भवनमा रहेको जीवन विकास पब्लिक स्कुल । यहाँ एक हजार ५०० बढी विद्यार्थी अध्ययनरत छन्,” उनले भने, “मैले सकेको सहयोग समाजलाई गरेँ, अहिले मतदाताले मलाई गरिरहनुभएको छ । मैले कहिल्यै जागिर नखाई अभियानमा लागिरहेको छु ।”

अरूको खेतमा काम गरेर पेट पाल्ने परिवारका छोराछोरी पढ्न नपाएको देखेर सहकारीमार्फत गरिबी कम गर्ने र विद्यार्थीलाई पढाइको व्यवस्था मिलाउने उद्देश्यले २०५४ मा समाज दर्ता गरिएको थियो ।

योगेन्द्रका अनुसार अमाही बरियातीको सुकुम्बासी बस्तीका दुई दाजुभाइ शिवचरण र देवनारायण मण्डलका कारण जीवन विकास संस्था स्थापना गरिएको थियो । उनीहरू अहिले जीवन विकास लघुवित्तका शाखामा प्रमुखको जिम्मेवारीमा कार्यरत छन् । हाल समाजले चार पालिकाका ६ स्थानमा बाल विकास केन्द्र सञ्चालन गरिरहेको छ । त्यहाँ ५०० भन्दा बढी बालबालिका पढ्छन् । २२ किलोमिटर पूर्वको डाइनिया र १२ किलोमिटर पश्चिमको विराटनगरका विद्यार्थी पनि पढ्न पुग्छन् ।

त्यहाँ एक विद्यार्थीबाट अधिकतम वार्षिक दुई हजार रुपैयाँ मात्र शुल्क लिने गरिन्छ । समाजका सदस्यका छोराछोरीलाई शुल्कमा १० प्रतिशत छुट दिइन्छ । ९० प्रतिशत विद्यार्थीका अभिभावक समाजका सदस्य छन् ।

विद्यालय व्यवस्थित होस् भनेर समाजले १० करोड रुपैयाँको अक्षयकोष खडा गरेको छ । विद्यालय गुठीमार्फत सञ्चालन हुन्छ । विद्यार्थीको प्रयोगात्मक अभ्यासका क्रममा उत्पादित कृषि उपजबाट पनि विद्यालयले आम्दानी गरिरहेको छ ।

बालशिक्षाका लागि बेग्लै भवनमा अध्ययनरत बालबालिकालाई विद्यालयले पौष्टिक आहारसमेत उपलब्ध गराउँछ । समाजले गैरनाफामूलक सीटीईभीटीको तालिम कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

समाजलाई द अरब गल्फ प्रोग्राम फर डेभलपमेन्टले ‘क्वालिटी एजुकेसन फर अल’ पुरस्कारबाट सम्मानित गरिसकेको छ । तीन लाख अमेरिकी डलरको यो पुरस्कार सन् २०१८ मा संयुक्त राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा स्पेनकी महारानी सोफिया र साउदी अरबका राजकुमार तलाल विन अब्दुल अजिजले मण्डललाई प्रदान गरेका थिए । तीन करोड १० लाख रुपैयाँबराबरको उक्त रकममा त्यति नै थपेर कोष खडा गरिएको छ ।

विद्यालयहरूको शिक्षा सुधारमा एक करोड १० लाख रुपैयाँ खर्च गरिएको छ । ६ करोड रुपैयाँको अक्षय कोष बनाई त्यसको ब्याजबाट दिगो विकासका १७ वटा लक्ष्य राख्ने व्यक्ति वा संस्थालाई वार्षिक १५ लाख रुपैयाँको ‘दिगो विकासका निम्ति जीवन विकास पुरस्कार’ प्रदान गरिन्छ । यो वर्ष सो पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत वितरण गरिएको थियो ।

सन् २००५ मा समाजले नेपाल डेभलपमेन्ट मार्केट प्लेसको ‘लौन, अब त केही गरौँ’ शीर्षकको १४ लाख रुपैयाँ राशिको पुरस्कार पनि पाएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्