
विराटनगर । संघीय राजधानी काठमाडाैं, चितवन र कास्की तथा देशका अन्य जिल्लामा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको आकर्षण मोरङका निर्वाचन क्षेत्रहरूमा देखिएको छैन ।
मोरङका तीन निर्वाचन क्षेत्रमा सुरु गरिएको मत परिणामको प्रारम्भिक नतिजाले रास्वपा र लौरो चुनाव चिन्ह भएको हाम्रो नेपाल पार्टीलाई अपेक्षित मत खसेको देखिएको छैन ।
पार्टीले मोरङमा उमेदवारी दिएकामध्ये मोरङ क्षेत्र नम्बर ४ को अहिलेसम्मको परिणामअनुसार घण्टी चुनाव चिन्ह लिइ प्रतिनिधिसभा सदस्य पदमा उठेका नेत्रप्रसाद सिवकोटीले ७५ मत मात्र प्राप्त गरेका छन् ।
मतगणनास्थल आदर्श विद्यालयमा भेटिएका उनले प्रारम्भिक मतपरिणामले मोरङमा प्रत्यक्षतर्फ न्यून मत प्राप्त भएको बताए । उनले भने, “देशका अन्य भागमा प्रत्यक्षतर्फ राम्रो मत आएको छ । हामीलाई मोरङमा पनि समानुपातिकमा भने निकै राम्रो मत आउने अपेक्षा छ ।”
यही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ मा हाम्रो नेपाल पार्टीका नन्दकुमार सरदारले १८५ मत मात्र प्राप्त गरेका छन् । यो क्षेत्रमा गठबन्धनबाट कांग्रेसका गुरुराज घिमिरे र एमालेका जयप्रकाश चौधरीबीच प्रतिस्पर्धा चलिरहेको छ । घिमिरे एमाले उमेदवारभन्दा ५२२ मतले अगाडि छन् ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा पनि प्रतिनिधिसभातर्फ रास्वपाका उमेदवारले न्यून मत प्राप्त गरेका छन् । यो क्षेत्रमा यादवप्रसाद प्रधानले १९२ मत मात्र ल्याएका छन् । यहाँ कांग्रेसका डा. शेखर कोइराला र एमालेका लालबावु पण्डितबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ भने स्वतन्त्र उमेवदवार योगेन्द्र मण्डलले अग्रता लिइरहेका छन् । उनले गठबन्धन र जसपाका उमेदवार भन्दा एक हजार बढी मत ल्याएका छन् । योगेन्द्रले १५७२ मत ल्याउँदा माओवादी केन्द्रका शिवकुमार मण्डलले ५७६ मत प्राप्त गरेका छन् ।
मोरङको निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को प्रारम्भिक मतपरिणाम आइसकेकाे छैन ।