
विराटनगर । संविधानसभाको अनुभव सँगालेका नेपाली कांग्रेसका नेता अमृत अर्याल आसन्न निर्वाचनमा प्रदेशसभा सदस्य पदको उमेदवार बनेका छन् । उनी मोरङ निर्वाचन क्षेत्र नम्बर–५ ‘ख’बाट प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा सदस्यका लागि आकांक्षी भए पनि पाँचदलीय भागबन्डामा प्रदेशसभातर्फको टिकट पाएका हुन् ।
अर्याल अहिले चुनावी अभियान र मतदाताको घरदैलोमा व्यस्त छन् । उनलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ । उनी विजयी भए र प्रदेश नम्बर–१ मा कांग्रेसकै नेतृत्वमा सरकार बने अर्याल मुख्यमन्त्री हुने चर्चा छ ।
सोमबार विराटनगर महानगरपालिका–१५, बैंकरोड पुग्दा उनी मिनरल वाटरको बोतलमा भरिएको जीवनजल पिउँदै थिए । चिया पसलमा थोरै समस्य सुस्ताए । अनि, उत्तरतर्फतिरको टोलतिर अघि बढे । त्यहाँ मत मागिसकेपछि अर्याल गठबन्धनको चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्न जोगबनीनजिकै पुगे ।
“स्वास्थ्य अवस्था सुधार भएलगत्तै चुनावी अभियानमा सक्रिय भएको छु,” अर्यालले बाह्रखरीसँग भने, “चुनावका कार्यक्रमहरूमा मतदाता र सर्वसाधारणको राम्रो सहभागिता भइरहेको छ । मानिसमा राम्रो उत्साह देखेको छु ।”
उनी साताअघि धपेडी र नाकसम्बन्धी पुरानै समस्याबाट ग्रसित भएपछि अस्पतालमा भर्ना भएका थिए । चुनावी सभाहरूमा उनी एक सबल प्रदेश निर्माणमा आफ्नो अनुभवले काम गर्ने बताउँछन् ।
“म केन्द्रको राजनीतिमा जाने भन्नेजस्तो धेरैको सोचाइ थियो । तर, पार्टीलाई मलाई भावी मुख्यमन्त्रीको रूपमा प्रस्तुत गर्दै अघि बढाएपछि यता आएको हुँ,” उनले भने, “प्रदेशको दोस्रो कार्यकालमा धेरै काम गर्नुपर्ने छ । नामकरणको विषयलाई टुंगो लगाउनुपर्नेछ । म पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सक्षम छु ।”
मोरङ–५ मा सत्ता गठबन्धनको बलियो उपस्थिति र विगतका परिणामहरूका कारण समेत जित्न सहज हुने उनको बुझाइ छ ।
अर्यालका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का नेता जयराम यादवको चुनावी दौडाहा पनि उत्तिकै चलिरहेको छ । प्रदेश–१ का स्वास्थ्यमन्त्री समेत रहेका यादवले पनि एक कार्यकाल संविधानसभा सदस्य भई कार्य गरेको अनुभव सँगालेका छन् ।
जहदाको कार्यक्रममा मत माग्दै यादवले ठूला दलको दम्भले मात्र देश विकास हुन नसक्ने भन्दै जसपा लोकतान्त्रिक मूल्य–मान्यताअनुसार अघि बढेको बताए । “मैले एक कार्यकाल संघीय संसद् र एक कार्यकाल प्रदेशमा रहेर काम गरेको अनुभव सँगालेको छु,” यादव भन्छन्, “अब दोस्रो कार्यकाल प्रदेशलाई स्थापित गराई गणतन्त्र संस्थागत गर्न भूमिका निर्वाह गर्नेछु ।”
विगतको मतको लेखाजोखा
०७४ को वाम गठबन्धन (एमाले–माओवादी केन्द्र)ले मोरङ क्षेत्र नम्बर–५ मा २२ हजार ९४५ प्राप्त गरेको थियो । जसपा एक्लैले १८ हजार ६४९ मत ल्याएको थियो । अहिले नेकपा (एमाले)–जसपा मिल्दा मतसंख्या ३० हजार पुग्ने यादवको भनाइ छ । “हामीसँग भएको मत बचाउन सक्दा पनि हामीले नै जित निकाल्ने हो । हाम्रो जित सुनिश्चित छ । हामी कानमा तेल हालेर बसेका छैनौँ ।”
मोरङ–५ मा एक लाख ४६४ मतदाता छन् । मोरङ–५ ‘ख’मा मतदाताको संख्या ५३ हजार नौ छ ।
यस क्षेत्रमा विराटनगर महानगरपालिकाका ६ र जहदा गाउँपालिकाका पाँचवटा वडा समेटिएको छ । गएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले यहाँ १५ हजार १३७ मत प्राप्त गर्दा जसपा र एमालेले ५८५ कम अर्थात् १४ हजार ५५२ मत पाएका थिए । त्यति बेला कांग्रेसका वडाध्यक्षका उम्मेदवारले नौ हजार १६६, जसपाका वडाध्यक्षका उमेदवारले आठ हजार ३५०, एमालेका वडाध्यक्षका उमेदवारले ६ हजार २०२, माओवादी केन्द्रका वडाध्यक्षका उमेदवारले पाँच ३६३ र नेकपा (एकीकृत समाजवादी)का वडाध्यक्षका उमेदवारले ६०८ मत ल्याएका थिए ।