
विराटनगर । २०७४ को निर्वाचनमा वाम गठबन्धनका उमेदवार धेरैतिर विजयी हुँदा नेपका (माओवादी केन्द्र)का जीवन आचार्य भने पराजित भए । वाम लहरका बेला मोरङको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेशसभातर्फ उनी उमेदवार थिए ।
कांग्रेस जनाधार बलियो भएको यो क्षेत्रबाट प्रदेशमा कांग्रेसका चुमनारायण तवदार र केदार कार्की विजयी भएका थिए । आचार्य तवदारसँग पराजित भए । तर, यो पटकको चुनावी परिदृश्य भने अलि फरक देखिएको छ । आचार्यलाई पराजित गर्ने तवदार प्रतिनिधिसभामा समानुपातिक उमेदवार छन् भने कांग्रेस र माओवादी केन्द्र गठबन्धन गरी चुनावको एउटै मोर्चामा छन् ।
गठबन्धनले मोरङ ६(२) मा आचार्यलाई टिकट दिएको छ । उनी भन्छन्, “संयुक्त गठबन्धनको बलियो जनाधार अनि मैले विगतमा पनि यो क्षेत्रसँग सँधै जोडिएर गरेका निरन्तको काम अनि स्थानीयसँगको सामिप्यले पनि मेरो अवस्था राम्रो छ ।” आचार्य उमेदवार बनेपछि कांग्रेसका स्थानीय नेताले दिएको बागी उमेदवारीसमेत पार्टीकै पहलमा निस्किृय भइसकेको छ ।
कांग्रेस नेता तथा मोरङ ६ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार डा. शेखर कोइरालाको पहलमा आचार्यविरुद्ध उमेदवारी दिएका नवीन दाहालले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । कोइराला निवासमा गठबन्धनका नेताहरूको उपस्थितिमिा उनको उमेदवार निस्कृय हुने सहमित गरेसँगै आचार्यलाई राहत मिलेको छ । ‘अब कांग्रेस र गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न आफूले उमेदवारी फिर्ता लिएको’ दाहालले बताएका छन् ।
आचार्य नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाईं हुन् ।
आचार्यसँगको प्रतिस्पर्धामा एमालेकी रिता न्यौपाने चुनावी मैदानमा छिन् । बुढीगंगा निवासी न्यौपानेको मुख्य प्रतिस्पर्धी सोही पालिकाका बासिन्दा जीवन आचार्य हुन् । एउटा आम चुनावको अनुवभ संगालिसकेका आचार्य र नेकपा एमालेको विभिन्न जनवर्गीय संगठनहरूमा रहेर काम गरेकी न्यौपानेबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।
“म निरन्तर मोरङको राजनीतिमा सक्रिय छु, सँधै सामाजिक काममा पनि लागेको छु, यो हिसाबले पनि मलाई आम जनताले रुचाउनु भएको छ,” न्यौपानेले भनिन्, “प्रदेशसभा सदस्यतर्फ थोरै महिला नेतृहरू उमेदवार बनेको बेला म गठबन्धनको रट लगाई रहेका दलहरुसँग प्रतिस्पर्धा गर्दै छु ।” उनले महिला मतदाताहरुको समेत आफूलाई ठूलो समर्थन रहेको दाबी गरिन् ।
स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने मोरङको ६ नम्बर निर्वाचन क्षेत्रमा गठबन्धन बलियो अवस्थामा रहेको देखिन्छ । स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका वडाध्यक्षले २८ हजार ४२८ मत पाएका थिए । एमालेले २५ हजार २३६, माओवादी केन्द्रले ५ हजार ३५६, जसपाले ३ हजार ९३९, राप्रपाले ३ हजार ६८९ र एकीकृत समाजवादीले २ हजार ३६९ मत पाएका थिए । साना पार्टी र स्वतन्त्र उमेदवारको एकीकृत मत ५ हजार ७४१ रहेको छ । “त्यसबेलको गठबन्धनको समग्र मत परिणाम र अहिलेको माहोल नै मैले जित्ने दर्बिलो आधार हो,” आचार्यले भने ।