site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
‘हाम्रै मतले जितेर मन्त्री बन्छन्, तर बगाएको धानको क्षतिपूर्ति दिलाउन पहल गर्दैनन्’ 

हरिनगर (सुनसरी) । सुनसरीको दक्षिणपश्चिमी भारत सीमावर्ती क्षेत्र हरिनगर पुग्दा शनिबार सुखसेना वसन्तपुर टोलका केही मानिस चोकमा गफिएर बसेका थिए । बाँसमा विभिन्न राजनीतिक दलका झन्डा टाँगिएको थियो । तुल, ब्यानर र पर्चाले गाउँ नै रंगिएको देखिन्थ्यो ।

बाँसको टाटी र घरका बार्दलीमा फरक–फरक दलका झन्डा फहर्‍याइएको थियो । तर, निर्वाचनप्रति स्थानीयमा उत्साह देखिँदैन थियो ।

“चुनावका बेला गाउँ रंगीचंगी हुन्छ । उमेदवार आएर यो गर्छु त्यो गर्छु भन्दै आश्वासन दिन्छन् । मत लिन्छन्, जित्छन् अनि जान्छन्,” त्यही चोकमा भेटिएका दिनेशकुमार मेहताले भने, “अघिल्लो वर्ष बेमौसमी रूपमा सुनसरी खोलामा आएको बाढीले पाँच बिघा खेतको धान बगायो, नेताले बैंकमा खाता खोल्न र फाराम भर्न भने । तर, यत्तिका समय बित्यो न क्षतिपूर्ति पाइयो न त नेता नै फर्केर आए ।” जितेर गएका नेताले यो विषयको जवाफ नदिउञ्जेल आफूहरूले मत नदिने निर्णय गरेको उनले सुनाए ।

Argakhachi Cement Island Ad

हरिनगर गाउँपालिका–६ का मोहमत जमसेद पनि सुनसरी खोलापीडित हुन् । ६ बिघा खेतको धान बाढीले सोत्तर बनाइदियो । त्यो वर्ष धानको एक दानो घर भित्र्याउन नपाएको पीडा सम्झँदै उनले भने, “पीडित किसानलाई बाढीबाट भएको क्षति पर्ताल गरिदिने भन्दै स्थानीय पालिकामा नेतृत्व गर्ने र माथि जितेर गएका नेताले पनि भन्नुभयो । तर, हाम्रो हात रित्ताको रित्तै भयो ।”

गाउँमा आफूजस्ता धेरै किसानले अहिले निर्वाचनका लागि मत माग्न आउनेहरूलाई ‘बाढीपीडित किसानलाई दिने भनिएको क्षतिपूर्ति किन नदिएको ?’ भन्दै प्रश्न गरिरहेको उनी बताउँछन् ।

ekwqfmkdmg1668270072.jpg

हरिनगर गाउँपालिका भारतसितको सीमामा पर्छ । मलखादका लागि धेरै किसानले भारतीय बजारको भर पर्नुपर्छ ।

स्थानीय दिनेशकुमार मेतहताले बाढी आउँदा गाडी र हेलिकोप्टर चढेर हेर्न आउने नेताले कहिल्यै किसानका बारेमा नसोचेको गुनासो गरे । “यता नेपालको सरकारले हामीलाई खेतमा हाल्ने मल दिँदैन,” उनले भने, “पारिबाट साइकलमा राखेर ल्यायो, प्रहरीले समाएर दुःख दिन्छ, के गर्नु ?”

कांग्रेस र एमालेका मन्त्रीप्रति बढी आक्रोश
किसानसँग कुराकानी गरिरहँदा केही उत्तरतर्फ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सुनसरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार समेत रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको चुनावी सभा चलिरहेको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गफार अन्सारी भाषण गरिरहेका थिए ।

मैथिली भाषामा उनले किसानका सबै समस्या स्थानीय र संघीय सरकारले समाधान गर्ने बताए । गफारले भने, “हामीले जितेर आएपछि धेरै काम गरेका छौँ । सडक पिच बनेका छन् । अब सिँचाइको लागि बिजुलीबाट पानी तान्ने पम्पको व्यवस्था गर्दै छौँ ।”

कार्यक्रमकै दौरान पत्रकारसँग कुराकानी गर्दै सञ्चारमन्त्री कार्कीले सुनसरीमा आफू चुनावमा उठेयता १० अर्ब रुपैयाँभन्दा बढी बजेटबराबरको काम भएको जिकिर गरे । उनले भने, “ग्रामीण र पिछडिएको अवस्थामा रहेको क्षेत्रमा हामी आएपछि धेरै नै काम भएको छ ।” कार्कीले चुनावी सभाहरूमा आफूले गरेका कामको फेहरिस्त सुनाउने गरेका छन् ।

qasjdgn1668270153.jpg

यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उमेदवार रहेका नेकपा (एमाले)का नेता जगदीश कुसियैतप्रति पनि स्थानीय निकै आक्रोशित देखिन्थे । घुस्कीमा चुनावी सभामा सहभागी भएका कुसियैतले प्रदेश सरकारमा रहँदा आफूले क्षेत्रको विकासका लागि निकै काम गरेको जिकिर गरे ।

“म यहीँको माटोबाट उठेको नेता भएकोले पनि स्थानीयको समस्या बुझेको छु । धेरै काम गरेको छु अनि स्थानीयको दुःखसुखमा पनि ध्यान दिएको छु,” कुसियैतले भने ।

प्रदेशको वन, वातावरण, पर्यटन तथा उद्योगमन्त्री भएर पनि उनले जनताले देख्ने गरी काम गर्न नसकेको स्थानीयको गुनासो छ । स्थानीय दिनेशकुमार मेहताले भने, “हामीले जिताएर पठाएका नेता केन्द्र र प्रदेश दुवैतिर मन्त्री त बने, तर हाम्रो अवस्था उस्तै छ ।”

अघिल्लोपटक यो क्षेत्रबाट निर्वाचित भएका कांग्रेसका कार्की र कुसियैतबीच योपटक प्रतिनिधिसभा सदस्य पदमा प्रतिस्पर्धा हुँदै छ । कार्कीले भने, “मैले अब सुनसरीलाई राम्रोसँग बुझेको छु । मंसिर ७ गतेसम्म निर्वाचनको परिणाम आइसक्छ । म ठूलो मतान्तरले विजयी हुँदै छु ।”

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  ०६:१८
प्रतिक्रिया दिनुहोस्