
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता महेश आचार्य टिकटका बलिया दाबेदार थिए । तर, गठबन्धनका कारण यो क्षेत्र नेकपा (माओवादी केन्द्र) को भागमा पर्यो ।
अहिले यस क्षेत्रबाट टिकट पाएका माओवादी केन्द्रका अमनलाल मोदी चुनावी अभियानमा छन् । मोदी तिनै नेता हुन्, जसले ०७४ को निर्वाचनमा आचार्यलाई पराजित गरेका थिए । अहिले उनले आचार्यलाई आफू अगाडि लगाएर मत मागिरहेका छन् ।
यही क्षेत्रमा प्रदेशसभा तर्फ ४ (१) मा कांग्रेसका गुरुराज घिमिरे र ४ (२) मा भीम पराजुली उठेका छन् । पार्टीको आन्तरिक प्रतिस्पर्धामा दुवै उमेदवार आचार्यका आलोचक र असहयोगी थिए । अघिल्लो चुनावमा ‘आचार्यविरुद्ध गतिविधि गरेको’ आरोपसमेत थियो । तर, आसन्न निर्वाचनमा भने कांग्रेसका यी दुवै युवा नेताको चुनावी कार्यक्रमको प्रमुख आकर्षण नै आचार्य बनिरहेका छन् ।
आचार्यको सहयोगविना चुनाव कठिन हुने बुझेरै पराजुलीले उनको सहायत खोजे । पराजुलीको आग्रहलाई आचार्यले सहर्ष स्वीकार गरे ।
अहिले आचार्य गठबन्धनका चुनावी सभाहरूमा सहभागी भइरहेका छन् । आचार्यले निस्वार्थ र निसर्त रूपमा सहयोग गरिरहेको प्रतिनिधिसभा उमेदवार मोदी बताउँछन् ।
शुक्रबार विराटनगरको मानगढ चौकमा आयोजित चुनावी सभामा आचार्यले कांग्रेसभित्र आन्तरिक समस्या भएको स्वीकारे । तर, चुनावको मुखमा पार्टीको समस्या उधिन्न नहुने उनले बताए ।
‘सबै बिर्सिएर गठबन्धनलाई मतदान गर्न’ आह्वान गर्दै उनले राजनीतिमा ‘विनयशील र क्षमाशील’को आवश्यकता बढेको बताए ।
“पार्टीभित्रै पनि मतभिन्नता र आन्तरिक प्रतिस्पर्धा हुन्छ । त्यतिबेला भएका घटना अब सबै बिर्सनुपर्छ । राजनीतिक प्रतिस्पर्धा अनि देश निर्माणको बेला ठुलो हतियार भनेको विनयशीलता र क्षमाशीलता हो । सबै गल्तीहरूलाई माफ गर्न सक्ने, आफूलाई परेको पीडालाई समेत क्षमा गर्न सक्ने र त्यसबाट समेत माथि उठ्न सक्ने राजनीतिक संस्कारले मात्र असल लोकतन्त्रवादी र प्रजातन्त्रवादी बनाउन सक्छ,” आचार्यले भने ।
लोकतन्त्र र राष्ट्रियता दह्रो बनाउन देशप्रति समर्पण र पार्टी पद्धतिप्रति निष्ठा चाहिने भन्दै उनले त्यसका लागि उदारता महत्त्वपूर्ण हुने बताए । आचार्यले पार्टीको महाधिवेशनमा नेता चयन गर्ने, मन पर्ने नेतालाई मतदान गर्ने, प्रस्तिपर्धा हुनुलाई स्वाभाविक भएको बताए । उनले पार्टीका स–साना मतान्तरबाट माथि उठेर आफ्नै साथीहरूलाई आघात पुग्ने काम नगर्न कार्यकर्तालाई आग्रह गरे ।
अर्को प्रसंगमा उनले तत्काली केपी ओली नेतृत्वको सरकार भ्रष्टाचार र कमिसनखोरीको मुद्दाबाट हेर्दा पनि असफल भएको आरोप लगाए । उनले राष्ट्रिय आवश्यकताका कारण कांग्रेसको नेतृत्वमा सरकार बनेको पनि बताए ।
“खरिद गर्नुपर्ने खोपमा पनि भ्रष्टाचार गर्ने र कूकर्म गर्ने दाउमा लागेको देखियो । दुई तिहाइको सरकार जोगाउन सकेन । बित्थामा महत्त्वपूर्ण समय बित्यो । राष्ट्रिय आवश्यकताअनुरूप कांग्रेस नेतृत्वको सरकार बन्यो," उनले ।
अहिलेको सत्ता गठबन्धन चुनाव र तालमेलको सरकार बनाउने प्रयोजनका लागि मात्र नभएको उनको भनाइ छ ।
‘जय नेपाल’ को नाराबाट बोल्न सुरु गरेका माओवादी केन्द्रका अमनलाल मोदीले आफ्नो दयाँ र बायाँ काँध कांग्रेसका भीम र गुरुराज भएको बताए ।
“पहिले फरक परिस्थितिबाट उठेको थिएँ । यसपटक हामी सबै सँगै छौँ । त्यसैले लोकतन्त्र रक्षाका खातिर पनि गठबन्धनलाई जिताउन आवश्यक छ,” मोदीले भने, “महेश आचार्यजस्तो विद्वान र देश बुझेको नेता साथै लिएर चुनावी अभियानमा हिँड्न पाउँदा म गौरव महसुस गरिहेको छु ।”
चुनावी कार्यक्रममा सहभागी भएर आचार्यले गठबन्धनका लागि मत मागिरहँदा सकारात्मक ऊर्जा र सन्देश मिलेको मोदीले बताए ।
प्रदेशसभा सदस्य पदका उमेदवार पराजुलीले आचार्य चुनावी कार्यक्रममा सहभागी मात्र हुँदा ‘राजनीतिक ऊर्जा बढेको’ बताए । “महेश दाइको विचार सधैँ प्रखर हुन्छ । राजनीतिमा उहाँले मेरो उमेरभन्दा धेरै योगदान गर्नुभएको छ । संघर्ष गर्नुभएको छ । यसको मूल्यांकन जनस्तरबाट सधैँ भएको छ,” उनले भने ।