site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
प्रकाशमानलाई पछ्याउँदा : गुनासोभित्र प्रधानमन्त्रीको आश्वासन 

अनामनगर । अनामनगर–काठमाडौं महानगरपालिका वडा नम्बर २९, निर्वाचन क्षेत्र नम्बर १ ।  यहाँ सत्तारूढ गठबन्धनबाट उमेदवार छन् कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह । 

बाह्रखरीले अन्य निर्वाचन क्षेत्रजस्तै बुधबार उनै प्रकाशमानको निर्वाचन क्षेत्रमा उनको चुनावी र्‍यालीलाई करिब तीन घण्टा पछ्यायो । 

बिहान ७ः३० बजेको छ । अनामनगरस्थित भाटभटेनी पछाडिको एक रेष्टुरेन्टमा कांग्रेस र गठबन्धनका नेता कार्यकर्ता उभिएका छन् । सामान्य चिया नास्ता गरेपछि प्रकाशमानको घरदैलो सुरु भयो । बाह्रखरीले पछ्यायो ।

Argakhachi Cement Island Ad

प्रचार गर्दै र्‍याली मदन भण्डारी कलेज नजिकैको करिडोर पुलमा पुग्यो । पुल बनेको धेरै समय भएको छैन ।

पुलपारीबाट एक महिला मतदाता आइन् र आफू कांग्रेसको मतदाता भएको सिंहसँग सुनाइन् । प्रकाशमानले यसपटक पनि भोट दिनुपर्छ है भनेपछि महिला मतदाताले गुनासोको पोको फुकाइन् । 

“एकपटक हेर्नुस् त सर हजुरले, यो बाटो कहिले पिच गर्ने ?,” उनले प्रश्न गरिन् ।

केही समयअघि बनेको पुल वारिपारि बाटो पिच भएको छैन । पानी पर्दा हिलो र नपर्दा धुलोको सास्ती । बिग्रेको बाटो, बिहान साँझ अचाक्ली सवारी जाम । बाटो नबनेका कारण पूल पूर्ण सञ्चालनमा आउन सकेको छैन ।

महिलाको प्रश्नसँगै प्रकाशमान भर्खर पूल बनेको छ बाटो पनि बन्छ भन्दै अलि अगाडि रहेको कार्यकर्ताको घरमा गए । सम्मानमा टीका, खादा र माला पाए । केही चकलेट पनि, जुन सहयोगीको हातमा थमाए । 

तर, गुनासो गर्ने महिला रोकिने मुडमा थिइनन् । उनले पुनः सोही कुरा दोहोर्‍याइरहिन् । अनि पूल पारि गएर बाटो हेर्न अनुरोध गरिन् । तर, प्रचार टोलीका सदस्यहरूले भोलि भोट माग्न त्यतै आउने र भोलि नै कुरा गर्ने भन्दै प्रकाशमानलाई तानेर अर्को गल्लीतिर छिराए । 

prakashman41668081827.jpg

प्रकाशमान बोल्न चाहेको देखिन्थ्यो तर, उनलाई रोकेर कार्यकर्ताले जवाफ फर्काइदिए– दाइकै निर्देशनमा यो पुल बनेको हो । अब पिच हुन्छ । तैपनि, ती महिला रोकिने सुरमा थिइनन् । 

बाह्रखरीले ती महिलाको गुनासो सुन्यो । उनको नाम गंगा केसी रहेछ । पुल पारि उनको पसल थियो । त्यसभन्दा उतापट्टी उनको घर रहेको बताइन् । 

महिलाले सोधिन्, “हामीले यही सास्ती खेप्न हो यहाँहरूलाई जिताएको ? जनताको गुनासो सन्नुपर्दैैन ? गुनासो सुन्नलाई त यस्तो गाह्रो छ । यही क्षेत्रबाट निरन्तर जित्ने, जनता कुन अवस्थामा छन् हेर्नुपर्दैन ? यो त अचाक्ली भएन ?” 

उनले यति भन्दा उमेदवारहरू त्यहाँबाट अघि बढिसकेका थिए । महिलाले थपिन्, “यस्तो बाटो छ हामी कसरी बसेका छौँ । यो पुलको बाटोले गर्दा हामी दमको रोगी भइसक्यौँ । उहाँहरूले गुनासै सुन्नुहुन्न भने भोट कसरी दिने ?”

पहिले पिच भएको बाटो पुलका लागि भत्काएको र अझै नबनाएकोमा उनको गुनासो थियो । 

मिडियामा आफ्ना गुनासा राख्दा धम्की आउने गरेको उनले बताइन् । 

“यहाँ केहीले बोल्न दिँदैनन् । मिडियामा बोल्दा धम्की आउँछ । पसल राखेको छु । यस्तो बाटो अघि हामीले कसरी भाडा तिर्ने ? जनताको गुनासो सुन्न नसक्ने नेताले भोट माग्न लाज लाग्दैन ?,” उनले आक्रोश पोखिन्, “नेपालको प्रशासन सिंहदरबार २०० मिटर पर छ । यहाँको बाटोको अवस्था हेर्नुस् त । यति कुरा सुनिदिनुस् भन्दा हतार छ रे ! त्यस्तो पनि भन्ने हो त ? ५ करोड बजेटको पुल रे ! नेतालाई सुन्ने फुर्सद छैन । उनीहरूको एक कल फोन होइन ?”

प्रकाशमानको र्‍याली अघि बढ्दै गयो । बाटोमा कार्यकर्ताहरूको जमात निकै ठूलो थियो । सिंहसँगै थिए प्रदेशसभा सदस्यका उमेदवार दिपेन्द्र श्रेष्ठ । 

श्रेष्ठ अहिले पनि वाग्मती प्रदेश सरकारमा पर्यटनमन्त्री छन् । निर्वाचन प्रचारभर श्रेष्ठनै सक्रिय देखिए । 

प्रकाशमानलाई घुमाउनेदेखि मतदाताहरूसँग चिनाउने र चर्को आवाजमा घरभित्रका मानिसहरू बोलाउने काम उनले गरिरहे । 

prakashman71668081829.jpg

सँगै पछिपछि हिँडेका थिए माओवादीका समानुपातिक उमेदवार अनिल शर्मा । उनी अर्थमन्त्री जर्नादन शर्माको सहोदर भाइ हुन् । 

‘दाइ जय नेपाल’ एक मतदाताको आवाज सुनियो । 

‘ए के छ’ –प्रकाशमानले भने । सँगै रहेका दिपेन्द्रले प्रकाशमानलाई भोट माग्न लागेको घर साथीको काकाको घर भएको जानकारी दिए । ‘काकाहरू बाहिर जानुभएको छ’ दिपेन्द्रको साथी मिलनले जवाफ दिए । 

“मिलनजी, विशेष हेर्नुपर्‍यो है,” यसो भन्दै टोली अघि बढ्यो ।  अलि अघि बढेपछि पत्रकार विष्णु निष्ठुरीको घरमा पुग्यो । 
निष्ठुरीले फूलमालाले स्वागत गर्दै विजयको शुभकामना टक्र्याए । अनि सामूहिक फोटो खिच्ने काम भयो ।

निष्ठुरीको घरबाट निस्कँदै प्रकाशमानले आफू बारम्बार मतदाताको घरघरमा फर्किएर आउने कार्यकर्तामाझ बताए । 

“यसरी त भएन । एक वर्ष लगाएर टोल घुम्न आउँछु , सबैलाई भेट्छु, दुःख सुखका कुराहरू बुझ्छु,” उनी यसो भन्दै अघि बढे र टोली जगतबहादुर केसीको घरमा पुग्यो । केसी पूर्वाञ्चल विश्वविद्यालयको पूर्वउपकुलपति हुन् । 

“नमस्कार हजुर हामी आयौँ । भोट माग्न आयौँ,” प्रकाशमानले भने ।  जवाफमा केसीले मुस्कानसहित नमस्कार फर्काएसँगै उनी त्यहाँबाट बिदा भए । 

सँगै रहेका दिपेन्द्रले ‘यहाँ नम्बर छ केही परे पछि फोन पाऊँ है’ मात्र भनेनन् ‘उहाँ राष्ट्रिय नेता हो । भावी प्रधानमन्त्री हो, भोट चाहिँ रुखमा हालौँ है हजूर’ भनी अपिल गरे । प्रकाशमान प्रफुल्लित मुद्रामा हात नजोड्दै हजुर हजुर भन्दै अघि बढिरहे । 

वाम–लोकतान्त्रिक गठबन्धनको र्‍याली उत्साहित हुँदै अघि बढिरह्यो । 

भेटिएका कतिपय मानिसहरूले आफू यहाँको मतदाता नभएपनि प्रकाशमानको पक्षमा माहोल बनाइदिने वाचा गर्न छाडेनन् । यति गर्दा एक घण्टा बितिसकेको थियो । 

दिपेन्द्रले प्रकाशमानलाई बेलाबखत कानेखुसी गर्दै टोलको विषयमा अपडेट गराइरहे ।

प्रकाशमानले मतदातालाई प्रायः व्यक्तिगत रूपमै भेटे । कतै घरभित्रै पुगेर त कतै पर्खेर भएपनि भेटे । 

संभव नभएको र अग्ला घरहरूमा तलैबाट हात जोड्दै हिँडिरहे । दिपेन्द्रले चर्को स्वरमा ‘रूखमा भोट हालौँ है हजुर । हामी आयौँ हैं’ भनिरहे । 

सुकुम्बासी क्षेत्रको समस्या र प्रकाशमानको आश्वासन 

प्रकाशमानको क्षेत्रमा ऐलानी जग्गामा बसेका मानिसहरूको समस्या पनि रहेछ । युनियन हाउस पछाडि रहेको ऐलानी बस्तीमा प्रकाशमान पसे । 

“बुवा नमस्कार । हामीलाई यहाँको समस्या थाहा छ । काम हुन थालेको छ चुनावपछि सबै समस्या समाधान गर्छौँ, भोट हाल्नुहोस् है,” प्रकाशमानले आश्वासन दिँदै भोट मागे । 

एक मतदाताले यहाँ समस्या रहेको र विकासका लागि काम गर्नुहोला भन्दै अनुरोध गरे ।

“दाई र म यो क्षेत्रका लागि काम गरिरहेका छौँ । मैले मन्त्रालयबाट बजेट हालेको छु, अझै धेरै हामी काम गर्छौँ । एकपटक अवसर दिनुहोस्,” दिपेन्द्रले अनुरोध गरे । 

उक्त गल्लीबाट निस्केर प्रचार अघि बढ्यो । पसल सञ्चालन गरिरहेका तिबिन्द्रप्रसाद खतिवडाले आफ्नो ऐलानी जग्गाको समस्या सुल्झाइदिन अनुरोध गरे । 

‘हामीलाई सेटल गरिदिनुहोस्, समस्या समाधान गरिदिनुहोस्’ खतिवडाले अनुरोध गरे । 

‘आयोग बनेको छ । चुनावपछि प्रतिवेदन आउँछ । समस्या समाधान हुन्छ, ढुक्क भएर भोट हाल्नुस्’ प्रकाशमानले भनेपछि खतिवडाले टाउको मात्र हल्लाए । प्रकाशमान अघि बढे ।

उनी अलि पर पुगेपछि पछाडिबाट आवाज आयो ‘सबै गफै त हो नि ।’

घरदैलो अभियानकै क्रममा बाह्रखरीसँग कुरा गर्दै सिंहले अब आफू उपप्रधानमन्त्रीभन्दा माथिल्लो पदमा जाने तयारीमा रहेको बताए ।

प्रस्तुत छ, बाह्रखरीसँग नेता सिंहले गरेको कुराकानी :

गठबन्धनका उमेदवारका रूपमा घरदैलोमा हुनुहुन्छ । माहोल कस्तो पाइरहनुभएको छ ? 

विगतको निर्वाचनभन्दा माहोल अत्यन्तै उत्साहजनक छ । सकारात्मक भनेको किनभने गल्लीगल्लीमा ढुंगा छाप्नेदेखि लिएर बाटोलाई राम्रो अवस्थामा पुर्याएका छौँ । 

टोलसुधार समितिसँग अन्तरसम्बन्ध भएकाले समस्या हुँदा खबर गर्नुहुन्छ । स्थानीयसँग बसेर समस्या समाधान गर्ने गरेकाले रेसपोन्स राम्रो छ । 

यो क्षेत्रबाट लगातार निर्वाचित भइरहुनुभएको छ । सम्झनलायक के काम गर्नुभयो र तपाईंको उमेदवारी भन्ने प्रश्न उठेको छ नि ? 

संविधानसभाबाट नेपालको संविधान जारी भयो । संविधान जारी गर्नु त नेपालको लागि धेरै ठूलो कुरा हो । 

त्यसमा कांग्रेसकै नेतृत्वमा तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा म पनि उपप्रधानमन्त्री थिएँ । 

संविधान जारी गरेँ । दुई कार्यलकाल त संविधान लेखनमा नै समय गयो । 

संविधान जारी गरेपछिको निर्वाचनमा कांग्रेसले म्यान्डेट पाएन । तेस्रो पटक त संविधान जोगाउनमा नै गयो । 

अब जसरी दोस्रो संविधानसभामा कांग्रेसले जिम्मेवारी पाएपछि संविधान जारी गर्‍यो, अबको निर्वाचनबाट कांग्रेसले म्यान्डेट पायो भने आफैले जारी गरेको संविधानको पालना गर्न आवश्यक संघीय कानुन बनाउँछ । 

prakshman61668081830.jpg

संघीयता र केन्द्रीकृत एकात्मक व्यवस्थाको अन्तर के हो भने स्थानीय सरकारले पनि आफ्नो अधिकार पूरा लिएर काम गर्दा सेवामा कतिको फरक पर्छ ? 

प्रदेश सरकारले अधिकार पाएर काम गर्दा कतिको कतिको पफमेन्स हुन्छ । तीनै तहको सरकार कार्यान्वयनमा जानुपर्छ भन्ने हाम्रो कुरा हो । 

गठबन्धनबाट चुनावमा जानुभएको छ । कतिको सहज छ चुनावमा ? 

गठबन्धन परिस्थितिले जन्माएको हो । संविधानको रक्षा गर्नका लागि पाँच दलीय गठबन्धन बनेको छ ।  संविधानको रक्षा गर्नका लागि हामी सबै छौँ । 

संविधान जारी हुँदा पनि त हामी सबैलाई दलको प्रतिनिधित्व गराएर साझा डकुमेन्ट बनाएका हौँ नि त ।  बढीभन्दा बढी दललाई समेटेर कार्यान्वयन गराउन चाहन्छौँ । 

संविधानको रक्षा भन्दा पनि सत्तामा पुग्नका लागि गठबन्धन गरेको हो भन्ने आरोप लागेको छ नि । 

अहिले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार छ । यही गठबन्धन चुनावी मैदानमा छौँ ।  यो गठबन्धन मिलाएर लानै सक्दैनन् भन्ने थियो । सबैको ‘विन विन सिचुएसन’ नै छ । 

भोलिका दिनमा पनि संविधान कार्यान्वयन गर्न त्यो स्प्रिटअनुसार अघि बढ्छौँ । शान्ति प्रक्रिया प्रारम्भ भएपछि तार्किक निष्कर्षमा पुर्‍याउन टीआरसीको टुंगो गर्नुपर्‍यो नि । 

स्थानीय निर्वाचनमा गठबन्धन गर्दा पनि काठमाडौंमा सकारात्मक परिणाम आएन । 

अहिले गठबन्धन कार्यान्वयन हुनेमा काठमाडौं महानगरपालिकामा मेजरिटी हाम्रै छ । स्थानीय निर्वाचन र प्रतिनिधिसभाको काम नै फरक छ नि । 

अब तपाईंको टार्गेट के हो ? 

राजनीतिमा सक्रिय भइरहँदा माथिल्लो पदमा पुग्ने अपेक्षा सबैको हुन्छ नि त । 

ममात्रै अपवाद छु भन्न सक्दिन । म त ग्रासरूटबाट आएर पार्टीमा उपसभापति, सरकारको उपप्रधानमन्त्री भइसकेँ । यो महाधिवेशनमा पनि नेतृत्वका लागि लडेको थिएँ ।  

अब प्रधानमन्त्रीमा अटेम्ट गर्ने हो ? 

मैले संविधान जारी भइसकेपछिको निर्वाचन जितेर संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेँ कि गरिन ? गरेको थिएँ । 

पहिले सांसद हुनुपर्‍यो । देशभरबाट जितेर आएका कांग्रेसका सांसदहरूको बैठक बस्छ त्यसपछि निर्धारण हुन्छ भन्नेमा विश्वास गर्छु । माथि जान्छु नै । 

गठबन्धनले स्थिर सरकार दिन्छ ? 

झन्डै दुई तिहाइ बहुमत प्राप्त सरकारले नाराबाहेक स्थिरता दिन सकेन ।  हामीले स्थानीय निर्वाचन गराइसक्यौँ । संविधानलाई ट्र्याक बसाल्न आम निर्वाचन गर्दैछौँ । 

संविधानलाई जीवन्त राख्न गरिरहेका छौँ । हामी त्यहीअनुसार गर्दै जान्छौँ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्