site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
मोरङका युवा मतदाता भन्छन्- जनताको भावना बुझ्ने उमेदवारलाई मत दिन्छौँ 

विराटनगर । विराटनगर ६ का राहुल सिंह पहिलो पटक मत खसाल्ने योजनामा छन् । मतदाता नामावलीमा आफ्नो नाम सेटिएपछि नयाँ मतदाताका रूपमा उनीसँग मत माग्न धेरै उमेदवार पुगिसकेका छन् ।

मत माग्ने र आफ्ना एजेन्डा बताउने नेतासँगको भेटमा सिंहले विकासका अवधारणाबारे मतदातासँग प्रशस्तै प्रश्न सोध्ने गरेका छन् । “खास योजना र एजेन्डा के हो भन्ने विषयमा मैले सोध्ने गरेको छु,” सिंह भन्छन्, “धेरै सोचविचार गरेर मात्र मत हाल्ने योजना बनाएको छु । खासगरी युवाको लागि काम गर्ने उमेदवारको खोजीमा छु ।”

मुलुक निर्वाचनमय भएको बेला प्रतिनिधि र प्रदेशसभा सदस्यका उमेदवार गाउँटोलमा मत माग्न घरदैलो गरिरहेका छन् । दलले गर्ने भनी प्रतिबद्धता जनाएका घोषणापत्र बोकेर उनीहरू घरदैलोमा दौडिरहेका छन् ।

Argakhachi Cement Island Ad

मतदाता आकर्षित गर्ने तयारीसाथ आइरहेका उमेदवारलाई मोरङको सुनवर्षी नगरपालिका अमरदहकी १९ वर्षीय सलमा खातुनले हाकाहाकी आफ्ना जिज्ञासा राखिन् । खातुन भन्छिन्, “मंसिर ४ गतेको निर्वाचनमा म पार्टीभन्दा पनि व्यक्ति र उसले गर्न सक्ने कामको सूची हेरेर मत हाल्ने पक्षमा छु ।”

स्थानीय तहमा जनप्रतिनिधि आएपनि स्रोतको अधिकतम उपयोग गर्नेभन्दा पनि धेरै दुरुपयोग गर्ने गरेको आफूले देखेको उनले सुनाइन् । “त्यसैले म प्रतिनिधि र प्रदेशसभाका असल उमेदवारको खोजीमा छु,” खातुनले सुनाइन् । 

मोरङका धेरै युवाको समूह गतिशील राजनीतिज्ञको पक्षमा रहेको सुनाउँछन् । यस्तै सोच राख्नेमध्येका एक हुन् विराटनगरका मुकेश कामत । पहिलोपटक मताधिकार प्रयोग गर्ने तयारीमा रहेका उनी अध्ययनशील, युवा जोसजाँगर र सबल नेतृत्वको पक्षमा मत हाल्ने बताउँछन् ।

“पार्टीगत स्वार्थ, व्यक्तिगत लाभहानि र आसेपासेको घेराबाट बाहिर उठ्न सक्ने उमेदवार नै मेरो रोजाइ हुनेछ,” उनले भने । 

बिराटनगर ८ की २१ वर्षीया रमा भट्टराई नयाँ र पुराना उमेदवारको बीचमा निकै ठूलो भिन्नता भएको बताउँछिन् । भन्छिन्, “विराटनगरकै कुरा गर्ने हो भने विगतको साखलाई जोगाउँदै नयाँ विराटनगरको योजनालाई मूर्त रूप दिने उमेदवार मेरो नगरमा हुनेछन् ।”

भट्टराईले पुराना राजनीतिक दलले आफ्नो परम्परागत चुनावी शैलीलाई अझै परिवर्तन गर्न नसकेको बताइन् ।

सुजित कामत युवालाई भाषणमा मात्र प्रयोग गर्ने तर युवा लक्षित कार्यक्रम नल्याउने नेताले काम गर्न नसक्ने ठोकुवा गर्छन् । राजनीतिलाई फोहोरी खेलमात्र भनेर आफूहरू जस्ता युवा पन्छिन नमिल्ने तर्क गर्दै भन्छन्, “अब राजनीतिलाई नयाँ सोचसाथ परिवर्तन गर्नुपर्छ । काम गर्न नसक्ने, नेतृत्व लिन नसक्ने र उही नारा–मुद्दा दोहोर्‍याउनेलाई म मत हाल्ने पक्षमा छैन ।”

निर्वाचनका बेला तामझाम गरेर आउने त्यसपछि जनताका समस्यालाई त्यसै अलपत्र पारेर जाने उमेदवारलाई मत दिन नसक्ने कामतले बताए ।

चुनावअघि विकासका आश्वासन र वाचैवाचा गर्ने उमेदवार त्यसपछि आफ्नै तालमा रमाउने परिपाटीका कारण पनि धेरै सर्वसाधारणमा राजनीतिप्रति नै निरासा छाउने गरेको अर्की मतदाता सीमा श्रेष्ठले बताइन् । भनिन्, “गर्नसक्ने कामको मात्र वाचा गर्नुपर्छ, गर्न नसक्ने कामको विषयमा बोल्नु नै हुँदैन ।”

निर्वाचन आयोगका अनुसार मोरङ सबैभन्दा धेरै मतदाता भएको जिल्ला हो । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष तीन लाख ६३ हजार चारसय ४८, महिला तीन लाख ५१ हजार सातसय ६९ र छ अन्य गरी सात लाख १५ हजार दुई सय २३ मतदाता छन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्