site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीन पूर्वमन्त्रीबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

जनकपुरधाम । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा तीन पूर्वमन्त्री उमेदवार छन् । 

यहाँ दुवै गठबन्धनले सहमति गर्न नसक्दा प्रमुख चार दलका उमेदवार प्रतिनिधिसभाको लागि प्रतिस्पर्धामा छन् । अन्तिम समयमा नेकपा एमाले–जनता समाजवादी पार्टी (जसपा)बीच पनि गठबन्धन हुने सकेन । 

पाँच दलीय गठबन्धनमा पनि दुई दलको दाबीका कारण सहमति हुुन नसकेपछि कांग्रेसले तीन दलबीच तालमेल गरी गठबन्धनको एकीकृत समाजवादीसँग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । 

Argakhachi Cement Island Ad

कांग्रेसले प्रदेशसभामा एक सिट लोसपा र एक सिट माओवादीलाई दिएर तालमेल गरेको छ । कांग्रेस, लोसपा र नेकपा माओवादी केन्द्रको गठबन्धनले यहाँ प्रतिनिधिसभातर्फ कांग्रेसका पूर्वमन्त्री रामकृष्ण यादवलाई उमेदवार बनाएको छ ।

प्रदेशसभातर्फ ‘क’मा लोसपाका सञ्जय साह र ‘ख’ मा माओवादी केन्द्रका श्याम यादव उमेदवार छन् । 

प्रतिनिधिसभाका उमेदवार यादवले ०६४ र ०७० मा संविधानसभाको चुनाव जितेका थिए । ०७४ मा उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा कृषिमन्त्री बनेका थिए । ०७४ को निर्वाचनमा उनलाई संघीय समाजवादी फोरमका उमेदवार उमाशंकर अरगरियाले पराजित गरे । 

अरगरिया अहिले नेकपा एमालेबाट उमेदवार छन् । अरगरियाले तीनवटा निर्वाचनमा चारवटा पार्टी परिर्वतन गरिसकेका छन् । 

०७० को निर्वाचनमा उनी तत्कालीन निर्वाचन क्षेत्र नम्बर १ मा विजयकुमार गच्छेदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट उमेदवार बनेका थिए । ०७४ को चुनाव हुनुभन्दा केही दिन पहिले मात्रै उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम प्रवेश गरे । यो चुनावमा उनले ३२ हजार बढी मत ल्याएर नेकपा माओवादी केन्द्रका उमेदवार रामचन्द्र झालाई पराजित गरे । 

त्यसपछि उपेन्द्र नेतृत्वको पार्टी र महन्थ ठाकुर अध्यक्ष रहेको राजपाबीच एकीकरण भए । डेढ वर्षभित्रै यी पार्टी पुनः टुक्रिए । त्यसपछि अरगरियाले लोसपा राजे । केही दिनअघि उनी लोसपा त्यागेर एमाले प्रवेश गरी अहिले एमालेबाट उमेदवार बनेका छन् । 

०७४ मा अगरियासँग पराजित भएका झा अहिले नेकपा (एकीकृत समाजवादी)बाट उमेदवार बनेका छन् । उनी त्यतिबेला वाम गठबन्धनका साझा उमेदवार थिए । झा हालसम्म पाँचपटक उमेदवार बनेका छन् । तीन पटक निर्वाचत भएका छन् भने दुईपटक पराजित भएका छन् । ०६४ मा उनी निर्वाचित हुँदा मन्त्रीसमेत बनेका थिए । 

अंक गणितमा को अब्बल ?

यहाँ उमाशंकर अगरिया जित दोहो¥याउने रणनीतिमा छन् । रामकृष्ण यादव उमाशंकरलाई हराएर ०७४ को बदला लिने तयारीमा छन् । 

रामभन्द्र झा पनि जित हात पारेर आफूलाई पुनः स्थापित गर्न जोडबल गरिरहेका छन् । उनीहरू मत आफ्नो पक्षमा ल्याउन अहोरात्र मेहनत गरिरहेका छन् । 

अर्कोतर्फ एमालेले अरगरियालाई प्रवेश गराएपछि एमाले पुराना नेता कार्यकर्ता रुष्ट भएका छन् । एमालेकै प्रभावशाली नेता गंगाराम यादव अहिले जसपाबाट उमेदवार बनेका छन् । स्थानीय स्तरमा उनको पनि पकड राम्रो मानिन्छ । उनी एमालेका पुराना नेता थिए । उमेदवारको पार्टी फेरबदलले केही असर गर्ने अनुमान गरिएको छ ।

यस क्षेत्रमा ४४ वडा छन् । स्थानीय तहको चुनावमा यहाँ कांग्रेस १९, माओवादी ७, जसपा ६ एमाले ६ र नेकपा एस ३ वटा वडामा विजयी भएका छन् । एक वडामा लोसपा र बाँकीमा स्वतन्त्र उमेदवार विजयी छन् । 

६ पालिका रहेको यस क्षेत्रमा एमाले, जसपा र कांग्रेसले समान दुई÷दुई वटा पालिका प्रमुख जितेका छन् । यद्यपि, कांग्रेसले जितेको पालिकाको केही वडा मात्रै यस निर्वाचन क्षेत्रमा छन् । 

स्थानीय चुनावमा कांग्रेसले यहाँ २१ हजार दुईसय ३२ मत ल्याएर ठूलो दल बनेको छ । जसपाले १३ हजार आठसय ८९, एमालेले ११ हजार पाँचसय ८३, माओवादी केन्द्रले १० हजार सातसय ९४, एकीकृत समाजवादीले आठ हजार नौसय ९७ र लोकतान्तिक समाजवादी पार्टीले ६ हजार सातसय मत पाएका छन् । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  २१:०१
प्रतिक्रिया दिनुहोस्