site stats
बाह्रखरी :: Baahrakhari
विशेष
नोटमा ‘बाबुआमालाई धन्यवाद’ र 'वाग्मती खोला' लेखेर कहाँ हराइन् गायिका जेरुसा ?

काठमाडौं । ललितपुरको धोबीघाटस्थित घरबाट गत असोज ६ गते साँझ साढे ७ बजेदेखि बाहिरिएकी गायिका जेरुसा राईको अवस्था अझै अज्ञात छ । ३१ वर्षीया गायिका जेरुसा गत असार २७ गते अमेरिकाबाट नेपाल फर्केर धोबीघाटमा आमासँग बस्दै आएकी थिइन् ।

बाहिर गएकी छोरी घर नफर्किएपछि उनकी आमा इश्का घिमिरेले खोजी गरिदिन भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् । सो जाहेरीपछि उनको खोजी कार्य जारी छ । तर, उनी भेटिएकी छैनन् ।

प्रहरीको प्राविधिक अनुसन्धानबाट जेरुसाबारे केही अनुमान लगाउने तथ्य भेटिए पनि यसै भन्न नसकिने अवस्था रहेको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए । जेरुसाले आफूले प्रयोग गर्ने मोबाइल घरमै छाडेकी थिइन् । मोबाइलसँगै उनले लेखेको ‘नोट’ पनि फेला परेको थियो ।

‘नोट’ अंग्रेजी भाषामा लेखिएको र त्यसमा आमाबुवालाई धन्यवाद लेखिएको पाइएको छ । एसएसपी पोखरेलका अनुसार ‘नोट’को अन्तिममा वाग्मती खोला लेखिएको थियो ।

प्रहरी अनुसन्धानबाट पनि उनी त्रिभुवन विश्वविद्यालयको मुख्य गेट अगाडि वाग्मती नदीमा रहेको झोलुङ्गे पुलसम्म पुगेको अनुसन्धानबाट खुलेको एसएसपी पोखरेलले बताए ।

“शरीर फेला नपर्दासम्म केही भन्न सक्दैनौँ । खोजीका लागि सबै ठाउँमा हुलियासहित पत्राचार गरिसकेका छौँ,” एसएसपी पोखरेलले भने, “उहाँ बैरागिएर घरबाट हिँडेकोजस्तो देखिन्छ । उहाँको रोजाइ नै मृत्यु हो कि जस्तो लाग्छ । तर, शरीर नभेटिँदासम्म अनुमान लगाउन सकिन्न ।”

घरबाट गएकै राति ८ बजे आसपासको समयमा उनी वाग्मती नदी क्षेत्रमा देखिएकी हुन् । मोबाइल फेला परेपछि प्रहरीले प्राविधिक पाटोबाट पनि अनुसन्धान गरेको थियो । सो क्रममा प्रहरीले जेरुसाले ‘गुगल’मा पानीमा डुबेर मर्ने तरिका खोजेको पाइएको बताएको छ ।

जेरुसाले गाएका विभिन्न पप गीत युटुवमा भेट्न सकिन्छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्