
विराटनगर । “बाच्छोलाई वारि नै रोकेर गाईलाई मात्र खोलो तार्न नखोज्नुहोस्, बाच्छो वारि नै छोडिए माउको पनि भलो हुँदैन,” नेपाली कांग्रेसले विराटनगरको अतिथि सदनमा आयोजना गरेको चुनावी कार्यक्रममा कांग्रेस नेता तथा प्रदेश एकका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले चेतावनीपूर्ण भाषण गरे ।
त्यो कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभा सदस्यका उमेदवार डा. शेखर कोइराला प्रमुख अतिथि थिए । कार्कीलाई हराउन पार्टीको स्थानीय तहबाट ‘भइरहेको षडयन्त्र’का कारण कोइराला सहभागी कार्यक्रममै उनले रोष प्रकट गरेका थिए ।
उनले अगाडि भने, “म एकपटक हारेर फरक पर्दैन तर कांग्रेस हार्नुहुँदैन । मविरुद्ध गरिएका गतिविधिले हाम्रा अग्रज उमेदवारलाई नकारात्मक असर पुग्न सक्छ । यसबारे गम्भीर हुनैपर्छ ।”
उनको संकेत कोइरालाको सुनिश्चित विजयतर्फ थियो न कि विगतकोजस्तै परिणाम । कोइराला उमेदवार बनेको मोरङ ६ (२) प्रदेशसभा निर्वाचन क्षेत्रबाट कार्की उमेदवार छन् । अघिल्लोपटक दर्बिलो मतान्तरसहित विजयी बनेका उनलाई हराउन यसपटक कांग्रेसको स्थानीय नेतृत्वले नै ‘घेराबन्दी’ गरिरहेको आरोप छ ।
स्वर्गीय गिरिजाप्रसाद कोइराला र नोना कोइराला (नोना आमा) को अभिभावकत्वमा विद्यार्थी राजनीतिबाट उठेका कार्की ‘कोइराला निवासका बफादार कार्यकर्ता’ हुन् । गिरिजाप्रसाद र नोनाको देहवसानपछि ‘कोइराला निवासको राजनीतिक बिरासत’ शेखरले थामिरहेका छन् । उनकै नेतृत्वमा अहिले कार्की पनि राजनीति गरिरहेका छन् । कोइराला निवासको निर्देशनमा जनआन्दोलनमा ‘टाउको फुटाउँदै र जेल बस्दै’ कार्कीको राजनीतिक जीवन अघि बढेको कांग्रेसजन नै बताउँछन् ।
प्रदेश मन्त्रीको शपथ लिएर कार्की सोझै कोइराला निवास पुगेका थिए । आकाशतर्फ हेर्दै त्यहाँको आँगन चुमे । अनि अति गोप्यकोठामा स्थापित कोइरालाहरूका कुल देउतालाई ढोग्दै आर्शिवाद मागे । कार्की भन्छन्, “मैले मेरो धरातल बिर्सिएको छैन । मप्रति कोइराला निवासको लगानी, आशा र गुन उत्तिकै छन् ।”
तर, कोइराला निवासबाट राजनीतिक रूपमा परिपोषित कार्कीमाथि कोइराला निवास निकटकै अर्को समूहले 'घेराबन्दी' गर्न थालेपछि उनी चिढिएका छन् । कांग्रेसको कार्यक्रममा कार्कीले भने, “म हार्दा खासै फरक नपर्ला तर शेखर दा हार्नुभयो भने, म मात्र हार्छु कि सिंगो कांग्रेस हाँक्ने आँट बोकेको नेता हार्छ ?”
आफ्नै समूहमा विवाद, असहयोग र पानी बाराबारको स्थितिले कोइरालालाई समेत तनावमा पारिदिएको छ । चुनावमा आफ्नै उमेदवार हराउनेसम्मका गतिविधि हुन थालेपछि उनले विराटनगरका मेयर नागेश कोइरालासहितलाई राखेर छलफल गराएका छन् ।
कोइराला निवास निकट नागेश र कांग्रेस विराटनगर सभापति दिपक चापागाईंले आफ्नो अलग समूह बनाएका छन् । कोइरालाले आफ्नो क्षेत्रको विवाद मिलाउने क्रममा मोरङको सुन्दरहरैँचामा आयोजित कार्यक्रममा 'म र शेरबहादुर देउवाजी त मिलिसक्यौँ, अब तल तपाईंहरू झगडा गरेर के पाउनुहुन्छ ?' भन्दै स्थानीय नेतृत्व र कांग्रेस कार्यकर्तालाई प्रश्न गरेका थिए ।
कार्कीविरुद्ध कांग्रेसकै दुई बागी
कार्कीविरूद्ध कांग्रेस प्रदेश १ समितिका सदस्यद्वय गोपाल रेग्मी र जनार्दन निरौलाले उमेदवारी दिएका छन् ।
रेग्मी स्वतन्त्र उमेदवार छन् । निरौला नेपाली कांग्रेस (बीपी) बाट । कांग्रेसको केन्द्रीय समितिको ‘सर्कुलर’ अनुसार उमेदवारी फिर्ता नलिएका उनीहरूले कात्तिक ४ गतेसम्म आफ्नो उमेदवारी निष्क्रिय गराउन सक्छन् । यति गरे ‘साधारण सदस्यसमेत नहरने’ कारबाहीबाट बच्न सक्छन् ।
निकटस्थ स्रोतका अनुसार कोइरालाले आग्रह गरेको भए रेग्मीले उमेदवारी फिर्ता लिने योजना बनाएका थिए । तर, मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेपछि मात्र टेलिफोन गरेका कारण उनी रोकिएनन् ।
रेग्मीका भाइ तथा विगतमा कोइरालासँग निकट रहेका विराटनगरका पत्रकार शेखर रेग्मीले भने, “दाइले टेलिफोन पर्खिएर बसेको छु त भन्नुहुन्थ्यो । तर किन उमेदवारी दर्ता गराउनुभयो मैले पनि खासै सोधेको छैन ।”
गोपाल रेग्मी एक कार्यकाल विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका थिए । जागिरबाट ‘रिटायर्ड’ भए लगत्तै राजनीतिमा आएका हुन् । उनले विराटनगरको मेयरसमेत उठ्न चाहेका थिए तर पार्टीले टिकट दिएन । यसपटक पनि उनी टिकटका आकांक्षी थिए ।
दुई बागी उमेदवारका कारण कांग्रेसजनको मत विभाजन भए कार्कीलाई ‘संकट’ पर्न सक्छ । यसले कोइरालालाई पनि फाइदा नपुग्ने कांग्रेसजनकै विश्लेषण छ ।
भीमलाई पनि समूहगत प्रहार
महेन्द्र मोरङ क्याम्पसमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाकै ‘ग्रिन सिग्नल’मा बागी उमेदवारी दिएर स्ववियु सभापति बनेका भीम पराजुली कोइराला निवासकै उत्पादन हुन् । यद्यपि विराटनगर महानगरका निवर्तमान मेयर पराजुली अहिले ‘कोइराला निवासको कित्ता’मा छैनन् ।
स्थानीय तह निर्वाचन ताका कांग्रेस नेता कृष्ण सिटौलाको पक्षमा खुलेपछि अहिले संस्थापनतिर छन् । त्यही समूहबाट टिकट लिएर पराजुली १४ औँ महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित बने ।
मोरङमा उनीविरुद्ध पनि ‘कांग्रेसजनको ठुलो घेराबन्दी’ भएको बताइएको छ । पराजुली मोरङको निर्वाचन क्षेत्र नम्बर ४ (२) मा उमेदवार बनेका छन् । त्यही दिनदेखि जिताउने भन्दा पनि निर्वाचनमा हराउनेहरू सक्रिय भएको बताइन्छ । चुनाव महाधिवेशन ताकाको तुस साँधेर पराजुलीमाथि ‘घेराबन्दी’ भइरहेको उनी निकटस्थ एक नेताले सुनाए ।
विराटनगर महानगरपालिकाको मेयर पदमा नागेश कोइराला विजयी भएको सय दिन पनि नपुग्दै आफ्नै पार्टीबाट पूर्वनिर्वाचित मेयरविरुद्ध कोइरालाले स्वेतपत्र जारी गरिदिए । कांग्रेसकै मेयर पराजुलीको नेतृत्वमा विराटनगरमा भएका विकासका राम्रा कामलाई ‘ढाकछोप गर्ने र सबै बिगारेको भन्ने सन्देश दिने गरी’ कांग्रेसबाटै निर्वाचित मेयरले ‘फिराद पत्र’ शैलीमा त्यो प्रकाशन गरेको स्वयम् पराजुलीले बताउने गरेका छन् ।
पराजुलीले शेखरको साथ छाडेर सिटौलातिर लागेपछि उनीविरुद्ध कोइराला नजिकको ठूलो समूह आक्रामक बन्यो । विगतमा महेश आचार्यलाई असहयोग गरेको भन्ने आरोपबीच त्यताबाट समेत ‘घेराबन्दी’ भएको बुझाइ कतिपयको छ ।
तर, चुनावी अभियानमा सक्रिय भएका पराजुली आफू विजयी बन्ने र पार्टीका आन्तरिक जीवनका सबै विवाद मिलाएर अघि बढ्ने बताउँछन् । “मेरो शालिनता, मेरो राजनीतिक स्वभाव अनि मैले गरेको कामको मूल्यांकन विराटनगरबासी र मेरा मतदाताले गर्नु भएको छ,” पराजुलीले भने ।