site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अस्पतालकाे बेडबाटै चल्दै छ कांग्रेस नेता गुरुराज घिमिरेको चुनावी अभियान
फाइल तस्बिर : नोबेल अस्पताल विराटनगरमा कांग्रेस नेता गुरुराज घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै डा. शेखर कोइराला । 

विराटनगर । प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नम्बर ४ (१) मा उमेदवारी दर्ता गराउने दिन कांग्रेस नेता गुरुराज घिमिरेलाई हनहन ज्वरो आइरहेको थियो । कमजोरीले शरीर शिथिल थियो । हातमा स्लाइन पानी चढाउन छेडिएको ‘क्यानुला’ भिरेरै उनी निर्वाचन अधिकृतको कार्यालय पुगे ।

उमेदवारलाई यस्तो अवस्थामा देखेर धेरैले अनौठो मानेर हेर्दै थिए । धेरै शुभचिन्तकले प्रश्न गरे, “के भयो ? के स्वास्थ्य समस्या आइपर्‍याे ?” 

आफू बिरामी परेको र चाँडै निको भएर घरदैलो कार्यक्रममा आउने भन्दै धेरै समय नलगाइ उमेदवारी दर्ता गराएर साेझै अस्पताल भर्ना भए । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एक सातादेखि उपचाररत उनी स्वास्थ्य लाभ गरिरहेका छन् ।

Argakhachi Cement Island Ad

यसैबीच धेरै नेता र शुभचिन्तक उनलाई भेट्न अस्पताल नै पुगिरहेका छन् । पार्टीका कार्यकर्ता र सचिवालयका सदस्य उनकाे स्वास्थ्यलाभको लागि सहयोगीको रूपमा दिनरात खटिएका छन् । चिकित्सक र स्वास्थ्यकर्मीले पनि उपचारमा कुनै कसर बाँकी छाडेका छैनन् । 

स्वास्थ्य कमजोरीका कारण घिमिरे हिँड्न सक्ने अवस्थामा छैनन् । तर, नकिजिएको चुनावको तयारी र प्रचार भने अस्पतालबाटै गरिरहेका छन् ।

घिमिरेकाे हेरचाहमा खटिएका उनकी सालीका छोरा रोचक आचार्य भन्छन्, “अब एक दुई दिनमै डिस्चार्ज हुनुहुन्छ होला । तर, यहीँबाट चुनावी अभियान संचालन भइरहेको छ ।” घिमिरेको चुनावी रणनीति अस्पतालबाटै बनाइरहेको र सचिवालयले चुनावी अभियान चलाइरहेकाे आचार्यको भनाइ छ ।

उमेदवार भएका कारण अस्पतालकै बेडबाट घिमिरेले सामाजिक सञ्जालमार्फत मत मागिरहेका छन् । आफ्नो अभियानबारे मतदातालाई जानकारी गराइरहेका छन् । आधिकारिक फेसबुक पेज र ट्विटर ह्यान्डलमा घिमिरेले सक्रिय छन् ।

केही दिनअघि घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कांग्रेस नेता डा. शेखर कोइराला अस्पताल पुगेका थिए । जिल्ला र प्रदेशस्तरका नेताहरूले समेत अस्पताल नै पुगेर उनको हालचाल बुझिरहेका छन् । “अब पूर्ण रूपमा स्वस्थ भएपछि चुनावी अभियानलाई सशक्त बनाउने योजना बनाएका छौँ,” आचार्यले सुनाए । 

प्रदेशसभा निर्वाचनमा उमेदवार बनेका घिमिरेलाई प्रदेश नम्बर एकको भावी मुख्यमन्त्रीको रूपमा समेत हेर्ने गरिएको छ ।

नेपाल विद्यार्थी संघमा बसेर लामो समयसम्म काम गरेको अनुभव, कांग्रेस केन्द्रीय समितिको लामो अनुभव र संघर्षशील नेताको परिचय बनाएका कारण पाँच दलीय गठबन्धनका उमेदवारका रूपमा घिमिरेलाई सशक्त उमेदवार मानिएको छ ।

उमेदवारी दर्ता गराउँदै घिमिरेले आफू युवा, लोकतन्त्रवादी र विकासप्रेमी जनताको प्रतिनिधिको रूपमा उमेदवार बनेर आएको बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  २०:००
प्रतिक्रिया दिनुहोस्