site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेश–१ मा बागी उमेदवारको कहाँ कस्तो छ प्रभाव ? 

विराटनगर । जिल्ला निर्वाचन क्षेत्रहरूमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहल सुरु भइसकेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरू चुनाव दौडाहामा निस्कन सुरु गरेका छन् । कतिपयले पार्टीका आन्तरिक छलफल, कार्यकर्ता भेटघाटदेखि घरदैलोसमेत सुरु गर्दैछन् । तर, प्रमुख राजनीतिक दलले गठबन्धन बनाएर उठाएकाहरूविरुद्धका बागी उमेदवारसमेत सशक्त रुपमा चुनावी अभियानमा होमिएका छन् । कतिपय क्षेत्रका दलका उमेदवारबालाई बागी भारी पर्न सक्ने देखिएको छ ।  

प्रदेश–१ मा नेकपा एमाले अध्यक्ष केपी ओलीको तालमेल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पुनः निर्वाचित बन्ने रणनीति, नेपाली कांग्रेसका सुनील थापा र जसपाका अशोक राईसम्मलाई क्षेत्र सुरक्षित गर्ने योजनामा बागी उमेदवारले अड्को थापिदिएका छन् ।
 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन २०७४ को निर्वाचनमा कांग्रेसका कृष्णप्रसाद सिटौलालाई हराएर प्रतिनिधिसभा सदस्य बनेका थिए । तर, यो पटक बागीका कारण उनलाई केही संकट थपिएको छ । एमालेको साथ लिएर सोही क्षेत्रमा उमेदवार बनेका लिङ्देनविरुद्ध उनलाई सघाएको दल नेकपा एमालेका डम्बरबहादुर गिरीले उमेदवारी दिएका छन् । उमेदवारी फिर्ता लिने दिन उनी पार्टी सम्पर्कमा रहेनन् । उनी एमाले प्रदेश कमिटी सदीय हुन् । यसअघि हल्दीबारी गाउँपालिकामा अध्यक्ष पदमा पराजित बनेका थिए । झापामा एमाले र राप्रपाबीच भएको गठबन्धनलाई गिरीले चुनौती दिएका छन् । उनको उमेदवारीले एमालेको भोट कट्ने र त्यसको फाइदा आफूलाई पुग्ने भए पनि कांग्रेसका सिटौलालाई केही राहत मिलेको छ । उनी पाँच दलीय गठबन्धनबाट आफ्नो पुरानै क्षेत्र झापा ३ बाट निर्वाचित हुने विश्वासमा छन् ।
 
मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा उमेदवारी नदिई जसपालाई सघाउने निर्णय गरेको एमालेका असन्तुष्ट योगेन्द्र मण्डलले स्वतन्त्र उमेदवारी दिएका छन् । यो क्षेत्रमा एमालेको साथ लिएर प्रतिनिधिसभा सदस्य बन्ने तयारीमा रहेका जसपाका मोरङ अध्यक्ष राजकुमार यादवलाई मण्डलको उमेदवारीबाट आहत भएको छ । यादव भन्छन्, “स्वतन्त्र रुपमा उमेदवारी दिनुले त्यति धेरै फरक पर्दैन भन्ने हाम्रो बुझाइ छ । यो क्षेत्रमा हाम्रो जनाधार नै राम्रो भएकाले जनमत हामीतर्फ नै छ ।” 

Argakhachi Cement Island Ad

जीवन विकास समाज लघुवित्तका संस्थापक अध्यक्ष मण्डल पहिलो पटक प्रतिनिधिसभा सदस्यमा उमेदवार बने पनि उनको ग्रामीण भेगका नागकिासँगको सम्बन्ध, लगाव र उनले विगतमा गरेका कामका कारण राम्रो समर्थन मिल्ने उनको अपेक्षा छ । “मैले मेरो जीवनको धेरै समय जनताको सेवामा लगाएको छु, म प्रतिको राम्रो सहानुभूतिका कारण मलाई निर्वाचन जित्न उतिसाह्रो कठिन छैन्,” उनले भने ।

पाँच दलीय गठबन्धनबाट यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल उमेदवार बनेका छन् । यसअघिको निर्वाचनमा कांग्रेसका अमृत अर्याललाई पराजित गर्दा जसपाका राजकुमार तेस्रो स्थानमा थिए । यो क्षेत्रमा एमालेले प्रतिनिधिसभाको एउटा र प्रदेशका दुई क्षेत्रमा जसपलाई सघाउने निर्णय गर्दै उमेदवारी नदिने घोषणा गरेको थियो । 

धनकुटामा गठबन्धन दलका उमेदवार कांग्रेसका सुनीलकुमार थापालाई पनि बागी मेदवारको चिन्ता छ । हेमराज भण्डारीले माओवादी केन्द्रबाट राजीनामा दिएर स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । गठबन्धनका कारण कांग्रेसले यो क्षेत्र प्राप्त गर्ने निश्चित भएसँगै भण्डारीले पार्टीबाट अलग हुने घोषणा गरेका थिए । भण्डारीसहित प्रदेश कमिटी र जिल्ला कमिटीका नेताहरूले संयुक्त राजीनामा दिएर चुनावी अभियानमा होमिएका थिए । 

धनकुटामा एमालेले राजेन्द्र राईलाई उमेदवार बनाएको छ । केहीअघि मात्र कर्मचारीलाई टेलिफोनमा धम्क्याएको अडियो सार्वजनिक भएपछि राई विवादमा तानिएका थिए ।
   
सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा एमाले–जसपाको तालमेलले काम गरेन । त्यहाँ जसपाका नेता अशोक राईविरुद्ध धरानका पूर्वमेयर तथा एमाले नेता मनोज मेन्याङ्बोको उमेदवारी कायमै रहेको छ । बामपन्थीको पकड रहेको यो क्षेत्रमा पार्टीले जसपालाई सघाउने निर्णय गरेकाले आफू उमेदवार बन्नु परेको मेन्याङ्बोले बताएका छन् । यो क्षेत्रबाट एमालेले जयकुमार राईको एकल नाम सिफारिस गरे पनि पछि जसपालाई सघाउने निर्णय भएको थियो । मनोजको लोकप्रियता र विगतमा स्थानीय तहमा बसेर काम गरेको अनुभव अनि जसमर्थनका कारण राईलाई असर गर्नसक्ने धराने जनताको अड्कल छ । 

उदयपुरको क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उमेदवार बनेका नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाविरुद्ध पनि बागी उमेदवारको उमेदवारी कायमै रह्यो । कांग्रेसका रामकुमार राईले उमेदवारी दिएपछि खतिवडाको तनाव बढेको देखिएको छ । कांग्रेस क्षेत्रीय सभापति राईले मत काट्दा त्यसको फाइदा एमालेलाई हुन सक्ने अनुमान हुन थालेको छ । 

यसअघि यो क्षेत्रमा माओवादी केन्द्रका सुरेश राई निर्वाचिन बनेका थिए । भागबन्डामा नेकपा एसले यो क्षेत्र प्राप्त गरेको हो । उदयपुर–२ मा एमालेबाट अम्बरबहादुर रायमाझी उमेदवार छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्