
विराटनगर । प्रदेश १ बाट प्रतिनिधिसभा र प्रदेशसभातर्फका महिला उमेदवारहरू चुनावी अभियानमा लागेका छन् । पार्टीको केन्द्रीय नेतृत्वमा रहिसकेका यी उमेदवारको भिडन्त लगातार जित्दै आएका 'सदाबहार' पुरुष उमेदवारहरूसँग हुँदै छ ।
प्रदेश १ मा यसपटक प्रतिनिधिसभामा कांग्रेस–एमालेका दुई–दुई र राप्रपाबाट एक गरी जम्मा पाँच जना महिला उमेदवार चुनावी मैदानमा छन् ।
तेह्रथमुममा नेपाली कांग्रेसकी सीता गुरुङ र मोरङ २ बाट नेत्री सुजाता कोइराला चुनाव लड्दै छन् । यसैगरी एमालेकी भगवती चौधरी सुनसरी ३ र उदयपुर १ बाट मञ्जु चौधरी चुनावी प्रतिस्पर्धामा छन् । राप्रपाकी रेखा थापाले मोरङ ३ मा राजनीतिमा ‘अब्बल मानिएका र सरकारमा रहेर काम गरिसकेका’ पुरुष नेतालाई टक्कर दिँदैछिन् ।
मोरङ क्षेत्र नम्बर २ बाट उठेकी स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजातालाई यसपटक पारिवारिक साख जोगाउने मात्र दबाब छैन आफ्नै राजनीतिक सफलताको पनि परीक्षण हुँदै छ ।
उनी भन्छिन्, “राजनीति मेरो रगतमै दौडिएको छ । राजनीतिक परिवारिक परिवेश, विगतमा भोगेको कष्ट, जनताका आकांक्षा र विकासप्रतिको चाहना मलाई राम्रो जानकारी छ । त्यही भएर यसपटक प्रत्यक्षतर्फको उमेदवार भएर आफ्नै घरगाउँमा आएकी छु । प्रतिस्पर्धा कडै हुनेछ भन्ने मेरो विश्वास छ ।”
एमालेबाट क्षेत्र नम्बर २ का सदाबहार उमेदवार तथा पार्टीका मोरङ अध्यक्ष ऋषिकेश पोखरेल कोइरालाका प्रतिस्पर्धी छन् । पोखरेलसँग कोइरालाको यो पहिलो चुनावी भेट हो । यही क्षेत्रबाट एकपटक विजयी भएका उनी ०७४ को चुनावमा कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित बनेका थिए । पोखरेल जिल्लास्तरमा अनुभवी र खारिएका नेता मानिन्छन् ।
यो क्षेत्र स्वर्गीय गिरिजाप्रसाद कोइराला चुनाव लड्ने भूगोल भएका कारण पनि सुजातालाई चुनावी अभियानमा केही सहज हुने कांग्रेसजनको आकलन छ । अघिल्लोपटक समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी कोइराला मिनेन्द्रलाई पन्छाएरै भएपनि पार्टी सभापति शेरबहादुर देउवाबाट टिकट आफ्नो पोल्टामा पार्न सफल भएकी थिइन् ।
मोरङ क्षेत्र नम्बर ३ मा राप्रपाबाट नायिका रेखा थापा एमालेका भानुभक्त ढकाल र कांग्रेसका सुनिल शर्मासँग भिड्दैछिन् । गाउँघर, टोलबस्ती र घरदैलोमा पुग्दा मतदाताले उनलाई भव्य स्वागत गर्ने गरेका छन् ।
फिल्ममा जस्तै कडा भाषण, स्पष्टता र हक्कीपनको व्यक्तित्व लिएर जनतामाझ पुग्दा रेखाले वाहवाही र समर्थन दुवै पाइरहेकी छन् । उनी भन्छिन्, “मतदाताले पुराना र विगतका अनुहारलाई परिवर्तन गरी नयाँ नेतृत्व, सोच अनि समर्थनसाथ मलाई विजयी बनाउनु हुनेछ भन्ने विश्वास छ ।”
सुनसरी ३ का ‘सदाबहार नायक’ कांग्रेसका विजयकुमार गच्छदारलाई फेरि एकपटक टक्कर दिन भगवती चौधरी चुनावी मैदानमा उत्रिएकी छन् । ०४८ को चुनावमा पहिलोपटक संसद् छिरेका गच्छदार त्यसयताका सबै चुनावमा विजयी बन्दै आए । सातौँपटक संसद् छिर्ने प्रयासमा रहेका गच्छदारलाई हराउन एमालेकी भगवती चौधरीले यसपटक पनि ठूलो कसरत गरिरहेकी छन् । यसअघिका दुई चुनावमा उनी गच्छदारसँगै पराजित भएकी थिइन् ।
“तर, यो पटकको परिवेश फरक छ । उहाँको क्षिण बन्दै गएको राजनीतिक छवि र लगातार एउटै मानिसलाई जिताउनुपर्ने बाध्यताबाट अब मतदाताले विश्राम लिनु हुनेछ भन्ने मेरो विश्वास छ,” चौधरीले सुनाइन् ।
०७० को दोस्रो संविधानसभा निर्वाचनमा चौधरी गच्छदारसँग ३६२ मत अन्तरले पराजित भइन् । ०७४ मा मतगणनामा धाँधली भएको भन्दै उनले सर्वाेच्चमा हालेको मुद्दा अहिले पनि विचाराधीन छ ।
गच्छदार २०४८, २०५१, २०५६ र २०७४ का चुनावमा कांग्रेसबाट विजयी भएका नेता हुन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट र ०७० मा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट विजयी बनेका थिए ।
उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उमेदवार बनेकी एमालेकी मञ्जु चौधरीको दौडधुप निकै बढेको छ । कांग्रेसका ‘हेभिवेट’ उमेदवार परराष्ट्रमन्त्री नारायण खड्कालाई सामना गर्न उनले हरप्रयास गर्ने बताएकी छन् ।
०७४ को निर्वाचनमा खड्कासँगै पराजित बनेकी उनी यसपटक महिला नेतृत्वलाई अघि बढाउन भन्ने आग्रहकासाथ चुनावी अभियानमा होमिएको सुनाउँछिन् । खड्कासँग चौधरीको तेस्रो प्रतिस्पर्धा हो । ०७४ मा वाम गठबन्धनबाट उमेदवार बनेकी उनी ५४८ मतान्तरले पराजित भएकी थिइन् । उनी एकपटक उदयपुर २ बाट २०७० मा निर्वाचित भएकी थिइन् । ०६४, ०७० र ०७४ को निर्वाचन भने खड्काले जिते ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ पहाडी जिल्ला तेह्रथुमबाट चुनाव लड्दै छिन् । उनको टक्कर एमालेका डा. विजय सुब्बासँग हुँदै छ । उनी यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनिसकेकी छन् । उनी भन्छिन्, “राजनीतिमा महिला पुरुष भन्दा पनि अब्बल र सबल नेतृत्वको कुरा हुन्छ ।”
दुईपटक विजयी भएका सुब्बा तेस्रोपटक प्रतिनिधिसभा छिर्ने प्रयासमा रहँदा गुरुङ उनलाई रोक्ने प्रयासमा हुनेछिन् ।
एमालेको पकड क्षेत्र मानिने तेह्रथुममा २०१५ र २०६४ को निर्वाचनबाहेक हरेक पटक एमालेकै उमेदवार विजयी बन्दै आएका छन् । यो पटक गुरुङ गठबन्धनको बलमा सुब्बालाई पराजित गर्ने दाउमा छिन् ।