site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेश एकका मुख्यमन्त्रीसहित ९ मन्त्री बने प्रदेशसभा उमेदवार
फाइल तस्बिर : प्रदेश एक सरकारको मन्त्रिपरिषद् बैठक । 

विराटनगर । प्रदेश नम्बर एकका मुख्यमन्त्रीसहित नौ जना मन्त्रीहरू प्रदेशसभा निर्वाचनमा दोहोरिएर उमेदवार बनेका छन् । एकजना प्रदेशमन्त्रीले प्रतिनिधिसभा सदस्य पदमा अवसर प्राप्त गरेका छन् ।

प्रदेशमा १३ सदस्यीय मन्त्रीमण्डल छ । तीनजना मन्त्रीहरू भने प्रतिनिधिसभा र प्रदेश कतै पनि उमेदवार बनेका छैनन् ।  

पहिलो कार्यकालको संस्थापक ‘माननीय’ बनेका निवर्तमान सांसदहरूमध्ये धेरैले एकपटक फेरि प्रदेशसभामा भित्रने तयारीसाथ चुनावमा होमिएका बेला मन्त्रीहरूले पनि मनोनयन दर्ता गराएका हुन् । 

Argakhachi Cement Island Ad

मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभा सदस्यका लागि गृहजिल्ला भोजपुरको निर्वाचन क्षेत्र नम्बर १(१) बाट उमेदवारी दर्ता गराएका छन् । “फेरि पनि अराजकता, फेरि पनि प्रतिगमनको बाटो समाएका संघीय लोकतन्त्र र गणतन्त्रविरोधीलाई परास्त गरी प्रतिगमनविरुद्ध बनेको गठबन्धनलाई विजयी गराउने उद्देश्यासाथ म उमेदवार बनेको हुँ,” राईले भने ।

नेकपा (एकीकृत समाजवादी) का सचिवसमेत रहेका राईले पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट निर्वाचनमा होमिएका हुन् । 

संविधानअनुसार बनेको नयाँ संघीय प्रणालमीमा प्रदेश सरकारलाई अझ सशक्त बनाइ स्थापित गराउनुपर्ने जिम्मेवारी आफूहरूको भएकोले दोस्रो पटक पनि प्रदेशमै उमेदवार बनेको राईको भनाइ छ । 

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो पाँचथर १ (१) बाट प्रदेशसभा उमेदवार बनेका छन् । प्रदेश सरकारमा सबैभन्दा धेरै समय मन्त्रीमण्डलमा रहेर लामो अनुभव संगालेका आङ्बो संघीयतालाई संस्थागत गर्न पुनः एकपटक प्रदेशमै काम गर्ने योजनासाथ उमदेवार बनेको बताउँछन् ।

“बलियो र सुदृढ संघीयता, दिगो र तीव्र विकास, उत्पादन उत्पादकत्वको वृद्धि,आत्मनिर्भरता र व्यापक रोजगारी सिर्जनाको निम्ति फेरि एकपटक प्रदेशसभामा उमेदवारी दिएको हुँ,” मन्त्री आङ्बोले सामाजिक सञ्जालमा लेखेका छन् । 

Province 1 Cabinet 21665407663.jpg

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्की उदयपुरबाट प्रदेशसभामा उमेदवार बनेका छन् । कांग्रेस संसदीय दलको उपनेताको भूमिकामा रहेर पनि काम गरेका कार्कीले भने, “प्रदेशको आवश्यकता पुष्टि गर्न र यसलाई अझ संस्थागत गर्न उमेदवार बनेर जित्न फेरि एकपटक बल गरेको हुँ ।”

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की मोरङको निर्वाचन क्षेत्र नम्बर ६(२) मा उमेदवार बनेका छन् । उनी यसअघि कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा थिए । मन्त्री कार्की भने, “भर्खरै बामे सर्दै गरेको प्रदेशलाई सुदृढ बनाउन पाँच वर्षसम्म प्राप्त गरेको अनुभवलाई अझ खारेर अघि बढाउन उमेदवार बनेको छु ।”

वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापा मोरङको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट उमेदवार बनेका छन् । प्रदेशसभामा निकै राम्रो उपस्थिति देखाइ जनताका आवाज बुलन्द गरेका थापाले प्रदेशको श्रीवृद्धि र हितकै लागि आफू उमेदवार बनेको बताए ।

“यो पाँच वर्षमा पहिलो कार्यकाल थियो, कति काम गर्न सकियो कति अधुरै रहे तिनलाई पूरा गराउन पनि फेरि प्रदेशमै जाने निर्णय गरेको हुँ,” थापाले भने, “जनताले अनुमोदन गर्नुहुनेछ भन्ने विश्वास छ ।”

प्रदेश एककी पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा इलामको क्षेत्र नम्बर १ (१) बाट उमेदवार बनेकी छन् । सत्तागठबन्धनको तर्फबाट नेपका (एकीकृत समाजवादी) बाट उमेदवार बनेकी उनी २०७४ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएकी एकजनामात्र महिला सांसद थिइन् ।

उनले भनिन्,“प्रदेशमै रहेर जनताको काम गर्ने चाहनाअनुरूप समग्र महिलाको प्रनिधित्व गर्दै उमेदवार बनेकी छु ।”

स्वास्थ्यमन्त्री जयराम यादव मोरङको निर्वाच क्षेत्र नम्बर ५(२) मा उमेदवार बनेका छन् । यादव भन्छन्, “संघीयताको आवश्यकताको पुष्टि गर्ने प्रदेश सरकार नै भएकोले एकपटक दोहोरिएर अधुरा काम पूरा गर्ने उद्देश्यासथ उमेदवार बनेको हुँ ।”

प्रदेशका कृषिमन्त्री झलकबहादुर मगर झापाको निर्वाचन क्षेत्र नम्बर ४(२) बाट उमेदवार बनेका छन् ।

प्रदेशकी निवर्तमान उपसभामुख सरस्वती पोखरेल सुनसरीबाट प्रदेशसभा सदस्यमा उमेदवार बनेकी छन् । 

प्रदेश १ का खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री रामकुमार राई खोटाङबाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार बनेका छन् ।

गठबन्धन दल नेकपा (माओवादी केन्द्र)ले राईलाई प्रतिनिधिसभामा उमेदवार बनाएको हो ।

प्रदेशको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरागावी, उद्योग श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गाम र सामाजिक विकासमन्त्री राजन राई उमेदवार बनेका छैनन् । 

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १९:१३
प्रतिक्रिया दिनुहोस्