site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मोरङका ६ मध्ये ४ क्षेत्रमा पुरानै ‘हेभिवेट’ नेता, दुई क्षेत्रमा रैथाने, प्रदेशमा नयाँ अनुहार

विराटनगर । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा फैरि पुरानै उमेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभातर्फ प्रमुख राजनीतिक दलबाट पुरानै अनुहारले उमेदवारी दर्ता गराएका छन् । दुईवटा क्षेत्रमा भने नयाँ मानिएकाले पुरानै अनुहारसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

मोरङमा योपटक जिल्लामा रैथाने मानिएका उमेदवार पनि थपिएका छन् । प्रदेशसभातर्फ भने मतदाताले केही नयाँ उमेदवारलाई परीक्षण गर्ने अवसर प्राप्त गर्दैछन् ।

मोरङका तीन क्षेत्रमा कांग्रेस–एमालेका 'हेभिवेट' नेता र अन्यमा भने जिल्लामा रैथाने मानिएका नेता प्रतिस्पर्धा गर्दैछन् । यसपटक पनि सत्तारूढ पाँच दलीय गठबन्धन र एमालेका उमेदवारबीच कडा प्रतिस्पर्धा हुने अड्कल सुरु भइसकेको छ । 

Argakhachi Cement Island Ad

मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनबाट नेपाली कांग्रेसमा शेखर कोइराला पक्षधर डिगबहादुर लिम्बू प्रतिनिधिसभाका लागि उमेदवार बनेका छन् । उनी कांग्रेस जिल्ला पार्टी सभापति पनि हुन् । रैथाने नेताको रूपमा परिचित उनी अघिल्लो चुनावसम्म देउवा समूहमा थिए । पार्टी अधिवेशनका नजिकिएसँगै दोहोरिएर जिल्ला सभापति बन्नकै लागि उनी कोइराला खेमामा पुगेका थिए ।

०७४ को निर्वाचनमा एमालेका घनश्याम खतिवडासँग पराजित बनेका लेटाङ निवासी लिम्बू यसपटक फेरि पुरानै उमेवारसँग प्रतिस्पर्धा गर्दैछन् । मनोनयन दर्तापछि लिम्बूले क्षेत्र नम्बर १ का जनताको चाहनाअनुरूप आफू फेरि उमेदवार बनेर आएको बताए ।

“संविधानको प्रवर्द्धन र लोकतन्त्रको विकासकै लागि मेरो उमेदवारी हो,” लिम्बूले भने । 

एमालेका खतिवडाले अघिल्लोपटक पनि आफूलाई मतदाताले पत्याएर निर्वाचित गराएको र यसपटक फेरि बाँकी अधुरा कार्य पूरा गर्नकै लागि आफ्नो उमेदवारी रहेको सुनाए । “जनचाहना र पार्टीको तयारीअनुरूप नै म फेरि जनतामाझ आएको हुँ,” उनले भने ।

मोरङ क्षेत्र नम्बर २ मा कोइराला पक्षधर मिनेन्द्र रिजाललाई पन्छाएर देउवा खेमाकी सुजाता कोइराला उमेदवार बनेकी छन् । आफ्ना स्वर्गीय पिता गिरिजाप्रसाद कोइराला निर्वाचित भएको यस क्षेत्रमा उनको पहिल्यैदेखि दाबी रहँदै आएको थियो । यो क्षेत्रमा सुजाता नयाँ उमेदवारको रूपमा आएकी छन् । तर उनको प्रतिस्पर्धी भने एमालेका पुरानै अनुहार छन् ।

जिल्ला अध्यक्ष ऋषिकेश पोखरेललाई एकपटक फेरि पार्टीले अवसर दिएको छ । ०७४ मा देशभर वाम गठबन्धनका लहर छाउँदा पनि पोखरेल कांग्रेसका मिनेन्द्रसँग पराजित बनेका थिए । पोखरेल जिल्लामा धेरै समय बसेर काम गरेका नेताको रूपमासमेत परिचित छन् । त्यसबेला एकमात्र क्षेत्रमा जितेर मिनेन्द्रले मोरङमा कांग्रेसको इज्जत जोगाएका थिए ।

मनोनयन दर्ता गराएपछि सुजाताले यस क्षेत्रमा आफ्नो पारिवारको ऐतिहासिक सम्बन्धसमेत भएकाले आफू उमेदवार बनेर आएको बताइन् । उनले भनिन्, “एउटा सबल नेत्रीको रूपमा समेत म मतदातामाझ आएकी हुँ ।”

हक्की र नेतृत्व लिन सक्ने नेत्रीको छवि बनाएकी कोइरालालाई महिला समर्थन अधिक रहने कांग्रेसको विश्वास छ । 

मोरङको क्षेत्र नम्बर ३ मा कांग्रेस र एमालेका पुरानै अनुहार उमेदवार बनेका छन् । कांग्रेसले कोइराला पक्षधर डा. सुनिल शर्मालाई उमेदवार बनाएको छ । अघिल्लोपटक एमालेका भानुभक्त ढकालसँग पराजित भएका शर्मा यसपटक आफ्नो पल्ला भारी भएको बताउँदै आएका छन् ।

मनोनयन दर्तापछि शर्माले आफू सेवकको रूपमा जनतामाझ फेरि आएको बताउँदै भने, “विगतमा जस्तै फेरि अवसर प्राप्त गरेको छु । यो पटक जनमत लिएरै विजयी बन्नेछु ।”

एमालेका भानुभक्त ढकालले आफूले सुरु गरेका धेरै बाँकी अधुरा काम पुरा गर्ने अभिभारा लिएर पुनः उमेदवार बनेर आएको सुनाए । उनलाई ‘टुरिस्ट’ उमेदवारको आरोप लागेपछि अहिले निर्वाचन क्षेत्रभित्रै पर्ने सुन्दरहरैँचामा घरसमेत निर्माण गरिसकेका छन् । 

मोरङ ४ मा विद्वत र अर्थशास्त्रका ज्ञाता मानिएका कांग्रेसका महेश आचार्यलाई पन्छाएर दोस्रो पटकका लागि माओवादी केन्द्रका अमनलाल मोदीले उमेदवारी दर्ता गराएका छन् । वाम गठबन्धनको सहयोगमा ०७४ मा मोदीले आचार्यलाई पराजित गरेका थिए । यसपटक एमालेका विनोद ढकालसँग प्रतिस्पर्धा गर्दैछन् ।

ढकाल प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा नयाँ उमेदवार हुन् । ढकाल भन्छन्, “संविधानको पूर्ण कार्यान्वयन र जनअधिकारको स्थापनाका लागि मेरो उमेदवारी हो । एमालेको जनमत र जनसमर्थनलाई आधार बनाएर म यो क्षेत्रमा आएको हुँ ।”

मोदीले गठबन्धनको निर्णय र आफूले विगतमा गरेको कामको मूल्यांकनकै आधारमा पार्टीको प्रतिनिधि बनेर आफू उमेदवार बनेको सुनाए । तर उनी विवादास्पद अभिव्यक्ति र सहकर्मीसँगको व्यवहारका कारण यसपटक केही आलोचित छन् । 

मोरङ ५ मा प्रतिनिधिसभाबाट कांग्रेस नेता अमृत अर्याल प्रदेशमा गएपछि त्यहाँ माओवादी केन्द्रका शिवकुमार मण्डलले पुनः अवसर पाएका छन् । ०७४ मा उनले अर्याललाई पराजित गरेका थिए । यसपटक जसपाबाट उनीसँग राजकुमार यादव प्रतिस्पर्धी छन् । यादव अघिल्लोपटक तेस्रो बढी मत प्राप्त गर्ने उमेदवार हुन् ।

यादव भन्छन्, “हामी गठबन्धनमा सामेल भएपनि सम्मानजनक सिट नपाएकै कारण एमालेसँग तालमेल गरी उठेका हौँ ।” यादवले मोरङ ५ जसपाको उद्गम स्थलकै रूपमासमेत परिचित भएकाले आफूहरूको पक्षमा मतदाता रहेको दाबी गरे ।

मण्डल पनि सदाबहार रूपमा आफू यो क्षेत्रसँग जोडिएकाले जनमत र समर्थन प्राप्त गरेको बताउँछन ।

यस क्षेत्रबाट सिफारिसमा परेर पनि पार्टीले टिकट नदिएपछि एमालेका योगेन्द्र मण्डलले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । ‘जीवन विकास समाज’मार्फत जनताको सेवामा सक्रिय रहेकोले आफ्नो अवस्था राम्रो रहेको उनको दाबी छ ।

मोरङ ६ मा विगतका जस्तै 'हेभिवेट' उमेदवारबीच प्रतिस्पर्धा हुनेछ । कांग्रेसबाट डा. शेखर कोइराला र एमालेका लालबाबु पण्डित चुनावी मैदानमा छन् ।

पण्डित आफ्ना अधुरा काम पूरा गर्न फेरि उमेदवार बनेर आएको बताउँछन् ।

कोइराला संविधानलाई सही ट्रयाकमा ल्याउने जिम्मेवारीकासाथ आफू उमेदवार बनेको बताउँछन् । उनी भन्छन्, “कांग्रेसकै नेतृत्वमा फेरि प्रतिनिधि सभामा विजयी भई राष्ट्रको अभिभारा पनि हामीले नै पूरा गर्नुछ ।”

कोइराला अघिल्लोपटक पण्डितसँग झिनो मतले पराजित बनेका थिए । यसपटक गठबन्धनका कारण आफू जित्ने उनी विश्वस्त देखिन्छन् । 

प्रदेशतर्फ ननटेस्टेड र नयाँ उमेदवार
मोरङमा यो पटक ननटेस्टेड र नयाँ उमेदवारले अवसर प्राप्त गरेका छन् । मोरङ १ का प्रदेशका क्षेत्रअन्तर्गत १ (१) माओवादीका कुशल लिम्बू र १(२) मा नेकपा एकीकृत समाजवादीका उपेन्द्र घिमिरे दोहोरिएका छन् ।

यसैगरी ३(१) मा कांग्रेसका शेखरचन्द्र थापा, ४(२) मा एमालेका जीवन घिमिरे र ६(२) मा केदार कार्की दोहोरिएका छन् । बाँकी क्षेत्रका उमेदवार नयाँ अनुहार छन् । थापा प्रदेशको वन मन्त्री हुन् । 

मोरङ ३(१) मा दिलिपकुमार राई पनि नयाँ उमेदवार हुन् । मोरङ ३(२) मा गठबन्धनबाट लक्ष्मीकुमार श्रेष्ठ र एमालेका ज्ञानेन्द्र सुवेदी प्रदेशसभामा नयाँ उमेदवार हुन् । 

क्षेत्र नम्बर ४ (१) मा नेविसंघका पूर्वकेन्द्रीय अध्यक्ष गुरुराज घिमिरे, ४(२) मा विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुली, जसपाका सञ्जय सिंह नयाँ अनुहार हुन् । पराजुली भन्छन्, “स्थानीय सरकार सञ्चालन गरेको अनुभवलाई आत्मसात गर्दै अब प्रदेशको विकासका लागि यता आएको हुँ ।”

यस क्षेत्रमा एकीकृत समाजवादीका महेश रेग्मी पनि उमेदवार छन् । 

मोरङ ५(१) मा कांग्रेसका गयानन्द मण्डल, एमालेका सन्तोषकुमार साह नयाँ उमेदवार हुन् । ५(२) मा कांग्रेसका अमृत अर्याल, जसपाका जयराम यादव उमेदवार छन् ।

निर्वाचन क्षेत्र नम्बर ६(१) मा प्रचण्डका ज्वाईं जीवन आचार्य उमेदवार छन् । उनी अघिल्लोपटक कांग्रेसका उमेदवारसँग पराजित भएका थिए । त्यहाँ एमालेले रिता न्यौपानेलाई उमेदवार बनाएको छ । उनी एमालेबाट प्रदेशमा प्रत्यक्ष उमेदवार बन्ने एकमात्र महिला उमेदवार हुन् । ६(२) मा एकीकृत समाजवादीका ओसिम आलमले पनि उमेदवारी दिएका छन् । एमालेका पर्शुराम बस्नेत चुनावी प्रतिस्पर्धामा छन् । 
 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  २२:४६
प्रतिक्रिया दिनुहोस्