site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गठबन्धनको घनचक्करमा मोरङका नेता, कोही चुनावी अभियानमा, केही टिकट पर्खंदै
कार्यकर्ता र मतदातामाझ नेकपा (माओवादी केन्द्र)का नेता अमनलाल मोदी ।

विराटनगर । टिकट तय नभए पनि नेपाली कांग्रेसका नेता महेश आचार्यले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् । पार्टीको आन्तरिक कार्यक्रमदेखि कार्यकर्ता भेटघाटमा उनी व्यस्त छन् ।

आफ्नो निर्वाचन क्षेत्र मोरङ–४ मा आचार्यले प्रतिनिधिसभा प्रत्यक्षतर्फको उमेदवार बन्ने योजना र तयारीसाथ राजनीतिक गतिविधि बढाएका छन् । उक्त क्षेत्रभित्र समेटिने विराटनगर महानगरपालिकाका वडा र गाउँपालिकाहरूमा आयोजित भेटघाटमा उनले आफू नै उमेदवार बन्ने बताउँदै आएका छन् ।

कांग्रेसले आफ्नो राम्रो पकड भएको क्षेत्र छाड्न नसक्ने उनको भनाइ छ । “हाम्रो राम्रो उपस्थिति हुँदाहुँदै यो क्षेत्र अरूलाई दिन सकिँदैन,” आचार्यले भने । कांग्रेसले अरू दलसँग चुनावी तालमेल गर्ने भएकाले यो क्षेत्र कसको भागमा पर्ने हो, त्यो तय हुन भने बाँकी नै छ ।

Argakhachi Cement Island Ad

Mahesh Acharya1664349447.jpg

यही क्षेत्रमा दुई दिनअघि केन्द्रीय सदस्य भीम पराजुलीसँगको छलफलमा कांग्रेस कार्यकर्ताले मोरङ–४ छाड्न नसकिने सन्देश केन्द्रीय समितिलाई दिन आग्रह गरेका थिए । पराजुलीले भने, “क्षेत्र छाड्नु हुँदैन भन्ने तलदेखिको माग छ ।”

प्रतिनिधिसभातर्फ कांग्रेसमा यो क्षेत्रबाट नेता महेश आचार्य, भीम पराजुली, गुरुराज घिमिरे र अमृत आर्यालको नाम सिफारिस गरी पठाइएको छ ।

०७४ सालमा यहाँ गठबन्धनबाट निर्वाचन जितेका नेकपा (माओवादी केन्द्र)का निवर्तमान सांसद अमनलाल मोदी आफूले नै टिकट पाउने भन्दै चुनावी अभियानमा होमिएका छन् । मोदी भन्छन्, “अघिल्लोपटक मैले जितेको आधारमा स्वाभाविक रूपमा गठबन्धनका तर्फबाट म नै उमेदवार बन्ने हो । पार्टीका आन्तरिक भेला, कार्यकर्ता भेटघाटदेखि सभाहरू गरेर गाउँ पसेको छु ।” मोदीले सत्ता गठबन्धनको निर्णय नै लागु हुने पनि बताए ।

गठबन्धनबाट माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दाबी गरेको मोरङ निर्वाचन क्षेत्र नम्बर–५ मा पनि चुनावी चहलपहल देख्न सकिन्छ । खासगरी यो क्षेत्रमा जसपाले चुनावी गतिविधि तीव्र बनाएको छ । ०७४ मा यहाँबाट माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी भएका थिए ।

जसपाका मोरङ अध्यक्ष राजकुमार यादव भन्छन्, “हामी गठबन्धनमा छौँ । हाम्रो पकड र आधार इलाका समेत भएकोले हामीले छाड्ने भन्ने हुँदैन । हामीलाई टिकट नदिइए एकल उमेदवारी दिएर अघि बढ्छौँ ।” उनले ०७४ मा तेस्रो अधिक मत ल्याएका थिए ।

dsfkmg1664349511.jpg

यहाँबाट जसपाका अध्यक्ष उपेन्द्र यादव र राजकुमारको नाम प्रतिनिधिसभा सदस्य उमेदवारका रूपमा पार्टीको उपल्लो तहमा सिफारिस गरिएको छ ।

मोरङ–५ मा गठबन्धनका दुई दलको दरिलो दाबीका कारण कांग्रेस केही पछि हटेको देखिन्छ । कांग्रेसमा यो क्षेत्रबाट नेता अमृत अर्यालको नाम सिफारिस गरिएको छ । अर्याल भन्छन्, “माथिबाटै गठबन्धन भएर आएकोले निर्णय भई आएको विषयलाई मानेर जानुपर्ने अवस्था छ ।”

मोरङ–३ मा डा. सुनील शर्माले टिकटको टुंगो लाग्नुअगावै चुनावी गतिविधि बढाएका छन् । शर्माको नोबेल मेडिकल कलेजले मतदाता रिझाउन निरन्तर स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । पार्टीका छलफल र कार्यक्रमहरूमा शर्मा सहभागी भइरहेका छन् ।

यो क्षेत्रबाट नेकपा (एमाले)ले अघिल्लोपटक निर्वाचित भानुभक्त ढकाललाई नै उमेदवार बनाउने तयारी गरेको छ ।

यस्तै, टिकट तय भएसँगै मोरङ–३ मा अभिनेत्री तथा राप्रपाकी नेत्री रेखा थापाले आफ्नो चुनावी गतिविधिलाई गति दिएकी छन् । रेखा भन्छिन्, “चुनावी अभियानमा मतदाताहरूमाझ गएर आफ्नो कुरा राखिरहेकी छु । धेरैको बुझाइ अब नयाँलाई समर्थन गर्नुपर्छ भन्ने देखेकी छु ।”

मोरङ निर्वाचन क्षेत्र नम्बर–२ मा गठबन्धनका तर्फबाट कांग्रेसका मीनेन्द्र रिजाल र नेत्री सुजाता कोइरालाले दाबी गरिरहेका छन् । ०७४ मा रिजाल निर्वाचित भएका थिए । योपटक सुजाताले पनि दाबी गरेकी हुन् ।

रिजाल भन्छन्, “आकांक्षी हामी दुईजना छलफल गरेर के गर्ने भन्ने तय गर्ने योजना बनाएका छौँ ।” यो क्षेत्रमा कांग्रेसले नै टिकट पाउने देखिएको छ । एमालेले पहिलेकै उमेदवार ऋषिकेश पोखरेललाई अघि सारेको छ ।

मोरङ–१ मा कांग्रेसका जिल्ला सभापति डिकबहादुर लिम्बू आकांक्षी छन् ।

मोरङ–६ मा कांग्रेसभित्र नेता डा. शेखर कोइराला सबैभन्दा दह्रो प्रतिस्पर्धीका रूपमा देखिएका छन् । पार्टीका प्रशिक्षण र कार्यकर्ता भेटघाटमा कोइराला व्यस्त छन् । अरू नेताका नाम समेत सिफारिस भए पनि कोइराला नै उमेदवार बन्ने कांग्रेसवृत्तमा चर्चा छ ।

यहाँ एमालेले पहिलेकै उमेदवार एवं निवर्तमान सांसद लालबाबु पण्डितलाई नै अघि सारेको छ । पण्डित पनि चुनावी अभियानमा होमिएका छन् ।

कांग्रेस मोरङका सचिव मोदराज घिमिरे भन्छन्, “प्रतिनिधिसभा र प्रदेशसभातर्फ सबै नामहरू केन्द्रमा सिफारिस भई गएको छ । अब माथिबाटै तय भएर आउने हो । तर, कांग्रेस राम्रो अवस्थामा रहेको क्षेत्रलाई नछाड्न पार्टीभित्र ठूलो दबाब छ ।”

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १२:५७
प्रतिक्रिया दिनुहोस्