site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मोरङ-२ : मीनेन्द्रलाई सुजाताको टक्कर

विराटनगर । गत संसदीय निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट वाम गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल विजयी भएका थिए । यसपटक भने उनलाई पार्टीभित्रै अर्की नेतृ सुजाता कोइरालाले टिकटमै कडा टक्कर दिएकी छन् । 

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका कारण कांग्रेस संकटमा परेको बेला मोरङका ६ क्षेत्रमध्ये क्षेत्र नम्बर २ मा मात्रै कांग्रेस विजयी भएको थियो, जहाँ रिजालले वाम गठबन्धनका ऋषिकेश पोखरेललाई पराजित गरेका थिए । 

कांंग्रेसको क्षेत्रीय समितिले प्रतिनिधिसभा निर्वाचनको लागि रिजाल र कोइरालाको नाम सिफारिस गरेको छ । चुनावी दौडमा कसले टिकट पाउने भन्ने तय हुन बाँकी छ ।  

Argakhachi Cement Island Ad

कांंग्रेसको मोरङ क्षेत्र नम्बर २ समितिले प्रतिनिधिसभा र प्रदेशतर्फका उमेदवारको नाम सिफारिस गरिसकेको छ । वर्तमान प्रतिनिधिसभाका सांसद डा. मीनेन्द्र रिजालले आफूले चुनावी अभियान शुरु गरिसकेको बताउँदै त्यही क्षेत्रमा कोइरालाको समेत नाम सिफारिस हुनु अनौठो नभएको सुनाए । 

“को कसरी उठ्ने भन्ने विषयमा म सुजाताजीसँग पनि छलफल गर्छु । हामी पनि छलफल गरेर टुंग्याउने तयारीमा छौँ,” रिजालले भने, “टिकट पार्टीले नै तय गर्ने भएकोले त्यसका लागि पनि म तयार छु ।” 

मोरङ क्षेत्र नम्बर २ का सभापति नागेश्वर सिंहले प्रतिनिधिसभा र प्रदेशसभाका आकांक्षीहरुको नाम सिफारिस गरेर पार्टीको माथिल्लो तहमा पठाएको जानकारी दिए । 

मोरङमा कांग्रेसको जनलहर राम्रो मान्ने गरिएको भए पनि २०७४ निर्वाचनमा जम्मा एउटा निर्वाचन क्षेत्रमा रिजाल विजयी भएर कांग्रेसको साख बचाइदिएका थिए । यसपटक पुनः टिकटको दाबेदार रहेका रिजालको क्षेत्रमा नेतृ सुजता कोइरालाले उठ्ने तयारी थालेपछि त्यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

कांग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाले चुनाव लडेको क्षेत्र भएकोले समेत नेतृ कोइरालाले आफू नै उठ्ने बताउँदै आएकी छन् । केहीअघि निर्वाचन क्षेत्रको दौडाहामा निस्किएकी कोइरालाले कार्यकर्ता र मतदातासँगको भेटमा आफू उमेदवार बनेर आउने बताएकी थिइन् । 

कोइराला यसअघि समानुपातिक सूचीबाट प्रतिनिधिसभाको सदस्य भइसकेकोले योपटक प्रत्यक्ष निर्वाचित हुनैपर्ने बाध्यता छ । एमालेले मोरङ २ मा कसलाई उठाउने भन्ने टुंगो लगाइसकेको छैन । 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्