site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मोरङ ५ मा माओवादी र जसपाको दाबी, कसले पाउला टिकट ?

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको नाम मोरङको निर्वाचन क्षेत्र नम्बर ५ बाट सिफारिस भएको छ । केन्द्रीय अध्यक्ष यादव यही क्षेत्रबाट २०६४ सालमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । 

अहिले गठबन्धनको तयारी भइरहँदा यो क्षेत्रमा माओवादी केन्द्र र जसपा दुवैले दाबी प्रस्तुत गरिरहेका छन् । अघिल्लोपटक विजयी भएकाले आफूले पाउनुपर्ने माओवादीको जिकिर छ । यसैगरी आफ्नो जनाधार बलियो भएकाले छाड्न नसक्ने जसपाको अडान छ ।

कांग्रेसका दाबेदार मानिएका अघिल्लोपटकका उमेदवारको नाम पार्टीले मोरङ ४ बाट सिफारिस गरिदिएको छ । यसले पनि कांग्रेसल लगभग यो क्षेत्र छाडिदिएको अनुमान हुन थालेको छ ।

Argakhachi Cement Island Ad

जसपा क्षेत्रीय समितिको विस्तारित बैठकले केन्द्रीय अध्यक्ष यादवसँगै मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवको नाम पनि प्रतिनिधिसभा सदस्य उमेदवारमा रूपमा सिफारिस गरेको छ । उनी अघिल्लोपटकको निर्वाचनमा पराजित भएका थिए । अहिले माओवादी केन्द्र र जसपा दुवै गठबन्धनमा छन् । दुवैले एउटै क्षेत्रमा दाबी गरिरहँदा टिकट कसको पोल्टामा पुग्ने हो भन्नेमा मतदातामाझ द्विविधा देखिएको छ ।

जसपाका जनकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकबाट ३१ सदस्य क्षेत्रीय समिति पुनर्गठन गर्दै पार्टीले प्रतिनिधिसभा र प्रदेश सभाका उमेदवारको नाम सिफरिस गरेको हो । 

जसपाका जिल्ला अध्यक्ष राजकुमार यादव भन्छन्, “हाम्रो जनाधार राम्रो भएको क्षेत्र छाड्न सक्दैनौँ । हामीलाई यो क्षेत्र दिएमात्र गठबन्धन हुन्छ ।”

यादवले अन्य हिसाबले निर्णय भए मोरङमा गठबन्धन मानेर जान आफूहरू बाध्य नहुने सुनाए । गठबन्धन दलहरूबीच भोलि के निर्णय हुन्छ त्यो अहिले नै तय नभएपनि मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये एउटा जसपालाई दिनुपर्ने भन्नेमा आफूहरू स्पष्ट रहेको यादवले बताए । 

“जित्नका लागि गठबन्धन गर्ने हो, यो हाम्रो आधार क्षेत्र हो । जसपालाई नै दिनुपर्छ यो नदिई गठबन्धन गर्नुको अर्थ छैन,” यादव भन्छन्, “गठबन्धनको सिफारिस के कसरी हुन्छ हामी पनि हेर्दैछौँ । सही ढंगले नभए विपक्षी दललाई चुनावमा फाइदा पुग्नसक्ने हाम्रो अड्कल छ ।”

जसपाले क्षेत्र नम्बर ५ मा प्रदेशसभा (क) तर्फ पन्नालाल मण्डल, प्रकाश कुमार मण्डल, प्रमोद शर्मा, र विमला साहको नाम सिफारिस गरेको छ । त्यसैगरी प्रदेशसभा (ख) तर्फ प्रदेश १ का वर्तमान स्वास्थ्य मन्त्री जयराम यादव, दिनेश साह, मंतलाल यादव अमृत महतो र विनिता सिंहको नाम सिफारिस गरेको छ । 

प्रदेश १ का स्वास्थ्यमन्त्री यादव सोही क्षेत्रबाट उपनिर्वाचनमा संघीय सांसदमा निर्वाचित भएका थिए । मन्त्री यादव २०७४ को प्रदेशसभा निर्वाचनमा ५ (ख) बाट प्रदेशसभामा निर्वाचित भए । प्रदेश १ मा प्रतिनिधिसभामा सिफारिस भएका केन्द्रीय अध्यक्ष यादव सो क्षेत्रबाट २०६४ को संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । गठबन्धन सरकार बनेपछि जसपाको तर्फबाट यादव स्वास्थ्य मन्त्री बनेका छन् । 

जसपाले मोरङको निर्वाचन क्षेत्र नम्बर १, ३, ५ र ६ बाट उमेदवार बन्ने आकांक्षीहरूको नाम सिफारिस भई आएको जनाएको छ । निर्वाचन क्षेत्र नम्बर २ र ४ को भोलिसम्म टुंगिने यादवले बताए । मोरङ क्षेत्र नम्बर ५ मा यसअघि २०७४ को चुनावमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी भएका थिए ।

कांग्रेसका अमृत अर्याललाई पराजित गरी मण्डल विजयी भएकाले पनि जितेका ठाउँ आफूले नै पाउनुपर्ने माओवादी केन्द्रका नेताको अडान । “तर जसपा, माओवादी अथवा कांग्रेस कसले यो क्षेत्र पाउने हो भन्ने केन्द्रबाट नै तय भएर आउने हो,” नेपाली कांग्रेसका मोरङ सचिव मोदराज घिमिरेले भने ।

अघिल्लो चुनावमा माओवादीका मण्डलले २२ हजार ९४५ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका अमृत अर्यालले १९ हजार १५३ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेका तत्कालीन संघीय समाजवादी फोरम नेपाल हाल जसपाका राजकुमार यादवले १८ हजार ६४९ मत पाएका थिए ।

फोटो क्याप्सन ः जसपाको मोरङ क्षेत्र नम्बर ५ को विस्तारित बैठकका सहभागी । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १८:१८
प्रतिक्रिया दिनुहोस्