
विराटनगर । पूर्वअर्थमन्त्री महेश आचार्य उठ्दै आएको मोरङको निर्वाचन क्षेत्र नम्बर ४ मा यसपटक अन्य चारजना युवा नेताले पनि दाबी गरेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको क्षेत्रीय समितिले आचार्य र अन्य चार युवा नेताहरू गरी पाँचजनाको नाम सिफारिस गरिदिएको छ ।
कतिपय युवाले चुनावी अभियानसमेत थालिसकेका छन् । आचार्यले पनि निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाटलाई तीव्रता दिइरहेका छन् ।
०७४ मा यस क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी भएका थिए । गठबन्धनका तर्फबाट यसपटक पनि माओवादीको दाबी कायमै छ ।
तर, कांग्रेस नेता आचार्यको दाबी रहेकाले अरूको दाबी के हुन्छ भन्ने माथिल्लो समितिमा भर पर्नेछ । कांग्रेसका युवा नेताहरूले भने प्रतिनिधिसभा सदस्य उमेदवारको टिकट आफूहरूले पाउनुपर्ने माग गरिरहेका छन् ।
क्षेत्रीय समितिले प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बन्न इच्छा गरेकामध्ये सबै पाँचजनाको नाम पार्टीको उपल्लो तहमा सिफारिस गरिदिएको हो । सिफारिसमा पर्नेहरूमा महेश आचार्य, गुरुराज घिमिरे, भीम पराजुली, अमृत अर्याल र दिलिप गच्छदार छन् । विगतदेखि नै आचार्यको 'किल्ला'का रूपमा व्याख्या हुँदै आएको यस क्षेत्रमा युवाहरूको दाबीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
मोरङ ४ आफूले पाउनुपर्ने बताउँदै कांग्रेस नेता घिमिरे भन्छन्, “महेश दाइ धेरैपटक यो क्षेत्रको उमेदवार बन्नुभयो जित्नुभयो हार्नुभयो । अब उहाँ समानुपातिकमा गएर प्रत्यक्ष लड्न हामीलाई ठाउँ छाडिदिनुपर्छ । अब यो क्षेत्रको जिम्मेवारी सुम्पिनपर्छ ।”
मोरङ ४ मा आफू उठ्ने तयारीमा रहेको र कार्यकर्ता भेटघाटसमेत सुरु गरिसकेको घिमिरेले बताए । अघिल्लो चुनावमा पनि उनले यही क्षेत्रमा दाबी प्रस्तुत गरेका थिए । तर टिकट पाएनन् ।
विराटनगर महानगरपालिकाका निवर्तमान मेयर पराजुलीले पनि यही क्षेत्र ताेकाका छन् । महानगरका वडाहरूसमेत समेटिएको यो क्षेत्रमा कांग्रेसको युवापंक्तिबाट उमेदवार भए जित्न सकिने पराजुलीको दाबी छ । “नेता महेश आचार्य धेरैपटक यो क्षेत्रमा उठ्नुभयो । अघिल्लोपटक धेरै मतान्तरले पराजित हुनुभयो,” उनले भने, “यहाँ कांग्रेसको पुरानो साख बचाउने हो भने अब उमेदवार परिवर्तन गर्नुपर्छ । मतदाताले नयाँ अनुहार खोजेका छन् भन्ने हाम्रो बुझाइ हो ।”
आफूले एक कार्यकाल महानगरको नेतृत्व सफल रूपमा सम्हालेकाले अब संघीय निर्वाचन क्षेत्रमा विजयी भई क्षेत्रको विकासमा थप काम गर्नसक्ने उनले दाबी गरे ।
०७४ मा मोरङ क्षेत्र नम्बर ५ बाट उठेका अर्याल अहिले क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन् । ०७४ मा उनी माओवादी केन्द्रका उमेदवारसँग पराजित भएका थिए ।
मोरङ कांग्रेसका पूर्वउपसभापति गच्छदारले पनि यही क्षेत्रबाट उठ्ने चाहना गरेका छन् । तत्कालीन निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्यमा विजयी भएका थिए । विगतको अनुभव र क्षेत्रसँगको आफ्नो राम्रो पकडलाई आधार बनाउँदै आफू संघीय निर्वाचनमा यही क्षेत्रबाट उठ्ने तयारीमा रहेको गच्छदार सुनाउँछन् ।
“यो क्षेत्रको सम्पूर्ण परिवेश मैले बुझेको छु त्यसैले म विजयी हुनेमा ढुक्क छु,” उनले भने ।
कांग्रेस नेता आचार्य लामो समयदेखि मोरङ निर्वाचन क्षेत्र नम्बर ४ सँग जोडिएका छन् । उनी २०५६, २०६४ र २०७० सालको निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए । ०७४ मा भने वाम गठबन्धनका उमेदवार अमनलाल मोदीसँग सात हजार मतान्तरले पराजित बनेका थिए ।
यहीबीच नेता आचार्यले आफू यसपटक संघीय चुनावमा उमेदवार बन्ने तयारीकासाथ चुनावी कार्यक्रम लिएर कार्यकर्तामाझ गइसकेका छन् । विभिन्न पालिकाका भित्री वडाहरूमा आचार्यले आफ्नो कार्यक्रमलाई गति दिएका छन् । केही दिनअघि ग्रामथान गाउँपालिकामा भएको कार्यक्रममा आफू उमेदवार बनेर निर्वाचनमा आउने बताउँदै उनले कांग्रेसको पक्षमा मतदान गर्न आह्वान गरे ।
लखन्तरीमा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा आचार्यले यो क्षेत्रमा कांग्रेसको विकल्प नभएको बताए । उनले भने, “लोकतन्त्रको संस्थागत विकास र जनचाहनाअनुरूपको विकासको लागि कांग्रेस नै विजयी हुनुपर्छ ।”
घर घरमा कांग्रेस अभियान तीव्र
यसैबीच नेपाली कांग्रेसको केन्द्रीय घोषित कार्यक्रमअनुरूप मोरङ क्षेत्र नम्बर ४ मा कांग्रेसले घरघरमा कांग्रेस अभियान सञ्चालन गरिरहेको छ । बिहीबार कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यमा ग्रामथान गाउँपालिकाको तेतरिया र झोराहाटमा कार्यक्रम सम्पन्न भएको छ ।
क्षेत्रीय समितिको आयोजनामा भएको कार्यक्रममा आसन्न संघीय र प्रदेशको निर्वाचनमा पार्टीका उमेदवारलाई विजयी बनाउन पार्टीका सबै तह सक्रिय हुनुपर्ने कार्यक्रमका सहभागीले बताए । नेता अर्यालले भने, “विगतमा महाधिवेशन र स्थानीय तह निर्वाचनका बेला भएका आन्तरिक तिक्ततालाई भुलेर अब आसन्न निर्वाचनमा होमिनुको विकल्प छैन ।”