site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मोरङ ६ मा कति सुरक्षित छन् शेखर कोइराला ? अन्तर्घातको छ डर !

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उमेदवारसँग जम्मा ६७५ मतले पराजित भए । 

पार्टीभित्रैबाट अन्तर्घात भएको निर्वाचनपछि पनि कुरा नउठेको होइन तर यसपल्टको निर्वाचनमा भने कोइराला अघिल्लोपल्टभन्दा सुरक्षित देखिएको कांग्रेसकै नेता कार्यकर्ता बताउँछन् ।

२०७४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लालबाबु पण्डितसँग पराजित बनेका कोइरालालाई गठबन्धनको बलमा यसपटक भने सहज देखिएको मोरङकै कांग्रेस नेताहरु बताउँछन् ।

Argakhachi Cement Island Ad

स्थानीय तहको निर्वाचन २०७९ मा गठबन्धनको आलोचना गर्दै आएका डा. शेखरले गृहनगरमा आयोजित कार्यक्रममा गठबन्धनका कारण स्थानीय तहहरुमा कांग्रेसले राम्रो नतिजा ल्याउन सफल भएको स्वीकार गरेका छन् । अघिल्लो पटक पार्टीभित्रैबाट भएको अन्तर्घातका कारण कोइराला पराजित बनका थिए ।

“गठबन्धनले स्थानीय तहमा राम्रो नतिजा आयो तर यसपटक पनि कांग्रेसले सम्मानजनक रुपमा सिट लिनुपर्छ भन्ने नै हाम्रो मत छ,” कोइरालाले भने,“यसअघि प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस विजयी भएका ठाउँमा हामीले छाड्ने भन्ने हुँदैन । कम्तिमा एक सय सिट कांग्रेसले लिएर चुनावमा जानुपर्छ ।”

कोइरालाले स्थानीय परिवेश हेरेर मात्र स्थानीय तहको तलसम्म गठबन्धन गर्दा के हुन्छ भनि विश्लेषण गर्न आफूहरुले पार्टीमा सुझाव दिएको सुनाए । 

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा विराटनगर महानगरपालिकाका ७, बुढीगंगा गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकाका ६–६ वटा वडा पर्दछन् । २०७४ को निर्वाचनमा एमालेका पण्डितले ३३ हजार ९४१ मत प्राप्त गरी विजयी हुँदा कोइरालाले ३३ हजार २६६ मत प्राप्त गरेका थिए । 

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामलाई हेर्दा यो निर्वाचन क्षेत्रका विभिन्न वडाहरुमा कांग्रेस एक्लैले २८ हजार ४२८ मत प्राप्त गरेको छ । गठबन्धनमा रहेको दल नेकपा माओवादी केन्द्रले ५ हजार ३५६, जसपाले ३ हजार ९३९ र एकीकृत समाजवादीले ३ हजार ३६९ मत प्राप्त गरेका थिए । 

गठबन्धनको मतलाई आधार मान्दा कांग्रेस योपटकको निर्वाचनमा मोरङ ६ मा सहज अवस्थामा देखिन्छ ।

त्यही क्षेत्रको प्रदेश क्षेत्रबाट प्रदेशसभामा निर्वाचित कांग्रेसका सांसद तथा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की भन्छन्,“पार्टीको केन्द्रीय समितिले नै गठबन्धनमा जाने निर्णय गरिसकेकोले त्यस विपरीत हामी जानसक्ने अवस्था छैन् । त्यही भएर गठबन्धनअनुरुप नै चुनावमा भाग लिँदा पनि मोरङ ६ मा कांग्रेसको अवस्था दह्रो छ ।” 

कार्कीले यो क्षेत्रमा निर्विकल्प डा. शेखर नै उमेदवार बन्ने र राष्ट्रिय नेतृत्व गरेर हिँडेको नेतालाई विजयी हुन सकस नपर्ने आफूहरुको बुझाई भएको सुनाए । मोरङ ६ का विभिन्न १२ वटा वडामा कांग्रेस विजयी भएको थियो । 

यो निर्वाचन क्षेत्रमा स्थानीय चुनावमा एमालेले २५ हजार २३६ र राप्रपाले ३ हजार ६७९ मत प्राप्त गरेका थिए । अन्यले ५ हजार ७४१ म्त प्राप्त गरेका थिए । एमालेले पुनः पण्डितलाई नै कोइरालासँग प्रतिस्पर्धा गराउने तयारी गरेको छ । 

यो निर्वाचन क्षेत्रमा गठबन्धनअनुसार नेकपा माओवादी केन्द्रले एउटा प्रदेश निर्वाचन क्षेत्रमा दाबेदारी प्रस्तुत गरिरहेको छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहालका ज्वाईं जीवन आचार्यलाई उमेदवार बनाउने तयारी गरेको छ । अघिल्लो पटक उनी कांग्रेसका उमेदवार चुमनारायण तवदारसँग पराजित बनेका थिए । 

वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतलाई विश्लेषण गर्ने हो भने यो क्षेत्रको प्रतिनिनिसभामा कांग्रेसलाई सहज देखिन्छ ।

वडा तहको मतलाई जोड्दा कांग्रेस यहाँ पहिलो पार्टी हो । कोइरालाको निर्वाचन क्षेत्रमा पर्ने विराटनगर महानगरपालिका ४, ५, ६, ७, ९, ११, १२ वडाबाट कांग्रेसले ११ हजार ४२६ मत पाएको छ ।

जबकि यहाँ एमालेसँग ८ हजार ५३४, माओवादी केन्द्रसँग २ हजार ५१०, जनता समाजवादी पार्टीसँग ३ हजार ४२० र नेकपा एकीकृत समाजवादी पार्टीसँग १ हजार ३ सय मत रहेको स्थानीय तहको तथ्यांकले देखाएको छ । 

यस्तै कोइरालाको निर्वाचन क्षेत्रमा पर्ने बुढीगंगा गाउँपालिकामा पनि गएको स्थानीय तह निर्वाचनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो । 

वडातर्फ कांग्रेसले ८ हजार १६२, एमालेले ६ हजार २४० मत ल्याएको छ । सुन्दरहरैँचा नगरपालिकामा भने एमालेले १० हजार ४६३ मत प्राप्त गर्दा कांग्रेसले ८ हजार ८४० मत ल्याएको छ । 

वडातर्फको मत हेर्दा मोरङ क्षेत्र नम्बर ६ बाट कांग्रेससँग २८ हजार ४२८ मत छ । एमालेसँग २५ हजार २३६ मत स्थानीय तहको निर्वाचनमा प्राप्त मत देखिन्छ ।

माओवादीले ५ हजार ३५६ मत ल्याउँदा जनता समाजवादी पार्टीले ३ हजार ९३९ तथा नेकपा(एकीकृत समाजवादी)ले २ हजार ३६९ मत ल्याएको छ । 

निर्वाचन आयोगको तथ्यांकलाई जोड्दा लोकतान्त्रिक समाजवादी पार्टीले ९०५ मत र राप्रपासहितको अन्य साना दलहरूले ४ हजार ९७६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवारहरूले ५ हजार २९५ मत ल्याएका छन् ।

स्थानीय तह निर्वाचनजस्तै सत्ता गठबन्धनमा आवद्ध दलहरू चुनावी गठबन्धन गर्ने निश्चित भइसकेको छ । 

कांग्रेस नेता कोइरालाले टिकट पाए र गठबन्धनको सहयोग भए उनले ४० हजार ९२ मत पाउन सक्ने स्थानीय तह निर्वाचनको मतले देखाउँछ । 

यदी एमालेले गठबन्धन बाहेकका साना दलहरू र स्वतन्त्र उमेदवारको मत एकीकृत गर्न सके ३६ हजार ४१२ मत आउने सम्भावना वैशाख ३० मा सम्पन्न भएको निर्वाचनले देखाउँछ । अर्थात् यहाँ गठबन्धन भए वा दलहरू एक्लाएक्लै चुनाव लडे पनि कांग्रेस बलियो शक्तिको रूपमा रहेको निर्वाचन आयोगको तथ्यांकले इंगित गरेको छ ।

तर यसअघिको निर्वाचनमा पनि कोइरालालाई अन्तर्घात बढी भएको कांग्रेसवृत्तमा चर्चा चलेको थियो । जुन सम्भावना अहिले पनि कायमै रहेको नेताहरु बताउँछन् । किनकि भर्खरमात्रै स्थानीय तहको निर्वाचनमा देखिएको अवस्थाले त्यस्तो संकेत गर्दछ । 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  ०९:५९
प्रतिक्रिया दिनुहोस्